काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी साम्राज्यावाद प्रत्यक्ष रुपमा उपस्थित भएको दोहोर्याउनुभएको छ ।
बिहीबार चितवनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यादी शक्तिबाट परिचालित छ भन्ने कुरा व्यवहारले नै देखाएको स्पष्ट पार्नुभयो ।
‘संसारका विभिन्न देशमा अमेरिकाले विभिन्न सहयोगको नाममा, एनजिओ आइएनजिओमार्फत तथा क्रिश्चियन धर्म प्रचारको (मिशिनरी) प्रयोग गरेर साम्राज्यवादी स्जार्थ लाद्न प्रयास गरिरहेको छ’ केसीले भन्नुभयो, ‘नेपालमा पनि विभिन्न सहयोगका नाममा अमेरिका अप्रत्यक्षरुपमा हस्तक्षेप गरिरहेको थियो । अब आफू अनुकुलको पार्टी नै खडा गरेर प्रत्यक्ष रुपमा आएको छ ।’
पत्रकारले रवि लामिछाने नै चुनाव जित्छन् भन्ने छ नि भनेर राखेको प्रश्नमा केसीले कटाक्ष गर्नुभयो, ‘तपाइँहरुले भगवान बनाउनुभएको छ । भगवान ले त चुनाव पनि सजिलै जित्लान् नि त । हामी त सर्वसाधारण जनता हार्न पनि सक्छौँ ।’
साथै, उहाँले भगवान (अमेरिका) ले सिरिया, अफगानिस्तान, इराकमा जितेको र तहसनहस पारिदिएको स्मरण गराउनुभयो ।
केसीले चितवनका जनताले साम्राज्यवादविरुद्ध मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
फरक प्रशंगमा अध्यक्ष केसीले जनताका छोराछोरीलाई खाडी पठाएर आएको रेमिट्यान्सले संघीयता नचल्ने स्पष्ट पार्नुभयो । उहाँले संघीयताका कारण जनताको ढाड भाँचिएको बताउनुभयो ।
‘साढे तीन अर्ब रुपैयाँ वर्षेनी खर्च भइरहेको छ । कुनै उद्योगधन्दा कलकारखाना खोल्न होइन, सांसद मन्त्री पाल्न ।
त्यसकारण संघीयता खारेज गर्नुको विकल्प छैन’ केसीले भन्नुभयो, ‘संघीयता बोक्नेको मनमा पनि जौ तिल पाकिराखेको छ । यसलाई कसरी धान्ने भनेर । जनताले २०६२/०६३ को आन्दोलन जस्तै संघीयता खारेज गर्ने आन्दोलनमा सामले हुनुपर्छ ।’
कार्यक्रममा चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्मा र राजमो महासचिव मनोज भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी,केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुंगाना अर्का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्ष राजमो केन्द्रीय सदस्य एवम् चितवन जिल्ला अध्यक्ष डम्बर पुरी र सञ्चालन जिल्ला सदस्य विष्णु पौडेलले गर्नुभएको थियो ।
खोजेको छ। विदेशी नागरिकता परित्याग गरि नेपाली नागरिकता पुनर्प्राप्त गरेको मितिले ३ महिना भित्र उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्थाको निर्वाचन आयोगले ठाडो उल्द्यंघन गरेर उनको उम्मेदवारीलाई सदर गर्ने कार्यबाट समेत राज्यका विभिन्न निकायहरु अमेरिकाको अगाडी घुँडा टेक्दै गईरहेको स्पष्ट हुन्छ।त्यसैले चितवनको उपनिर्वाचनलाई अमेरिकी साम्राज्यवादको विरुद्धको भण्डाफोर अभियानको रुपमा सफल पार्नु पर्ने आवश्यकतामा जोड दिन्छौं।
धन्यवाद ।