लुटिएका नेपाली युवाको मूल प्रवाहले गर्‍यो उद्धार

खिमराज चालिसे,

चन्डिगढ । भारतको हिमाचल राज्यको मनालीदेखि नेपालसम्मको यात्राको दौरानमा चन्डिगढमा लुटको सिकार भई बेबारिसे भएका युवक

मेवाङ तामाङलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हरियाणाको करनालबाट उद्धार गरेको छ ।

उनलाई मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको पहलमा एवम् केन्द्रीय सदस्य विक्रमसिंह राना र पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार मानसिंह जिसीको सक्रियतामा करनाल (हरियाणा) बाट उद्धार गरिएको हो।

धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरी निवासी चोक लामा तामाङका १७ वर्षीय छोरा मेवाङ तामाङ गत २१ जुनदेखि हराएका थिए ।

२० जुन २०२३ का दिन हिमाचलको मनाली बसपार्कबाट हिँडेका मेवाङ चन्डिगढसम्म एक जना सुर्खेत घर बताउने नेपालीसँग उसैले दिएको खाना र खाजा खाँदै आएको उनी बताउँछन । त्यो नेपालीले चन्डिगढ बसपार्कनजिकै चारपाँच अन्य लुटेराहरू सहभागी भई पैसा, मोबाइल र झोला लुटेको बताउने मेवाङका अनुसार बाँच्नका लागि भाग्न खोज्दा लुटेराहरूले चक्कु प्रहार गरेको चोटसमेत देखाए । २१ जुनको उक्त घटनापछि मेवाङले टेम्पुबाट अम्बालामा पुगेको बताए ।

अम्बाला रेलवे क्यान्टबाट झापाका शुभम चौधरीले मेवाङलाई करनाल पुराएको थाहा पाएपछि जुन २८ देखि उनको उद्धारमा मूल प्रवाह जुटेको छ ।

मूल प्रवाहले मेवाङको उद्धारपछि मेवाङलाई आफन्तहरू प्रबिन तामाङ, सुनबहादुर तामाङ, बेरङ तामाङ, दमई तामाङलाई हस्तान्तरण गरिएको थियो । यसरी सकुशल उद्धार भएका मेवाङ तामाङलाई आफन्तको सहमतिमा जुन २९ का दिन नेपाल पठाइएको छ ।

स्मरण रहोस्, हिमाचलबाट नेपाल फर्कने क्रममा कैयन् नेपालीहरू नेपालीभाषी असामयिक तत्त्वबाट बारम्बार लुटिने गरेका समाचार प्रकाशमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार