
बागलुङ। राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिले हटियाको जिपपार्कमा संघीयताविरुद्ध विरोध सभा गरेको छ ।
राष्ट्रिय जनमोर्चाको देशव्यापी रुपमा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत गलकोट नगर समितिको आयोजनामा आइतबार गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा ‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ र संघीयताको खारेज गरौँ’ भन्ने मूल नाराका साथ विरोध कार्यक्रम सम्पन्न भएको हो ।
विरोध कार्यक्रममा राजमो गण्डकी प्रदेश सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी सम्बोधन गर्दै देश संघीयतामा गईसकेपछि यसले थुप्रै किसिमका समस्यहरु निम्त्याएको भन्दै जसको ज्वलन्त उदाहरण सांसद, मन्त्री, कर्मचारी, प्रशासनहरु धेरै भएको कारण आर्थिक भारले थेग्न नसक्ने स्थिती भएको बताउनुभएको छ ।
उहाँले राष्ट्रिय जनमोर्चाले संघीयताले यस्ता किसिमका समस्याहरु निम्त्याउँछ भन्ने कुरा संघीयता नआउँदै भनेको बताउँदै अहिले ति संंघीयता लिनको लागि टुप्पिदेखि पैतालासम्म बल हालेर विदेशीको जोड बलले ल्याएको उपहार समस्याको विषय भइरहेको बताउनुभएको थियो ।
त्यस्तै नेता केसीले नेपालको सन्दर्भमा यहाँको भूगोल, जाति, धर्म, संस्कृतीको विरुद्धमा भएको र नेपाल राष्ट्र कुनै समय फिजीकरण, सिक्किमीकरण, हुन सक्ने बताउनु भयो ।
उहाँले नेपाली जनता र नेपाल राष्ट्रको हितको निम्ती संघीयतालाई खारेज गर्नुपर्ने बताउँदै संघीयता खारेजीको लागि सम्पूर्ण नेपाली जनता एकतावद्ध भएर लड्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभएको थियो ।
उहाँले नेपाल राष्ट्र रहे नेपाली रहन्छ, त्यसैले राष्ट्र र राष्ट्रियता बचाउनको निम्ती सम्पूर्ण नेपालीहरु एकजुत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम राजमो जिल्ला सदस्य पदम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।














