
काठमाडौं । ‘भाषालाई विशेषगरेर भाववादी, अध्यात्मवादी र मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण हुँदै आएको’ बताउँदै भाषाविज्ञ प्रा.डा.देवीप्रसाद गौतमले ‘भाषा, विचारबाट अलग हुन नसक्ने बताउनुभयो ।’ प्रगतिशील लेखक सङ्घको मार्क्सवादी दृष्टिमा भाषा बिषयक २०७९ भाद्र ३ गते बागबजार काठमाडौंमा सम्पन्न ५७औं परिसम्वाद कार्यक्रममा वहाँले सो कुरा बताउनुभयो ।
अमेरिकी बामपन्थी नोम चोस्कीले भाषालाई भाववादी प्रकारले विश्लेषण गरेको बताउदै प्रा.डा.गौतमले ‘भाववादी तथा अध्यात्मवादी विश्लेषणले वस्तुगत यथार्थलाई सम्बोेधन गर्न नसक्ने’ बताउनुभयो । भाषाको सम्बन्धमा स्टालीनले नै वैज्ञानिक प्रकारले व्याख्या बताउँदै वहाँले ‘भाषा आधार र अधिरचनाको आधारमा व्याख्या गर्न नसकिने’ बताउनुभयो । ‘भाषाको वर्गचरित्र हुने’ बताउँदै ‘भाषाको सम्बन्धमा हामीले व्यवहारमा कमजोरी गर्दै आएको’ बताउनुभयो । महिला राष्ट्रपतिलाई ‘भनिन्’ भन्ने तर पुरुष राष्ट्रपतिलाई ‘भन्नुभयो’ भन्नु पुरुषवादी सोंच भएको वहाँको तर्क थियो । ‘भाषाको स्वतःकमजोरी नगर्ने तर समाजको मूल्य व्यवस्थाले नै सामाजिक असमानता देखाउने’ बताउँदै वहाँले ‘भाषा भौतिक व्यवस्थाको अभिव्यक्ति’ भएको बताउनुभयो ।
संङ्घका अध्यक्ष डा.मधुसुदन गिरीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रम, परिसम्वाद कार्यक्रमका संयोजक समीर सिंहले ‘नेपाली समाजमा बर्षौदेखि एउटा भाषा, एउटा संस्कृति, एउटा जातिका, एउटा लिङ्गको आधारमा विभिन्न सामाजिक असमानता रहेको’ बताउँदै ‘यी सबै विभेदपूणर् आन्दोलनको नेतृत्व वर्ग सङ्घर्षले गर्नुपर्ने’ बताउनुभयो ।
उपाध्यक्ष नमुना शर्माले संचालन गर्नुभएको सो कार्यक्रममा प्रा.डा.जीवेन्द्र देव गिरी, डा.गोपाल ठाकुर, लोकबहादुर थापा, शेखर अर्याल, तेजविलास अधिकारी, आरसी न्यौपाने, धनबहादुर मगर, शान्ता मानवी, इश्वरी शर्मा, कमल कार्की, पार्वती राउत, सुधा मैनाली, रामचन्द्र खतिवडा, समीर सिंह लगायतले टिप्पणी गनुभएको थियो ।














