काठमाडौं । नेकपा (मसाल) ले संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उनको आत्मदाह देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृतिहरूको परिणामका साथै विद्यमान सरकार वा व्यवस्थामा भएका कमजोरीहरूको पनि परिणाम भएको मसालको ठहर छ ।
मसालले देशको समग्र स्थितिमा सुधार वा परिवर्तनको लागि व्यापक जनचेतना उठाउने तथा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले प्रेशित गर्नुभएको वक्तव्यमा रवि लामिछानेको नागरिकता अवैध भएको स्पष्ट छ भन्दै सर्वोच्च अदालतले दिने फैसलाप्रति सम्पूर्ण देशको ध्यान गएको बताउनुभएको छ ।
यस्तो छ, प्रेस वक्तव्य
“प्रेमप्रसाद आचार्यको आत्मदाहप्रति नेकपा (मसाल) को गम्भीर ध्यानाकर्षण भएको छ । यो खाली व्यक्तिगत घटना मात्र होइन । उनको आत्मदाह देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृतिहरूको परिणाम हो । त्यसका साथै विद्यमान सरकार वा व्यवस्थामा भएका कमजोरीहरूको पनि परिणाम हो । त्यसैले हाम्रो पार्टीले प्रेमप्रसाद आचार्यको आत्मदाहको सन्दर्भमा देशको यो समग्र स्थितिमा सुधार वा परिवर्तनको लागि व्यापक जनचेतना उठाउने तथा संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
देशमा आत्महत्याका घटनाहरू लगातार बढ्दै गइरहेका छन् । आजकै समाचार पत्रमा झापाका दुई जना किशोर किशोरीले आत्महत्या गरेको समाचार पनि प्रकाशित भएको छ । अन्तरजातीय प्रेम सम्बन्धका कारणले समाजले उनीहरूमाथि उत्पीडन गरेकाले दुवै जनाले आत्महत्या गरेका थिए । समाजको रूढिवादी, जातिगत संस्कारका कारणले धेरै युवकयुवतीहरूमाथि कैयौँ प्रकारका अत्याचारहरू हुने गरेका छन् र उनीहरूमध्ये कैयौँले आत्महत्या पनि गर्ने गरेका छन् । गम्भीर प्रकारका सामाजिक विकृतिहरूका कारणले नै त्यस्तो हुने गरेको छ । त्यो अवस्थामा सम्पूर्ण सामाजिक संस्कृतिमा नै रूपान्तरणको लागि सम्पूर्ण जनता र संस्थाहरूको ध्यान जानुपर्ने आवश्यकता छ ।
रवि लामिछानेको नागरिकता अवैध भएको कुरा दिनको उज्यालो झैँ प्रस्ट छ । त्यसबारे सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उनले दोहोरो नागरिकता लिएको तथा पुरानो र अवैध नागरिकतालाई उपयोग गरेर चुनावमा उम्मेदवार बनेकोमा समेत उनलाई कानुन अनुसार सजाय गर्नुपर्ने कुरा प्रस्ट नै छ । तर त्यस सन्दर्भमा रवि लामिछानेको अपराधभन्दा गम्भीर कुरा यो हो कि सम्पूर्ण राज्यन्त्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा, निर्वाचन आयोग र महान्यायाधिवक्ताको कार्यालय समेतले उनलाई सफाइ दिनको लागि पूरा शक्ति लगाइरहेका छन् । अब सर्वाेच्चले त्यसबारे के फैसला दिनेछ, सम्पूर्ण जनताको ध्यान त्यस तर्फ छ ।
चोलेन्द्र शमशेरको कार्यप्रणालीको कारणले सम्पूर्ण न्यायपालिका बदनाम भएको उदाहरण हाम्रा अगाडि छ । चोलेन्द्र शमशेर प्रधानन्यायाधीसको पदबाट हटेपछि न्यायपालिकाको कार्यप्रणालीमा केही सुधार हुनेछ भन्ने जनताले आशा गरेका थिए । अब सर्वाेच्च अदालतको रवि लामिछानेको नागरिकतामा गलत फैसलाका कारणले सर्वाेच्च पूर्ण कलंकित नहोस्, हामीले त्यो कुराको आशा गर्नुपर्दछ । यदि उक्त प्रश्नमा सर्वाेच्च अदालत संविधान र कानुनको समेत उलङ्घन गरेर गलत फैसला गर्यो भने त्यसबाट खाली न्यायपालिका मात्र होइन, सम्पूर्ण देशलाई नै चोलेन्द्र समशेरले पुर्याएको क्षति भन्दा कैयौँ गुणा क्षति पुग्ने छ र त्यो क्षति दीर्घकालीन प्रकृतिको हुनेछ । हामीले आशा गर्दछौँ सर्वाेच्चले त्यस प्रकारको गल्ति गर्ने छैन ।”