काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सभामुख, उपसभामुख जस्तै राष्ट्रपति र उपराष्ट्रपति पदमा सत्ता गठबन्धन विजयी भए देशमा गम्भीर प्रकारको अनिष्ट हुने बताउनुभएको छ । महामन्त्री सिंहले भन्नुभएको छ : “अन्य बाँकी दुईओटा पदमा पनि पुनः सत्ता गठबन्धनको नै विजय भयो भने देशमा उनीहरूको नै संवैधानिक एकाधिकार कायम हुने छ र त्यसबाट देशमा गम्भीर प्रकारको अनिष्ट हुने छ ।”
२०७९ माघ ८ गते आइतबार साँझ ६ः४० बजे सामाजिक सञ्जालमा स्टाटस राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । स्टाटसमा उहाँले प्रतिगमन विरुद्धको सङ्खर्ष अझै समाप्त नभएको बताउनुभएको छ, साथै त्यसमा साम्राज्यवादी खतरा झनै गम्भीर रूपमा आएको उहाँको भनाइ छ ।
प्रतिगामी भूमिकामा रहेको एमालेसँगै राजावादी र अमरिकापरस्त तत्वहरूले सरकारको नेतृत्व लिएको दाबी गर्दै महामन्त्री सिंहले बहालवाला प्रधानमन्त्री प्रचण्ड कठपुतली प्रधानमन्त्री मात्रै भएको, सारतत्वमा सरकारको नेतृत्व केपी ओलीले गरेको बताउनुभएको छ । उहाँले दाबी गर्नुभएको छ : ओलीको नेतृत्वमा सरकार बनेमा कुनै पनि बेला संसद् विघटन हुन सक्छ ।
महामन्त्री सिंहले वर्तमान सरकारमा प्रतिगामी, राजावादी र अमेरिकी साम्राज्यवादपरस्त तत्ववको नियन्त्रण रहेकाले नेकपा (मसाल) को बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सभामुख र उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धनको विरुद्ध काङ्ग्रेसको उम्मेदवारलाई मत दिएको स्पष्ट पार्नुभयो । प्रतिगमन र साम्राज्यवादी खतराको सामना गर्नका लागि आगामी राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा पनि राजमोको नीति यही प्रकारको रहने उहाँले बताउनुभयो ।
काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्नुको अर्थ त्यो पार्टीसित एकता नै प्रधान हुन्छ भन्ने तर्कलाई गलत बताउँदै उहाँले जनताका बृहत्तर हितमाथि ध्यान दिएर नै सभामुख र उपसभामुखमा काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरेको स्पष्ट पार्नुभयो । उहाँले काङ्ग्रेसको गलत नीतिको विरुद्ध सम्झौताहीन संघर्ष चल्ने पनि बताउनुभयो । उहाँले स्टाटसमा भन्नुभएको छ : फरक पार्टीसित सहकार्य र संघर्ष नै कम्युनिस्टको संयुक्तमोर्चासम्बन्धी द्वन्द्वात्मक नीति हो ।