अम्बाला । अम्बालाका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता भीमबहादुर केसीलाई पुत्रशोक परेको छ ।केसीको छोरा १७ वर्षीय छोरा गम्भीर केसीले जुलाई ७, २०२४ को बिहान ५ः३० बजे दुर्घटनामा ज्यान गुमाएपछि उहाँलाई पुत्रशोक परेको हो ।
हरियाणा राज्यको अम्बाला सिटीस्थित बलदेवनगर चौकमा पैदल हिँडिरहेका गम्भीरलाई दुधको गाडी टाटा ४०७ ले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थाहा लागेको छ ।
मृतक गम्भीर दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–४ टिकरापाटु घर भई अम्बालास्थित बलदेवनगरमा परिवारसहित बसोबास गर्दै आइरहेका मूल प्रवाहको सिटी एरिया समितिका उपाध्यक्ष भीमबहादुर केसीका छोरा हुन् ।
मृत्युको खबर प्राप्त भएपछि पुलिस थाना पुगेका मूल प्रवाहका नेताकार्यकर्तालाई प्रहरीले सिसिटिभी नदेखाउने र आरोपीलाई बचाउने प्रयास गर्दा थाना घेराउसम्मको स्थिति बनेको थियो ।
मूल प्रवाहका कार्यकर्ताहरू घटनास्थलमा पुगी छानबिन गर्नुको साथै आरोपीलाई गिरफ्तारीको माग राखेर थानामा करिब चार घण्टासम्म आन्दोलनमा उत्रिएपछि मात्र प्रहरीले एफआइआर दर्ता गरेको थियो ।
यसैबिच, मूल प्रवाह अम्बाला नगर समितिले शोकवक्तव्य जारी गर्दै मृतक गम्भीरप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।