
काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
डेंगु संक्रमण भएपछि रुपन्देहीबाट काठमाडौं आउनुभएका महामन्त्री सिंह अहिले घरमै आराम गरिरहनुभएको छ ।
सिंहलाई समान्य ज्वरो रहेको र डाक्टरको सल्लाहअनुसार घरमै उपचार भइरहेको उहाँकी पत्नी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
केही दिनअघि पार्टी कामको शिलशिलामा भारतको लखनउ जानुभएका सिंह नेपाल फर्केलगत्तै बिरामी पर्नुभएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा उहाँमा डेंगु संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट बुधबार काठमाडौं आउनुभएका सिंह ह्याम्स अस्पतालमा स्वास्थ्य परीक्षण गराएर घर जानुभएको हो ।
हाल उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरा खाइरहनुभएको छ ।
















