खिमराज चालिसे,
चण्डिगढ । भारतको हिमाचलबाट मई २२, २०२४ का दिन नेपाल जाने क्रममा चन्डिगढमा लुटिएर अलपत्र हुन पुगेका बर्दियाका युवक सुन्दर चौधरीलाई मूल प्रवाह अखिल भारत नेपाली एकताले उद्धार गरी आफन्तजनलाई बुझाएको छ ।
त्यस क्रममा केन्द्रीय सदस्य खिमराज चालिसेले अलपत्र अवस्थामा भेटिएका युवकसँग सोधपुछ गर्दा नेपाल र भारतका विभिन्न स्थानका फोन नम्बरमा सम्पर्क गर्दा आफन्तजन पत्ता लागेको थियो ।
पीडित बर्दिया जिल्लाको राजापुर गाउँपालिका वडा नं. १० निवासी मानबहादुर दगौरा चौधरीका २८ वर्षीय छोरा सुन्दर चौधरीले हिमाचलको रामपुरबाट नेपाल जाँदै गर्दा चन्डिगढमा अपरिचित नेपालीभाषीबाट नगद नेरु २४,२००, एक थान मोबाइल र लत्ताकपडासहितको झोला लुटिएको बताए ।
उनका अनुसार शिमलाबाट सँगै कुराकानी गर्दै आएका एक नेपाली युवकले चन्डिगढ बसपार्क पहिल्यै ओर्लेर अर्को बसमा नेपाल जाने बताएपछि बसबाट ओर्लेको र सँगै खाना खाएपछिका कुनै कुरा थाहा नभएको बताए ।