
दाङ । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेकोमा आपत्ति जनाएको छ ।
सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानमा भने मलको अभाव देखिएको तर पहुँचवालासँग भने हिउँदे खेतीका लागि समेत मलको स्टक पुगिसकेको भन्दै राजमोले आपत्ति जनाएको हो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको हस्ताक्षरमा २०८० असार १९ गते जारी प्रेसविज्ञप्तिमा यस्तो धारणा व्यक्त गरिएको छ ।
मलका लागि सहकारीमाथि दोष थुपार्ने तथा सहकारीले मलको बहानामा जबर्जस्ती सेयर सदस्य बढाएकोमा आपत्ति प्रकट गर्दै राजमो दाङले मलको सहज आपूर्तिका लागि सरकारसँग माग गरेको छ ।
“खेतीकिसानीको यो बेलामा रासायनिक मलमा देखिएको अव्यवस्थाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा किसानको हितको पक्षमा बारम्बार मुद्दा उठाउँदै आएको छ । अहिले मलको जुन समस्या देखिएको छ, यो विषयले हाम्रो ध्यान खिचेकाले यो प्रेसविज्ञप्तिमार्फत् सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहान्छौँ ।
सरकार मल पर्याप्त रहेको र मलको समस्या नरहेको कुरा बारम्बार बताइरहेको छ तर वास्तविक साना किसानलाई मलको ठुलो समस्या देखिएको छ । स्थानीय सरकारको जिम्मेवार पद र नेतृत्वमा भएकाहरूसमेतबाट पहुँचवालाले मात्र मल पाउने गरेको र उनीहरूले हिउँदे खेतीको लागि समेत मल स्टक गरेको कुरा आइराखेको छ । को हुन् ती पहुँचवाला ? खेतिकिसानी गर्नेहरू नै मलको पहुँचवाला हुनुपर्ने होइन र ? यस्तै कुराले नै गणतन्त्रको उपहास गरिराखेको छ । यो कुरा राष्ट्रिय जनमोर्चाका लागि स्वीकार्य हुँदैन र हामीले कडा शब्दमा यसको निन्दा गर्न चाहान्छौँ ।
सहकारीलाई दोष थोपरेर सरकार पन्छने गरेको छ । जनताको घर घरमै पुग्ने नाटक मञ्चन गरेर तीन तहको सरकार बनेको होइन र ? अनि, अहिले त्यहीँ मल पुर्याउनका लागि सहकारी गुहार्नुपर्ने किन ? के सहकारी सरकारकै अङ्ग हो ? सबै नागरिक सहकारीमा जोडिनैपर्ने हो ? यही मौकामा सहकारी सञ्चालकहरू जबर्जस्ती सहकारीको सेयर सदस्य थपेका छन् । सरकारको योभन्दा निरीहता केही हुन सक्दैन । हामीलाई यो कुराले गम्भीर ध्यानाकर्षण गराएको छ । हामीले यस्ता कार्यको निन्दा गर्दछौँ र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहान्छौँ ।
जति नै मलको समस्या नरहेको कुरा सरकारले बारम्बार गरे पनि अहिले पनि मलको सहज आपूर्ति भइराखेको छैन । तत्काल सहज आपूर्ति र आम किसानले सहज वातावरणमा मल पाउने व्यवस्थापन मिलाउन सरकार र सम्बन्धित सरोकारवालासित जोडदार माग गर्दछौँ ।”














