प्रतिगमनको खतरा झन् गम्भीर बन्दै गएको छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा झन् गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० साउन १३ गते शनिबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो विश्लेषण अगाडि सारिएको हो ।

वक्तव्यमा एकातिर, एमाले, राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध मोर्चाबन्दी गरिनु, अर्कोतर्फ खासगरी नेपाली काङ्ग्रेसभित्र धर्मनिरपेक्षताप्रतिको घट्दो प्रतिबद्धता र अमेरिकी साम्राज्यवादद्वारा गठित रास्वपासितको निकटताका कारण प्रतिगमको खतरा अझै गम्भीर बन्दै गएको ठहर गरिएको छ ।

प्रेसविज्ञप्तिमा प्रतिगमनको त्यस प्रकारको खतराका विरुद्ध सशक्त जनआन्दोलन तात्कालिक राजनीतिक आवश्यकता रहेको औल्याइएको छ ।

गत साउन ११ र १२ गते बसेको पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको प्रेसविज्ञप्तिमा ऐतिहासिक तीन अभियानका कार्यक्रम (लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरकजयन्ती र पार्टीको नवौँ महाधिवेशन), पार्टीको काठमाडौँ र बुटवलको भवनमा चन्दादाताको नाम लेख्ने तथा पुस्तिका प्रकाशन गर्ने निर्णय, करिब १४ वर्षअघिको दुईमहिने पार्टीक्लासका नोट छिट्टै प्रकाशन गर्नेलगायतका निर्णयहरूबारे उल्लेख गरिएको छ ।

यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

“नेकपा (मसाल) पी.बी. को बैठक यही साउन ११ र १२ गतेसम्म बस्यो । त्यो बैठकले देशको तात्कालिक राजनीतिक स्थिति, संसद् र स्थानीय जनप्रतिनिधिको काम, पार्टीका सङ्गठनात्मक कार्य, ऐतिहासिक तीन अभियानको कार्यान्वयन र पार्टीको नवौँ महाधिवेशनसमेतबारे विस्तृत छलफल गरी कैयौँ महत्त्वपूर्ण निर्णय गरेको छ । ती निर्णयबारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।

१. बैठकमा सर्वप्रथम सबै पी.बी.एम. हरूले आफ्नो जिम्मेवारी भएका विषयमा रिपोर्टिङ गर्नुभयो । ती रिपोर्टबाट खास गरेर ऐतिहासिक तीन अभियानसम्बन्धी कार्यको कार्यान्वयनबारे विस्तृत रूपले छलफल भयो । छलफलबाट त्यो अभियानका प्रारम्भिक कार्यहरू सन्तोषप्रद र उत्साहप्रद प्रकारले सम्पन्न भएको प्रस्ट भएको छ । अन्य कतिपय विषयमा पनि रिपोर्टमा जानकारी गराइएको थियो ।

२. बैठकले देशको तात्कालिक राजनीतिक स्थितिसम्बन्धी एउटा तात्कालिक राजनीतिक प्रस्ताव पनि पारित गरेको छ । त्यसमा देशको तात्कालिक स्थितिको विस्तृत रूपले विश्लेषण गर्दै आगामी कार्यदिशाबारे पनि प्रकाश हालिएको छ । त्यो प्रस्तावको पूरा भाग छिटै सार्वजनिक गरिने छ ।

३. त्यो प्रस्तावमा सर्वप्रथम ऐतिहासिक तीन अभियानको अहिलेसम्मको प्रगतिको मूल्याङ्कन गर्दै त्यससम्बन्धी आगामी जिम्मेवारीबारे प्रकाश हालिएको छ । ऐतिहासिक तीन अभियानको मुख्य उद्देश्य पार्टी वा कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गर्नु नै हो । अहिले सम्पूर्ण विश्व र नेपालको पनि कम्युनिस्ट आन्दोलनको चरित्रमा सैद्धान्तिक दृष्टिकोणले धेरै विचलन हुनका साथै सङ्गठनात्मक दृष्टिकोणले पनि लेनिनवादी सङ्गठनात्मक प्रणालीबाट धेरै विचलन आएको छ । माक्र्सवादी–लेनिनवादी दृष्टिकोण र लेनिनवादी सङ्गठनात्मक प्रणालीमा समेत धेरै विचलन आएको छ । त्यसलाई पुन: क्रान्तिकारी रूप दिनु ऐतिहासिक तीन अभियानको मुख्य उद्देश्य हो । त्यसको पहिलो चरण सैद्धान्तिक प्रशिक्षणबाट सुरु भएको छ । देशव्यापी रूपमा जिल्लास्तरमा त्यो कार्य सम्पन्न भएको छ । थोरै जिल्लामा त्यो कार्यक्रम बाँकी रहेको छ, जसलाई साउन महिनामा सम्पन्न गरिने छ । त्यसका आगामी कार्यक्रमअन्तर्गत पार्टी, मोर्चा र जनवर्गीय सङ्गठनको विस्तार र सुदृढीकरण, लेनिनको शताब्दी स्मृतिदिवस, पार्टीको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशनलाई सम्पन्न गर्नेबारे पनि विस्तृत रूपले छलफल गरियो र आगामी ठोस कार्यक्रम निर्धारण गरिएका छन् ।

४. प्रस्तावमा यो स्पष्ट गरिएको छ कि अहिलेका देशका तात्कालिक मुख्य समस्याहरू एकातिर, प्रतिगमनको खतरा र अर्कातिर, साम्राज्यवादी खतरा नै हुन् । पहिलो खतराबाट देशमा स्थापित लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतासमेतका उपलब्धि समाप्त हुने सम्भावना छ भने दोस्रो खतराबाट देशको राष्ट्रियता, सार्वभौमिकता नै समाप्त हुने खतरा छ । अहिले राजावादी, ओलीको नेतृत्वको एमाले र भारतका हिन्दु कट्टरपन्थी शासक वर्गको सम्मिलित गतिविधिबाट प्रतिगमनको खतरा पहिलेभन्दा धेरै गम्भीर भएको छ । अर्कातिर, भारतीय र अमेरिकी साम्राज्यवादका कारणले राष्ट्रियता र सार्वभौमिकतामाथिको खतरा पनि पहिलेभन्दा गम्भीर बनेको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले सामन्तवाद, भारतीय स्रामाज्यवादसितको अन्तर्विरोधलाई नै नेपाली जनताको मुख्य अन्तर्विरोध बताएको थियो । हाम्रो त्यो विश्लेषण मूल रूपमा अहिले पनि सही छ तर गत दिनमा अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी भूमिका पहिलेभन्दा बढेर गएको छ । त्यो अवस्थामा एकातिर प्रतिगमन र अर्कातिर साम्राज्यवाद विरुद्धको सङ्घर्षमा जोड दिनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

५. हामीले प्रतिगमन र साम्राज्यवादसित सङ्घर्षको सिलसिलामा तिनीहरूका विरुद्ध आउने शक्तिसित कार्यगत एकता, सहकार्य वा गठबन्धन गरेर आन्दोलनलाई बढीभन्दा बढी शक्तिशाली बनाउने प्रयत्न गर्नुपर्दछ । अहिले देशका राजनीतिक शक्तिहरूको जुन प्रकारको भूमिका छ, त्यसमाथि विचार गर्दा प्रतिगमन र साम्राज्यवाद दुवैका विरुद्ध एउटै संयुक्तमोर्चा बन्न सक्ने सम्भावना छैन । त्यसैले प्रतिगमनका विरुद्ध जुन शक्तिहरू आउँछन्, उनीहरूसित बेग्लै र साम्राज्यवादका विरुद्ध आउने शक्तिहरूसित बेग्लै कार्यगत एकता वा गठबन्धन गरेर जानुपर्ने अवस्था छ ।

प्रतिगमनका विरुद्ध लामो समयदेखि गठबन्धन बन्दै आएको छ । पहिले राष्ट्रियताको प्रश्नमा कतिपय वामपन्थी शक्तिसित कार्यगत एकता वा सहकार्य गरेर हामीले संयुक्त आन्दोलन पनि सञ्चालन गर्ने गरेका थियौँ तर राजावादी शक्तिसित पनि कार्यगत एकता वा सहकार्यसम्बन्धी विवादलाई लिएर अहिले त्यस प्रकारको संयुक्त आन्दोलनको पक्ष कमजोर हुँदै गएको छ । अमेरिकी साम्राज्यवादको देशमा बढेको भूमिकाप्रति पनि देशका अन्य राजनीतिक शक्ति वा वामपन्थी शक्तिसमेतमा स्पष्ट अवधारणा बन्न सकेको छैन । त्यसले गर्दा अहिले साम्राज्यवाद विरुद्धको सङ्घर्षलाई पनि हाम्रो पार्टीले करिब करिब एक्लै अगाडि बढाउन प्रयत्न गर्नु परिरहेको छ तर हामीले यो आशा गर्दछौँ र त्यसका लागि पनि प्रयत्न गर्दछौँ : साम्राज्यवाद विरुद्धको कार्यगत एकता वा सहकार्यको क्षेत्र व्यापक र बलियो हुँदै जाओस् र त्यो आन्दोलनले अरू शक्तिशाली रूप लिन सकोस् तर त्यस्तो स्थिति तयार नहुँदासम्म हामीले एक्लै पनि त्यो आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्दै जाने छौँ ।

६. ओलीको नेतृत्वमा प्रतिगमनको खतरा गम्भीर रूपमा अगाडि आएको बेलामा पाँचदलीय गठबन्धनको निर्माण ऐतिहासिक महत्त्वको कार्य थियो । त्यो गठबन्धनका कैयौँ महत्त्वपूर्ण उपलब्धि भए । त्यो गठबन्धनको निर्माण हुन नसकेको भए देश प्रतिगमनतिर जाने तथा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतासमेत माथि आँच पुग्ने गम्भीर सम्भावना थियो । अहिले पनि ओली नेतृत्वको एमाले, राप्रपा र कथित स्वतन्त्र पार्टीले एकताबद्ध भएर त्यो दिशामा कोसिस गरिरहेका छन् र नेकाको एउटा पङ्क्ति पनि उनीहरूसित नै गठबन्धन गर्न प्रयत्नशील छ । त्यो अवस्थामा प्रतिगमन विरुद्धको सङ्घर्ष र त्यसका विरुद्ध बनेको गठबन्धनलाई अहिले पनि हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ ।

७. प्रतिगमनको खतराका सन्दर्भमा त्यसका विरुद्ध आउने शक्तिका बिचमा गठबन्धनको ऐतिहासिक आवश्यकता भए पनि त्यसभित्र चलिरहेका अन्तर्विरोध वा कैयौँ पक्षका बिचमा चलिरहेका अन्तर्घातसमेतका कारणले गठबन्धनको स्थायित्वमा कैयौँ प्रश्न र आशङ्का उठ्ने गरेको पाइन्छ । त्यसभित्रका त्यस प्रकारको अन्तर्विरोध वा अन्तर्घातका कारणले नै चुनावमा त्यसलाई स्पष्ट बहुमत प्राप्त हुन सकेको थिएन । चुनावपछि पनि त्यसभित्रका अन्तर्विरोध वा गलत समझदारीका कारणले एकपल्ट ओली, राप्रपा र कथित स्वतन्त्र पार्टीलाई सत्तामा आउने अवसर प्राप्त भएको थियो तर पाँचदलीय गठबन्धनभित्रको सुझबुझ वा समझदारीका कारणले त्यो स्थितिमा छिटै नियन्त्रण भयो ।

गठबन्धनभित्रका त्यस प्रकारका अन्तर्विरोध वा अन्तर्घातमा विदेशी साम्राज्यवादी शक्तिले पनि खेल्ने प्रयत्न गरिरहेका छन् र उनीहरूले प्रतिगमन र साम्राज्यवादपरस्त शक्तिलाई मिलाएर सरकार गठन गर्ने दिशामा प्रयत्न गरिरहेका छन् । त्यसप्रति पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

८. हाम्राबिचका कैयौँ मतभेदका बाबजुद त्यो गठबन्धनलाई निरन्तरता दिनुपर्दछ भन्ने हाम्रो स्पष्ट सोचाइ छ र त्यो दिशामा हामीले इमानदारितापूर्वक प्रयत्न पनि गरिरहेका छौँ तर गठबन्धनका अन्य पक्षसित हाम्रा राष्ट्रियताको प्रश्नमा—जस्तो कि एमसिसी, नागरिकता विधेयक आदि—हाम्रो गम्भीर मतभेद भएकाले उनीहरूसितको हाम्रो सम्बन्धमा कैयौँ जटिलता पनि उत्पन्न हुन थालेका छन् । हाम्रो सधैँ यो स्पष्ट समझदारी रहने गरेको छ कि एकातिर, आपसमा मतभेद भए पनि पारस्परिक समझदारी भएका विषयमा कार्यगत एकता वा गठबन्धन गरेर जानुपर्दछ र आपसमा त्यस प्रकारको एकता भए पनि मतभेद भएका विषयमा विरोध वा सङ्घर्षलाई पनि साथसाथै अगाडि बढाउन सक्नुपर्दछ ।

हामीले गठबन्धनसितको सम्बन्धलाई त्यही द्वन्द्वात्मक अर्थमा अभ्यास गर्ने प्रयत्न गरेका छौँ र अन्य पक्षले सबै विषयमा सहमति नभएपछि तथा हामीले सत्तापक्षसित मतभेद भएका विभिन्न प्रश्नमा आफ्ना आलोचना गर्ने गरेको हुनाले उनीहरूले हामीप्रति एक वा अर्को प्रकारले नकारात्मक दृष्टिकोण अपनाएको पाइन्छ । त्यसैको परिणाम हो कि गत कालमा गठबन्धनका बैठकमा उनीहरूले हामीलाई बोलाउन पनि छाडेका छन् । त्यो स्थितिमा गठबन्धनसितको सम्बन्धबारे कुन प्रकारको दृष्टिकोण अपनाउने ? त्यसबारे पनि पी.बी. को बैठकमा गम्भीरतापूर्वक छलफल भयो । अब गठबन्धनका सम्बन्धित पक्षसित छलफल गरेर हामीले त्यससितको सम्बन्धलाई निरन्तरता दिने वा गठबन्धनबाट हटेर सरकारको समर्थन गर्ने मात्र नीति अपनाउने ? त्यसबारे छिट्टै कुनै टुङ्गोमा पुग्ने समझदारी भएको छ । निश्चय नै गठबन्धन पक्षका अन्य दलको हामीप्रतिको नकारात्मक दृष्टिकोणका कारणले हामी त्यसबाट हटे पनि सरकारप्रतिको हाम्रो समर्थन कायम रहने छ किनभने अहिलेको गठबन्धन वा सरकारलाई हामीले प्रतिगमनका विरुद्धको सङ्घर्षको अर्थमा नै लिएका छौँ । त्यसैले त्यसलाई समर्थन गर्ने कुरा अहिलेको राष्ट्रिय आवश्यकता हो भन्ने हाम्रो समझदारी छ ।

९. अर्को आम चुनावका लागि अझै करिब तीन वर्षभन्दा बढी समय बाँकी छ तैपनि अहिलेदेखि नै त्यो चुनावलाई केन्द्र बनाएर छलफल र तयारी सुरु हुन थालेका छन् । खास गरे प्रतिगमन पक्षधर शक्तिहरूले अहिलेदेखि नै गठबन्धनलाई हराउनका लागि तयारी सुरु गरिरहेका छन् । अर्कातिर, गठबन्धन पक्षधर शक्तिका बिचमा त्यसबारे कुनै स्पष्ट धारणा बनेको पाइँदैन ।

२०८४ को चुनावमा पहिले झैँ गठबन्धन गरेर जाने समझदारी बने पनि त्यो नीतिको इमानदारितापूर्वक कार्यान्वयन हुने छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । पहिले गठबन्धनको तर्फबाट भएको चुनावको अनुभवले बताउँछ कि आपसी तालमेल गरेर चुनाव लडे पनि सबै पक्षले त्यसमा इमानदारिता देखाउँदैनन् । गत चुनावमा नेकाको प्रतिपक्षबाट खालि वामपन्थी शक्तिलाई हराउन घोषित रूपले प्रयत्न मात्र गरिएन, आफ्नै पार्टीका उम्मेदवारलाई हराउन पनि अन्तर्घात गर्ने काम गरियो । नेकाले त्यस प्रकारका अन्तर्घातका विरुद्ध कुनै कारबाही गर्न सकेन । नेकाले खालि गठबन्धनका अन्य पक्षहरू मात्रका होइन, स्वयम् आफ्नै सङ्गठनका उम्मेदवारका विरुद्ध आफ्नै सङ्गठनभित्रबाट गरेको अन्तर्घातका लागि पनि कसैमाथि कारबाही गर्न सकेन । ती कुरामाथि विचार गर्दा आगामी चुनावमा गठबन्धनका बिचमा कुनै समझदारी भए पनि अन्तर्घातका लागि खुला छुट हुने कुरा सजिलैसित अनुमान गर्न सकिन्छ । त्यो अवस्थामा आगामी चुनावमा गठबन्धनका पक्षका बिचमा परस्परमा चुनावी तालमेल भए पनि त्यसको विश्वसनीयतामाथि भर गर्न नसकिने कुरा स्पष्ट छ । त्यो अवस्थामा हामीले आगामी चुनावमा एक्लै चुनाव लड्नुपर्ने दिशातिर अहिलेदेखि नै मानसिकता बनाउनुपर्ने र तयारी गर्दै जानुपर्ने आवश्यकतामा हामीले आफ्ना सबै कार्यकर्तालाई सतर्क पार्न चाहन्छौँ । निश्चय नै यो हाम्रो अन्तिम निर्णय होइन, देशमा र स्वयम् हाम्रो पार्टीभित्र पनि त्यसबारे छलफल गरेपछि नै हामीले त्यसबारे अन्तिम निर्णय लिने छौँ ।

१०. नेकाभित्रका दुईओटा प्रवृत्तिप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ : प्रथम– त्यसभित्र राजतन्त्रको पुनस्र्थापना र धर्मनिरपेक्षतासमेतका विरुद्ध बलियो जनमत छ; द्वितीय– वामपन्थीहरूसित कुनै एकता वा गठबन्धन गर्न हुँदैन भन्ने मत पनि त्यसभित्र बलियो छ । उनीहरूको पछिल्लो प्रकारको मतले उनीहरूलाई अमेरिकी साम्राज्यवादको नजिक लैजान्छ । त्यसैले अमेरिकी साम्राज्यवादको निर्देशनमा हालै बनेको ‘स्वतन्त्र’ पार्टीसित उनीहरूको निकटता बढेर जाने सम्भावना बढी छ । अहिले नेकाभित्रका कैयौँ नेता वा कार्यकर्तामा समेत त्यस प्रकारको प्रवृत्ति बढेर गएको छ । ती दुवै प्रकारका नीतिले नेकालाई स्पष्ट रूपले प्रतिगमन र अमेरिकी साम्राज्यवादको पक्षमा लैजाने कुराको अनुमान गर्न सकिन्छ । नेकाभित्रको त्यस प्रकारको प्रवृत्तिका कारणले नै प्रतिगमनका विरुद्ध बनेको गठबन्धनको आधार पनि कमजोर हुने वा हुँदै गएको कुरा स्पष्ट छ । उक्त सबै कारणमाथि विचार गर्दा देशमा प्रतिगमन र साम्राज्यवादसमेतको खतरा धेरै नै गम्भीर बनेर गएको र त्यसका विरुद्ध शक्तिशाली आन्दोलन उठाउनुपर्ने आवश्यकता भएको कुरा प्रस्ट छ ।

११. ऐतिहासिक तीन अभियानको प्रथम चरणको सैद्धान्तिक प्रशिक्षणको कार्य सफलतापूर्वक सम्पन्न भएपछि असार र साउनमा आन्तरिक सङ्गठनात्मक परिचालनको काममा लागेका छौँ । त्यसपछि भदौ र असोजमा हामी सङ्गठनात्मक विस्तार र सुदृढीकरणको कार्यमा लाग्ने छौँ । त्यसपछि हामी क्रमश: लेनिनको शताब्दी स्मृतिदिवस, पार्टीको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशनका कार्यक्रम सम्पन्न गर्नेतिर लाग्ने छौँ । पी.बी. ले उक्त सबै विषयमा ठोस कार्यक्रम निर्धारित गरेको छ ।

१२. पी.बी. को बैठकमा नवौँ महाधिवेशनसित सम्बन्धित चारओटा दस्तावेज राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव र सङ्गठनात्मक प्रस्तावसम्बन्धी नोटमा छलफल भयो । उक्त दस्तावेज तयार पार्न जिम्मा दिइएका कामरेडले केन्द्रीय समितिको आगामी बैठकमा ती दस्तावेज प्रस्तुत गर्ने ठेगान भएको छ ।

१३. करिब १४ वर्षपहिले पार्टीस्कुलको दुईमहिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । त्यो प्रशिक्षण कार्यक्रममा दिइएका सबै प्रशिक्षणलाई पुस्तकको रूपमा प्रकाशित गर्ने हामीले पहिले नै निर्णय गरेका थियौँ । कतिपय व्यावहारिक कारणले त्यो विषयमा ढिलाइ हुन गएको थियो । प्रशिक्षणसम्बन्धी त्यो पुस्तकलाई छिट्टै प्रकाशन गर्ने निर्णय भएको छ ।

१४. काठमाडौँ र बुटवलका भवनको भित्तामा चन्दादाताको नामावली लेख्ने समझदारीलाई कार्यान्वयन गर्ने विषयमा केही ढिलाइ हुन गएकोमा अब छिटै सङ्गमर्मरमा त्यो नामावली लेख्ने निर्णय भएको छ । त्यसका सबै प्राविधिक पक्षलाई पूरा गरेर त्यो कार्य सम्पन्न गर्न करिब ५–६ महिनाको समय लाग्ने अनुमान गरिएको छ । त्यसरी भित्तामा नामावली लेख्नुका साथै काठमाडौँ र बुटवलका दुवै भवनमा चन्दादाताहरूको नाम लेखिएको पुस्तक राखिने छन् र त्यो नामावलीका पुस्तिका सम्बन्धित जिल्लामा पनि पठाइने छ ।

१५. अन्तमा बैठक सौहार्दपूर्ण वातावरणमा पूरा भयो ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार