पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो ।
आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार गरेको ‘रेसेपी’ हो । दुई पन्युँ भात, एक कचौरा दाल, आधा कचौरा तरकारी, थोरै अचार, एक गिलास दही, दुई चम्चा घिउ । त्यसमा मौसम अनुसार फल्ने कांक्राे, मुला, गाँजरका केही टुक्रा ।
यो खान्कीमा मन्द गुलियो, नुनिलो, पिरो, टर्रो, अमिलो सबै स्वाद समावेश छ । साथसाथै पोषणले पनि परिपूर्ण छ ।
शरीरले खानाबाट कार्बोहाइड्रेड, प्रोटिन, बोसो, फाइबर जस्ता पोषकतत्व प्राप्त गर्छ । चामलमा कार्बोहाइड्रेड, सिमी–दाल आदिमा प्रोटिन, घिउ–तेलमा बोसो, मौसमी सागपातमा फाइबर समावेश छन् । त्यसबाहेक सूक्ष्म पोषक तत्वहरु अचार इत्यादिमा छन् ।
खाना खाइसकेपछि त्यसलाई सुपाचन गर्ने अर्थात् सही तरिकाले पचाउने, पचेको कुरालाई शरीरमा अवशोषित गर्ने, मल निखारेर बाहिर मिल्काइदिने काम मोही, दही आदिले गर्छ ।
यस्तो भोजनको परिकल्पना, खोज, अभ्यास र आविष्कार गर्ने हाम्रा पुर्खाहरु वास्तवमै वैज्ञानिक थिए ।
किनभने उनीहरुले भोजनलाई आहार मात्र मानेनन् । एउटा प्राण आधारको माध्यम र जीवनयापनको महत्वपूर्ण औषधि माने । यस्तो खाना खानुपर्छ ताकि कुनै दबाई खान नपरोस् भन्थे । त्यही अनुसार उनीहरुले के खाने र कति खाने भन्ने कुरा तय गरे ।
दोस्रो चाहिं, राम्रो खाएर मात्र हुँदैन पचाउन पनि जान्नुपर्छ भन्ने चेत थियो उनीहरुसँग । अकर्म खाना खानुहुन्न, कर्म गरेर खानुपर्छ । सत्यको, श्रमको, पसिनाको खानुपर्छ भन्ने ठान्थे । आहार मनोविज्ञानको एउटा महत्वपूर्ण घटक हो यो ।
हाम्रो परम्परागत थालीले डेढ वित्ताको पेट मात्र भर्दैन, सम्पूर्ण शरीरका अवयवलाई बलियो, तन्दुरुस्त र ताजा पनि राख्छ ।
पुर्खाको शैली र भोजन विज्ञान
हाम्रा पुर्खाहरुको खाना खाने आफ्नै विशिष्ट शैली थियो ।
सकेसम्म आफैंले पकाएको खानुपर्छ भन्ने मान्यता थियो । खाना खानुअघि चिसो पानीले एकसरो शरीर पखाल्थे । पलेंटी कसेर बस्थे । टाउकोको टोपी खोल्थे । थालको वरिपरि पानीको घेरा हाल्थे । थाेरै खाना एकातिर चढाउँथे । अनि शान्त भावमा हरेक गाँसमा स्वाद लिएर खान्थे । अन्तिममा एक गाँस छाड्थे । आफूले खानुअघि आफूसँग आश्रित (कुकुर, बिरालो, पक्षी) आदिलाई खुवाउँथे ।
यो शैली आफैंमा कति वैज्ञानिक छ ?
चिसो पानीले नुहाउँदा शरीरमा रक्त प्रवाह तीव्र हुन्छ, यसले भोक जगाउन सहयोग गर्छ । पलेंटी कसेर बस्दा पेट खुम्चन्छ र खानेकुरा खाइसकेपछि पनि पेटमा केही अंश खाली रहन्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।
अहिले त डाइनिङ टेबलमा बसेर खाने प्रचलन छ । यसरी बस्दा हाम्रो शरीरको बल खुट्टातर्फ जान्छ र रक्त प्रवाह त्यसतर्फ बढी हुन्छ । जबकि खानाका लागि पेटमा रक्तप्रवाह, प्राण प्रवाह, चेतना प्रवाह हुनुपर्ने हो । किनभने पेटले सही हर्मोन, इन्जाइमहरु निकाल्नुपर्छ । खानालाई ग्रहण गर्न पिस्नुपर्छ, टुक्राउनुपर्छ, अवशोषण गर्नुपर्छ । पेटका मांसपेशीहरु बलियो हुनुपर्छ । यसका लागि बसेर खानु सर्वोत्तम हो ।
पेटको गतिविधिबारे जानकारी दिने स्नायु प्रणालीलाई टाउको खासगरी मस्तिष्कले नियन्त्रण गर्छ । भोक जाग्नु, खानाको स्वाद अनुभूत हुनु, अघाएको महसुस हुनु सबै मस्तिष्कले थाहा दिने हो । यसैले टाउकोलाई खुला वा सहज बनाएर भोजन गर्नुपर्छ भनेरै टोपी खोलिएको हो ।
यसैगरी खानाको अन्त्यमा थोरै अंश खाना चढाउनु भनेको त्याग र कृतज्ञ भाव राख्नु हो । जब हामी कृतज्ञ भाव राख्छौं, मस्तिष्कले यस्तो रसायनहरु उत्पादन गर्छ जो पाचन प्रणालीका लागि सहयोगी हुन्छ ।
जस्तो खान्छौं, त्यस्तै हुन्छौं
संस्कृतमा एउटा भनाइ छ,आहार शुद्धौ सत्वाशुद्धि: सत्व-शुद्धौ। ध्रुवा स्मृति:, स्मृतिलम्भे सर्वग्रंथीनां विप्रमोक्षा:।।
हामी जस्तो खाना खान्छौं, शरीरको संरचना पनि त्यस्तै हुँदै जान्छ । एक प्रकारको खानाबाट शरीरका अंग–अवयवहरुले तालिम प्राप्त गर्छ । शरीरले जस्तो प्रशिक्षण प्राप्त गर्छ, मनको दशा पनि त्यस्तै हुन्छ । अनि मन जस्तो भयो, स्मृतिहरु पनि त्यस्तै हुन्छ ।
स्मृति अर्थात् बोध, संज्ञा, जानकारी, समझ, विचार सबै खानाबाटै आउने हो ।
शरीर निर्माणको मूल तत्व नै भोजन हो । शरीर कस्तो बनाउने भन्ने कुरा त्यही कुरामा निर्भर गर्छ, हामीले कस्तो भोजन गर्यौं ?
प्रसाद बनाऔं खानालाई
प्रसादे सर्वदुःखानां हानिरस्योपजायते। प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।
प्रसाद खाएपछि सबै दुःख हटेर जान्छ । त्यसैले हाम्रो हरेक भोजनलाई प्रसाद बनाउनुपर्छ । आफ्नो इमान र पसिनाले आर्जन गरेको, सही ढंगले भण्डारण गरेको, मौसम एवं ऋतु अनुसारको, ताजा र सुपाच्य खाना नै प्रसाद हो ।
प्रसादले मन प्रसन्न हुन्छ । त्यस्तो खाना खाँदा जिब्रोले स्वाद पाउँछ, पाचनले सहज मान्छ । मन प्रसन्न हुन्छ । शरीर बलियो र दीर्घायु हुन्छ ।
वास्तवमा भोजन एवं अन्न भनेको ब्रह्म हो । जीवन दिने, प्राण दिने, अस्तित्व दिने, पहिचान दिने त्यही अन्न हो । हामी जन्मदा कत्रो थियौं ? त्यही दुई अढाई किलोको । आज हामीलाई यति ठूलो बनाउने त्यही भोजन हो । त्यसैले आफ्नो भोजनप्रति सम्मानभाव राख्नु जरुरी छ ।
ऋतुअनुसार भोजन
हाम्रो पुर्खाहरु कति दूरदर्शी थिए भने मौसम एवं ऋतु अनुसार शरीरलाई अलग-अलग भोजन चाहिन्छ भनेर सोही परिपूर्तिको लागि चाडपर्वमा खानपानलाई जोडे ।
यतिबेला चिसो याम छ । यो याममा बदाम, गुड, सख्खर, विभिन्न ताजा-रसिला फलफूल (सुन्तला, ज्यामिर, जुनार) खाने प्रचलन बनाए । भर्खरै हामीले यमोरी खायौं, चाकु खायौं, अब कन्दमूल खाँदैछौं । बदाम–सुन्तला खाँदैछौं ।
चिसो याममा शरीर फुस्रो हुन्छ, भोक बढी लाग्छ । शरीरलाई खानपानबाटै न्यानो बनाउनुपर्ने हुन्छ । यसका लागि कलेजोलगायत अंगहरुले बढी काम गर्नुपर्ने हुन्छ । त्यसलाई स्वस्थ राख्नका लागि रगतमा हुने घटकहरुको सन्तुलन मिलाउन यी खानेकुरा खाने प्रचलन चलाए ।
चाहे तिहारमा ड्राइफ्रुटस् खानेकुरा होस् वा असार पन्ध्रमा दही चिउरा, यी सबै ऋतुअनुसार शरीरलाई कुन खानेकुरा जरुरी हुन्छ भनेर तय गरिएको खाद्य तालिका हुन् । यी खाद्य तालिकाले पुर्खाहरुको पोषण विज्ञानसँग कति फराकिलो अध्ययन थियो भन्ने देखाउँछ ।
कति खाने ?
अहिले मान्छेहरु क्यालोरी नापेर खानेकुरा खान थालेका छन् । कतिपयले ‘डाइट चार्ट’ नै बनाएका छन् ।
जबकि हाम्रा पुर्खाहरु खानपानको यस शर्तबारे अनुभवी थिए । उनीहरुले त्यही खानेकुरा खाए, जो पोषकयुक्त छन् । र, त्यति नै खाए जति शरीरलाई जरुरी हुन्छ । किनभने उनीहरुमा आयुर्वेद र जीवन विज्ञानको गहिरो ज्ञान थियो ।
दूधजन्य परिकारसँग किन मासुजन्य परिकारको संयोजन मिल्दैन ? किन यी आपसमा विरुद्ध आहार हुन् ? किन राति अबेर खाना खान हुन्न ? सूर्यास्तपछिको खाना किन शरीरमैत्री हुन्न ? खाना खानासाथ किन सुत्नु हुन्न ? किन सकेसम्म आफूले खाने खाना आफैंले पकाउनुपर्छ ? खाना खाइरहँदा किन शान्त रहनुपर्छ ?
यी कुराहरु कुनै मनगढन्ते धारणा थिएनन्, आहार र शरीर विज्ञानसँग जोडिएका महत्वपूर्ण कुरा थिए ।
यस्ता कुरा थाहा पाउन अहिले जस्तो प्रयोगशाला पक्कै थिएन । उनीहरुले आफ्नो पेटलाई, आफ्नो चुल्होलाई, आफ्नो बारीलाई, आफ्नो गोठलाई प्रयोगशाला बनाए । यसरी निरन्तरको खोज, अध्ययन र अनुभवसँगै खानपानको सामग्री, शैली आदिबारे थाहा पाए ।
भोजनको तीन नियम
हाम्रो भोजन विज्ञानले खाने तीन नियम तय गरेको छ, ऋताहार, हिताहार, मिताहार ।
ऋताहार भनेको ऋतु वा याम अनुसारको खाना खाने । हिताहार भनेको आफूलाई हित गर्ने भलो गर्ने खाना मात्र खाने । किनभने एउटै खानाले कसैलाई हित गर्छ, कसैलाई गर्दैन । आफूलाई कस्तो खानाले हित गर्छ भन्ने थाहा पाउनुपर्छ ।
तेस्रो मिताहार । यसको अर्थ मात्रा मिलाएर खानुपर्छ भन्ने हो ।
हामीलाई यस्तो भोक लागोस् कि त्यसले हामीलाई हित गरोस् ।
भोजनको ९ शर्त
खाना कति खाने, के खाने भन्ने कुरा व्यक्तिले गर्ने श्रम, उमेर, स्वास्थ्य अवस्था, भूगोल, ऋतु, परिवेशले निर्धारण गर्छ ।
१. संभव भएसम्म आफ्नै भूगोलमा उत्पादन हुने खानेकुरा खानुपर्छ ।
२. ऋतु अनुसारको खानेकुरा उपयुक्त हुन्छ ।
३. आफूलाई पच्ने खानेकुरा मात्र रोज्नुपर्छ । अपच हुने, एलर्जी हुने खानेकुरा खान हुन्न ।
४. भोक लागेपछि मात्र खानुपर्छ । यसका लागि समुचित शारीरिक श्रम गर्नुपर्छ । श्रम गरेपछि भोक जाग्छ ।
५. बेलाबखत उपवास बस्नुपर्छ । यसले पाचन प्रणालीलाई विश्राम दिन्छ । शरीरको विकार बाहिर निष्कासन हुन्छ ।
६. अत्यधिक वा धेरै खानु उचित हुँदैन । उखानै छ नि, थोरै खाए बल धेरै खाए मल ।
७. ताजा खानुपर्छ । पकाएर लामो समय राखेको, बासी खानेकुरा खानुहुन्न ।
८. खाना खाइरहँदा खुब चपाएर, समय लगाएर, स्वाद लिएर खानुपर्छ । आनन्दित भावले खानुपर्छ ।
९. अन्नप्रति कृतज्ञ रहनुपर्छ । हाम्रो थालीमा आइपुग्ने खानामा कति धेरै समय र कति धेरै मिहिनेत लागेको हुन्छ, उनीहरु सबैप्रति कृतज्ञ रहनुपर्छ । अन्न दिने धर्ती, हावापानी, किसान सबैसँग कृतज्ञ रहेर खानुपर्छ ।
डाइनिङ होइन संजीवनी बनाऔं भान्सालाई
अहिले हामी पश्चिमा संस्कृतिलाई अनुसरण गरिरहेका छौं, आधुनिकताको बहानामा । त्यही अनुसार हामीले भान्सा बनायौं, टेबल बनायौं, खानेकुरा बनाउन थाल्यौं । अंग्रेजीमा भान्सालाई ‘डाइनिङ’ भनिन्छ । यो भनेको मर्दै जाने भन्ने हो ।
हामी भान्सालाई ‘डाइनिङ’ होइन, संजीवनी कक्ष बनाऔं ।