भारतमा नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) को विरोध

काठमाडौँ । भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युटमा बिटेकमा अध्ययनरत नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) ले विरोध गरेको छ । अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८१ फागुन ५ गते सोमबार वक्तव्य जारी गर्दै अखिल (छैठौं) ले विरोध व्यक्त गरेको हो ।

भारतीय विद्यार्थीको ज्यादतीबाट इन्स्टिच्युटमा अध्ययरत प्रकृति लम्सालले आत्महत्या गरेको, दुव्र्यवहार विरुद्ध आन्दोलन गर्दा इन्स्टिच्युट प्रशासनले नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको र कैयौँ विद्यार्थीलाई कलेजबाट निकालिएकोमा अखिल (छैठौं) ले आपत्ति प्रकट गरेको छ ।

भारतमा नेपाली विद्यार्थीमाथि भइरहेको यस खालको ज्यादती विरुद्ध नेपाल सरकार र भारतस्थित नेपाली राजदूतावासले कुनै कदम नउठाएकोमा वक्तव्यमा विरोध व्यक्त गरिएको छ ।

नेपाल सरकार र भारतस्थित नेपाली राजदूतावासले उच्चस्तरीय पहल गरी नेपाली विद्यार्थीको पढ्न पाउने हक सुरक्षित गर्दै शान्तिसुरक्षा कायम गर्न अखिल (छैठौं) ले माग पनि गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“भारतीय राज्य ओडिसाको राजधानी भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) बिटेकमा नेपाली विद्यार्थीमाथि भएका घटनामा हाम्रो सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ ।

उक्त विश्वविद्यालयमा अध्ययनरत भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुव्र्यवहार सहन नसकेपछि केआइआइटी बिटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी थिइन् ।

उनलाई लगातार दुव्र्यवहार गर्ने र आत्महत्या गर्न विवश बनाउने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गर्दै उक्त विश्वविद्यालयका नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको छ । कैयौँ विद्यार्थीलाई गुण्डागर्दी शैली अपनाउँदै कलेजबाट जबरजस्ती निकालिएको छ र रेलवे स्टेसन लगेर छाडिएको छ ।

घटनाको सत्यतथ्य छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिने र विद्यार्थीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने विश्वविद्यालय प्रशासनले उल्टै नेपाली विद्यार्थीमाथि गम्भीर दुव्र्यवहार गरेको छ । विद्यार्थीको न्यायोचित मागलाई कुल्चेर समग्र नेपाली समुदायको आत्मसम्मानमा आघात पु¥याउने गरी प्रशासन प्रस्तुत भएको छ ।

यसले एकातिर, विदेशस्थित नेपाली विद्यार्थीको दयनीय अवस्थालाई उजागर गरेको छ भने अर्कोतिर, विद्यार्थीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । विद्यार्थीहरू सडक र रेलवे स्टेसनमा अलपत्र पर्दा भारतस्थित नेपाली दूतावासले र नेपाल सरकारले घटनाको सम्बन्धमा उपयुक्त कदम चाल्न सकेका छैनन् ।

हामीले उक्त विश्वविद्यालय प्रशासनको चरम लापरबाही, गैरजिम्मेवार र दुव्र्यवहारको भ्रत्सना गर्दछौँ । दोषीलाई कानुनी कारबाहीको माग गर्दछौँ । मृतकको परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गर्दछौँ । साथै नेपाली विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न र आवश्यक शान्तिसुरक्षाको प्रबन्ध गर्नसमेत अपिल गर्दछौँ । त्यसका साथै नेपाल सरकार र दूतावासलाई उच्चस्तरीय पहल गरी नेपाली विद्यार्थीको समस्या समाधानमा आवश्यक कदम अघि बढाउन अनुरोध गर्दछौँ अन्यथा त्यसको विरुद्धमा हाम्रो सङ्गठन आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौँ ।

अन्तमा, मृतक विद्यार्थी प्रकृति लम्सालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार