चन्डिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित भेला सम्पन्न भएको छ ।
चन्डिगढ र डेराबसी नगर समितिको संयुक्त आयोजनामा मे १९, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
“प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नाराका साथ दुई चरणमा भारतव्यापी सम्पन्न हुने नगर सम्मेलन अभियानअन्तर्गत उक्त कार्यक्रम भएको आयोजक सङ्गठनले जनाएको छ ।
विस्तारित बैठकको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले करतल ध्वनिमाझ ब्यानर खोलेर गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले नगर सम्मेलन अभियान नयाँ कार्यकर्ता भित्राउने अभियान भएको दाबी गर्नुभयो ।
उहाँले थप्नुभयो– ‘एकता समाजले सम्पूर्ण अन्याय र पीडाको समाधान सामूहिक सङ्घर्ष हो भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।’
इन्डस्ट्रियल एरियाबाट थानेश्वर पाण्डे, सिटीबाट प्रेम गुरुङ, मध्यसिटीबाट लक्ष्मण पाण्डे, मोहालीबाट लीला विक, पञ्चकुलाबाट सुरेश आचार्य र डेराबसीबाट काजीमान राईको रिपोर्टिङपछि आयोजक समितिका प्रस्तावहरू केन्द्रीय सदस्य खिमराज चालिसेले प्रस्तुत गर्नुभएको थियो ।
छलफलपश्चात् हाउसले मानबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समिति, तेजबहादुर रोकाको संयोजकत्वमा एक सय २५ सदस्यीय सम्मेलन प्रचार प्रसार समिति, किसन खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति, बिनु नेपालीको संयोजकत्वमा सात सदस्यीय कलाकार व्यवस्थापन समिति, प्रेम गुरुङको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक समिति र विष्णु बेल्बासेको संयोजकत्वमा पाँच सदस्यीय मेस समिति बनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, अखिल भारत नेपाली विद्यार्थी सङ्घका अध्यक्ष माधव पोख्रेल, मूल प्रवाहका क्षेत्रीय सदस्य जुना चालिसे, महिला क्षेत्रीय सदस्य सीमा खडका, जनजाति विभागका थमन थापा, समता विभागका दुर्गा विक, सांस्कृतिक विभागका लीला विकलगायतले मन्तव्य राख्नुभएको थियो ।
लक्ष्मी अधिकारीले कविता वाचन गर्नुभएको उक्त कार्यक्रम तेजबहादुर रोकाको सञ्चालन, मानबहादुर केसीको अध्यक्षता तथा श्याम धिमाल र कलाकारको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।