
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४७औँ स्थापना दिवस अन्तर्क्रिया सहित केन्द्रीय स्तरको कार्यक्रम दिल्लीमा सम्पन्न पारेको छ । मूल प्रवाह केन्द्रीय समितिले “प्रवासी नेपालीहरूको मताधिकार र नेपालको जेनजी आन्दोलन” विषयाक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कात्तिक २२ गते शुक्रबार दिल्लीको आईटिओस्थित राजाराम मोहन राय मेमोरियल हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भैरवराज रेग्मीले नेपालको वर्तमान राजनैतिक अवस्था अत्यन्तै तरल रहेको बताउनु भयो । ‘जेनजी आन्दोलन कुनै संगठित वैचारिक समूह होइन । यो उमेर समूह आफैमा देश दुनियाँसँग बेखबर जेनजी पुस्ता ईन्टरनेटको दुनियाँमा भुलिरहेको थियो ।’ जेनजी आन्दोलनको सन्दर्भमा धारणा राख्दै रेग्मीले भन्नुभयो– ‘सरकारद्वारा सामाजिक संजालमा लगाइएको आकस्मिक प्रतिबन्धलाई साम्राज्यवादी शक्तिहरूद्वारा उनीहरूको भावना उपयोग गरिएको थियो ।’
रेग्मीले भाद्र २३–२४ को घटना एक्कसी नभएको, यसका पछाडी साम्राज्यवादीहरूको लामो समयदेखिको तयारी र योजनाबद्ध प्रकारले भएकोमा जोड दिनुभयो । ‘साम्राज्यवादले आफ्नो स्थिति मजबुत पार्न विभिन्न व्यक्ति समुहहरूलाई हदसम्मको प्रयोग गर्ने गर्दछ ।’ नेता रेग्मीले अगाडि भन्नुभयो– ‘अहिले हाम्रो राष्ट्र ध्वस्त भएको छ । आगजनी र तोडफोडका घटनामा रास्वपा–राप्रपा त सामेल थियो नै काँग्रेस–एमाले–माओवादी भित्रका असन्तुष्ट व्यक्ति समूह पनि सामेल थिए । तात्कालिन सरकारको नेतृत्व जिम्मेवारीबाट बच्ने कोशिस गरिरहेको छ, तर बच्न सक्दैन ।’
देशमा भएको भ्रष्टाचार र कुशासनले जनताको अपेक्षा निराशामा बदलिँदो थियो र त्यो निराशाले जनआक्रोसलाई जेनजी आन्दोलनको रुपमा विस्फोट भएको पनि रेग्मीको भनाई थियो ।
‘जेनजी आन्दोलन पछी बनेको सरकार असंवैधानिक छ, यो सरकार विदेशी शक्तिकेन्द्रको दबाब छ । अराजक व्यक्तिगरुले सरकारलाई धम्क्याई रहेका छन् ।’ रेग्मीले भन्नु भयो– ‘सर्वोच्चमा संसद विघटन विरुद्ध रिट परेको छ । संसद पुनर्स्थापना भयो भने पनि मुठ्भेडको सम्भावना रहिरहन्छ ।’ देशलाई यो अवस्था पुर्याउनु ओलिको ठूलो हात रहेको रेग्मीको थप भनाई थियो ।
विगतमा पटकपटक लोकतान्त्रिक पद्धतिलाई कुल्चिने र आफू अनुकूल नभए संसद विघटन गर्ने, पार्टी भित्रको आन्तरिक लोकतन्त्र समाप्त पारेर निरंकुशता लाद्ने प्रयास ओलीबाट भएको कमजोरी बारे पनि रेग्मीले प्रष्ट्याउनु भयो ।
विशिष्ठ अतिथि ठाकुर खनालले प्रवासी नेपालीहरूको मताधिकार कुनै दल विशेषको फाइदा बेफाइदा हेरेर नभई प्रत्येक नागरिकको मौलिकहक र दायित्व भएको बताउनु भयो । ‘एक तिहाई जनसंख्यालाई मताधिकारबाट वंचित गरिनु न्यायोचित होइन ।’ खनालले भन्नुभयो– ‘प्रवासी नेपालीहरूले पठाएको नोट चल्ने भोट नचल्ने कहाँको न्याय हो ?’
प्रवासी नेपालीलाई मताधिकार मात्रै नभई समानुपातिक प्रतिनिधित्व पनि चाहिने खनालको भनाई थियो ।
आयोजक समितिको तर्फबाट आधार पत्र समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता माधव पोखरेल, प्रवासी नेपाली संघका रामप्रसाद पराजुलीले पनि मन्तव्य दिनुभएको थियो ।
त्यस्तै बहराईन नेपाली एकता समाजका पूर्व महासचिव एलबि राना, पत्रकार महासंघ भारत शाखाका सचिव तथा ग्लोबल गोर्खा टाइमका ईन्द्रकमल जैरु, एनबिआई न्युजका हेमन्त अधिकारी र युगदर्शनका सम्वाद्दाता खिमराज चालिसेको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एल बि राना, गोपाल भट्टराई, मदन थापा, विशाल अधिकारी, तिल बहादुर थापा, इन्द्र कमल जैरुले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्षता उपाध्यक्ष कपिल खनाल र सञ्चालन महासचिव त्रिभुवन भट्टराईले गर्नुभएको थियो । सहभागीहरूलाई सचीव शालिकराम आचार्य र कलाकारहरूले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा विभिन्न स्थानबाट आएका रक्तिमका कलाकारहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

















