
काठमाडौं । नेकपा (मसाल) ले पार्टीका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको बताएको छ । ‘विश्व कम्युनिस्ट अध्ययन केन्द्र, नेपाल’ नामक फेसबुक आईडीबाट सिंह र केसीबारे भ्रम फैलाइएको हो । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको फोटो राखेर खोलिएको सो आईडीमा विभिन्न नेताहरुले बोलेको कुरा भन्दै भ्रमपूर्ण प्रचार गर्ने गरिएको छ ।
उक्त आईडीबाट मोहनविक्रम सिंहको भनाइ भनी ‘विगत विर्सेर अब एउटै मात्र शक्तिशाली कम्युनिस्ट एकतामा पहल गरौँ’ भन्ने सामग्री प्रचार भइरेहेको छ भने चित्रबहादुर केसीको भनाइ भनी ‘प्रचण्डको जोडबलले म सांसद भएको हुँ । प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन्छु’ भन्ने सामग्री पनि प्रसारण गरिएको छ ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एक स्पष्टीकरण प्रकाशित गरी उहाँहरुले यस्तो अभिव्यक्ति कहिँ पनि नदिएको भन्दै यसप्रकारको भ्रममा नपर्न सबैसँग आग्रह गर्नुभएको छ ।
स्पष्टीकरण
‘विश्व कम्युनिस्ट अध्ययन केन्द्र, नेपाल’ नामको एउटा फेसबुक आइडीबाट हाम्रो पार्टीका महामन्त्री कामरेड मोहनविक्रम सिंहको भनाइ भनी ‘विगत विर्सेर अब एउटै मात्र शक्तिशाली कम्युनिस्ट एकतामा पहल गरौँ’ भन्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिएको छ । त्यसैगरी उक्त आइडीबाट नै हाम्रो पाटीको वैधानिक मोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको भनाइ भनी ‘प्रचण्डको जोडबलले म सांसद भएको हुँ । प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन्छु’ भन्ने सामग्री पनि सामाजिक सञ्जालमा प्रसारण गरिएको छ । का. मोहनविक्रम सिंह र का. चित्रबहादुर केसीले कही कतै पनि त्यस प्रकारका अभिव्यक्ति दिनु भएको छैन । त्यसैले ती भनाइ कुनै आधिकारिक नभएकोले हामीले तिनको खण्डन गर्दछौँ । त्यस प्रकारका झुट्टा र अनाधिकार सामग्रीको भ्रममा नपर्न हामीले सम्पूर्ण जनतामा अनुरोध गर्दछौँ ।”
२०७९ पौष १५ गते ।
रामप्रकाश पुरी
प्रवक्ता














