चितवन- २ मा जनमोर्चाबाट जनकराज शर्माले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि  भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

सुर्खेतका शर्मालाई जनमोर्चाले चितवनबाट उठाएको हो। उनको प्रस्तावकमा डम्मर केसी र समर्थक भरतपुर देवी शर्मा रहेका छन्।

मंसिर ४ गते भएको निर्वाचनमा जनमोर्चाले चितवनबाट उम्मेदवारी  दिएको थिएन। उसले कांग्रेस माओवादी गठबन्धनलाई सघाएको थियो। अहिले जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ। जनमोर्चाले  तनहुँ १ र बारा २ मा भने उम्मेदवारी दिएको छैन।

चितवनमा अमेरिकी साम्राज्यवादका विरुद्ध भण्डाफोर गर्ने उद्देश्यका साथ चुनावलाई उपयोग गरिएको राजमोका महासचिव मनोज भट्टले बताए। जनमोर्चाले यस निर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने अत्याधिक मतका साथ विजयी भएका थिए। उनले ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्प्रर्धी तत्कालिन राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठले  १४ हजार ९८३ मत ल्याएका थिए।  फेरी लामिछाने राहादानी दुरुपयोग सम्बन्धी विवादमा मुछिएका छन्।

बैशाख १० गतेका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राप्रपाको तर्फबाट जिवलाल पुरीले उम्मेदवारी दिँदैछन्। लामिछानेले यसअघि नै उम्मेदवारी दिएर तनहुँ प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार