सेकेन्दराबादमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

राम प्रसाद पौडेल, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्ये–दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा ८ मार्च २०२३ का दिन  ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सेकेन्दराबादमा मनाइएको छ ।

क्षेत्रीय विभागकी संयोजक पुष्पा पौडेलको अध्यक्षता, माया थापाको सञ्चालन तथा बामपन्थी नेता आनन्दराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम सहिदहरुको सम्झनामा १ मिनेटको मौनधारणका साथ अगाडि बढेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले ८ मार्च, अधिकार प्राप्तिको लागि हजारौं लाखौं श्रमिक महिलाहरुले आहुती दिएर स्थापित गरिएको दिन भएको कुरा बताउनु भएको छ । उहाँले, त्यति बेलाको समाजमा महिलाहरुलाई नागरिकको हैसियत नै नभएको, मौलिक अधिकार तथा नैसर्गिक अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था भएको, पुरुष बराबरको काम गराउने तर ज्याला पुरुषहरुलाई भन्दा कम दिने गरिएको परिस्थितिमा प्रथम अन्तर्राष्ट्रियमा महिला हक अधिकारका लागि आवाज उठाइएका थियो, दोस्रो अन्तर्राष्ट्रियमा शसक्त रुपमा उठाउने काम भयो, जताततै युरोप र अमेरिकाका उद्योगहरुमा महिलाहरुले यहि ८ मार्चका दिन आन्दोलन गरेका थिए भन्ने कुरा बताउनु भयो ।

उहाँले, क्लारा जेट्किनले सोही ८ मार्चलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउनु पर्ने प्रस्ताब राखेपछि सन १९१० मा सो प्रस्ताव पास गरियो र अहिलेसम्म मनाउँदै आएको अवस्थामा महिलाहरुको स्थितिमा कतिपय सुधार भएको देखिन्छ तर आमूल परिवर्तन नभएसम्म समग्र महिला मुक्तिको सम्भव छैन । जसको लागि नेपालमा अखिल नेपाल महिला संघ र प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत महिला विभागले महिलाहरूलाई प्रशिक्षित गर्दै आइरहेको छ भन्ने कुरा व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि शर्माले, पूँजीवादी राज्य व्यवस्थाले पूँजीवादी बजार बलियो बनाउनका लागि महिलाहरूलाई वस्तको रुपमा लिन्छ । सुन्दरी प्रतियोगिता जस्ता महिलाहरुको अस्मितामाथि खलल पुर्याउने कामहरु गर्दै आइरहेको छ । यस्ता समाजमा विकृती फैलाउने कामहरुलाई रोक्नका लागि पनि सम्पूर्ण शोषित पीडित महिलाहरु एकजुट भएर आन्दोलनमा लाग्नु पर्ने आवश्यकता बारेमा औंल्याउनु भयो ।

उहाँले, साम्राज्यवादी तथा प्रतिक्रियावादीहरुको जालझेल र षड्यन्त्रमा देशलाई प्रतिगमनतिर धकेल्ने प्रयासहरु हुँदै आइरहेका छन भन्दै देशभित्रको अहिलेको राजनीतिक परिदृष्य निकै संबेदनशील रहेको बताउनुभयो । आफ्नो राजनैतिक सत्तालाई जोगाइराख्न राष्ट्र र राष्ट्रियताप्रति पनि सौदाबाजी गर्न नहिच्किचाउने दलहरुलाई राष्ट्रिय जनमोर्चाले खबरदारी गर्दै जनताहरुलाई सचेत बनाउँदै आइरहेको बारेमा पनि बताउनु भयो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले सम्बोधन गर्दै महिलाहरु आफ्नो हक अधिकारको लागि आफैं जुर–मुराएर उठ्नुपर्ने र अनुशासित रुपमा निरन्तर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्य फुलबिना पौडेल, क्षेत्रीय सचिव तिलक राना, गङ्गा कडायत, सबिता पौडेल, हिरा पौडेल, सीता थापा, कमला पौडेल, सम्झना दुलाल, थान बहादुर क्षेत्री, राजु दुलाल, मोहनलाल शर्मा, जिवनाथ शर्मा लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार