
खलङ्गा । जुम्लामा अन्तरजातीय विवाह गरेपछि केटी पक्षले केटाको घरमा आगजनी गरेको छ । सो घटनाको आरोपमा प्रशासनले किशोरीकी दाजुलाई गिरफ्तार गरेको छ ।
२०८० असार १७ गते आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा भएको आगजनीका लागि आरोपित हिक्मत गिरीलाई पक्राउ गरिएको हो ।
सो घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय गिरीलाई पक्राउ गरेको छ । उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए । हिक्मतमाथि आगजनी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हिक्मत विरुद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए ।
भरतले उक्त घर चार वर्षअघि बनाएका थिए तर उनी जुम्ला बजारमा बस्दै आएका छन् । उक्त घरमा भरतका साहिला भाइ तीर्थ र मुकुन्द बस्थे । तीर्थ कामको सिलसिलामा शनिबार जुम्लाबजारमा गएका थिए । घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह बताइएको छ ।
कारण अन्तरजातीय विवाह
भरत नेपालीका अनुसार २२ वर्षीय मुकुन्द नेपालगञ्जमा अध्ययन गरिरहेका थिए तर केही महिनादेखि उनी गाउँमै थिए । यसैबिच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए ।
‘भाइले भगाएको भन्ने खबर पनि हामीलाई केटी पक्षले नै दिएको थियो । हाम्रो सम्पर्कमा दुबै छैनन्’ भरतले भने– ‘केटी पक्षको सम्पर्कमा भने छन् । अन्तर्जातीय विवाह गरेकै कारणले उनीहरूले आगजनी गरिदिएका हुन् ।’
तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २–३ बजे नै आगलागी सुरु भएको थियो तर छिमेकीले ढिलो गरी मात्रै थाहा पाएका थिए ।
‘अन्दाजी २ बजेतिर आगलागी भएको हुनुपर्छ । बिहान ४–५ बजेतिर मात्रै थाहा भयो’ वडाध्यक्ष रोकायाले भने– ‘छिमेकी शौचालय जानलाई निस्किँदा घर जलिरहेको थाहा भयो ।’
त्यसपछि हल्ला भएपछि स्थानीय जम्मा भएका थिए । स्थानीयले मिलेर आगोलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई पनि त्यसपछि पौने ६ बजेतिर मात्रै जानकारी गराइएको थियो । पक्राउ परेका हिक्मतले पनि आफैले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
‘विवाहकै कारणले आगजनी गरेको भनेर हामीसमक्ष प्रारम्भिक रूपमा भनेका छन्’ डिएसपी कार्कीले भने ।
यता, मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किसोरी भने सम्पर्कविहीन छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
राजमो महासचिव भट्टको विरोध
यसैबिच, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त घटनाको बारेमा प्रतिक्रिया दिनुभएको छ ।
त्यसबारे महासचिव भट्टले लेख्नुभएको छ– ‘जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडिखोलाका मुकुन्द नेपालीको घरमा हिजो राती आगजनी भयो । त्यो आगजनीबाट संयोगले मानवीय क्षति भएन तर सम्पूर्ण घर जलेर नष्ट भएको छ ।”
घटनाको कारणबारे खुलाउँदै उहाँले अगाडि लेख्नुभएको छ– “यो आगजनी अरू कसैले नभएर मुकुन्द नेपालीले हालै प्रेमविवाह गरेकी केटीका दाजुले गरेको थियो । आगजनीका पछाडिको कारण थियो : मुकुन्द नेपालीसँग विवाह गर्ने केटी कथित माथिल्लो जातकी थिइन् ।”
सो क्रममा उहाँले गत वर्ष चितवनमा मन्दिरमा गाईपूजा गरेको कारण एक जना दलितलाई कुटपिट गरेर हत्या भएको, रुकुमको सोतीमा जन्तीमा सहभागी दुलाहासहितका छ जना दलित युवाले ज्यान गुमाउनुपरेको, बैतडी जिल्लामा दलित भएका कारण मृत्युपश्चात शव गाडन नयाँ चिहान खन्न निषेध गरिँदा गाउँभरिका सबै दलितको शव एउटै खाल्डोमा पुर्नुपर्ने बाध्यता रहेको जस्ता उदाहरण प्रस्तुत गर्नुभएको छ ।














