संविधान र प्रेस स्वतन्त्रताबारे प्रगतिशील पत्रकार सङ्घको अन्तरक्रिया (फोटाहरूसहित)

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले संविधान र प्रेस स्वतन्त्रताकारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८० असोज १२ गते शुक्रबार काठमाडौँको हार्दिक होटलमो सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रेस स्वतन्त्रताको पूर्णताबारे सुझाव दिनुस् : पुरी

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि पुरीले वर्तमान संविधानमा प्रेस स्वतन्त्रतालाई अधिकतम पूर्णता दिन सुझाव आवश्यक रहेको बताउनुभयो ।

‘यो संविधानमा प्रेस स्वतन्त्रतालाई अधिकतम पूर्णता दिन तपाईं पत्रकार साथीहरूले सुझाव दिन आवयश्यक ठान्दछु’ उहाँले भन्नुभयो– ‘यसबारे तपाईंहरूले नै सबैभन्दा राम्ररी सुझाव दिन सक्नुहुन्छ ।’

उहाँले नेपाल पत्रकार महासङ्घसित प्रेस स्वतन्त्रतासम्बन्धी आन्दोलनको नेतृत्व गर्न पनि सुझाव दिनुभयो ।

‘मलाई लाग्छ, वर्तमान संविधानमा प्रेस स्वतन्त्रतालाई सुदृढ गर्नका लागि नेपाल पत्रकार महासङ्घले नेतृत्व गर्दा हुन्छ’ उहाँको भनाइथियो ।

वर्तमान संविधानमा तमाम कमजोरी रहेको स्वीकार्दै उहाँले अग्रगामी संविधान नबन्दासम्म यसलाई रक्षा गर्नुपर्ने बताउनुभयो ।

‘यो संविधान आफैमा पूर्ण छैन । त्यो कुरा त हामी सबैलाई थाहा छ’ उहाँले भन्नुभयो– ‘तर तत्काल हामी योभन्दा अग्रगामी संविधानको निर्माण गर्ने अवस्थामा छैनौँ । त्यसैले तबसम्मका लागि यो संविधानको रक्षा गरेर नै अघि बढ्नुपर्दछ ।’

प्रेसमैत्री कानुन बनाउन पहल गरिरहेका छौँ : चौलागाईं

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईंले पत्रकारमैत्री कानुन बनाउन महासङ्घ लागिपरेको बताउनुभयो ।

‘पत्रकार महासङ्घले प्रेससम्बन्धी कानुनलाई पत्रकारमैत्री बनाउनका लागि लागि परेको छ’ उहाँले भन्नुभयो– ‘त्यसका लागि हामी सम्बन्धित निकायसँग लगातार छलफलमा छौँ ।’

उहाँले प्रगतिशील पत्रकार सङ्घले उठाएका विषयहरूलाई पत्रकार महासङ्घ र सम्बन्धित निकायमा उठाउने दाबी पनि गर्नुभयो ।

‘तपाईंहरूको सङ्गठनको यो अवधारणापत्र र बुटवल घोषणापत्र मैले महासङ्घको बैठकमा प्रस्तुत गर्ने छु’ उहाँले भन्नुभयो– ‘तपाईंहरूको १४ बुँदे अवधारणापत्रमा उठाइएका विषयलाई कानुन निर्माणको क्रममा सम्बोधन गर्ने प्रयास हामी गर्ने छौँ ।’

उहाँले चाडपर्व नजिकिएका बेला पत्रकारले तलब नपाउने गुनासो बढ्दै गएकाले त्यसतर्फ ध्यान दिन सबै सञ्चारमाध्यमसित सार्वजनिक अपिल पनि गर्नुभयो ।

अहिलेको संविधान प्रगतिशील : खड्का

प्रेस सेन्टरका उपाध्यक्ष विदुर खड्काले अहिलेको संविधान प्रगतिशील भएको बताउनुभयो ।

‘हामी त युद्ध लडेर आएको पार्टीको सङ्गठन’ उहाँले भन्नुभयो– ‘हामीले चाहेअनुसारको नभए पनि भन्नैपर्छ, यो संविधान गत कालको संविधानभन्दा प्रगतिशील छ ।’

उहाँले थप्नुभयो– ‘त्यही भएर प्रेस स्वतन्त्रताको सवाल पहिलेका अरू संविधानमा भन्दा यसमा बढी मूर्त रूपमा आएको छ ।’

सम्बोधनको क्रममा उहाँले प्रेस स्वतन्त्रता सञ्चार व्यवसायीको पनि सरोकारको विषय भएको बताउँदै आफूहरूले साना लगानीको मिडियाको पक्षमा रहेको बताउनुभयो ।

‘हामी साना लगानीका मिडियाको रक्षाप्रति गम्भीर छौँ’ उहाँले भन्नुभयो– ‘मिडियाहरूले श्रमजीवी पत्रकारमाथिको शोषण बन्द गर्नुपर्दछ । यसबारे प्रगतिशील पत्रकार सङ्घसित हाम्रो साझा मत कायम भएको छ ।’

सहकार्य गर्न तयार छौँ : भण्डारी

प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले प्रगतिशील पत्रकार सङ्घ निष्ठापूर्ण सङ्गठन भएको बताउनुभयो ।

‘राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) निष्ठापूर्ण राजनीति गर्ने दल हो’ उहाँले भन्नुभयो– ‘प्रगतिशील पत्रकार सङ्घ पनि सोही प्रकारको सङ्गठन हो भन्ने हामीलाई थाहा छ ।

उहाँले थप्नुभयो– ‘तपाईंहरूको निष्ठामा तलबितल नहोस् । हामी तपाईंहरूसित साझा मुद्दामा सहकार्य गर्न तयार छौँ ।’

गणतन्त्र संस्थागत गर्नुपर्छ : गौतम

समाजवादी प्रेस सङ्गठनका उपमहासचिव प्रेम गौतमले अहिले गणतन्त्रको संस्थागत विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘गणतन्त्रमा विभिन्न विकृतिहरू छन्’ उहाँले भन्नुभयो– ‘तर त्यसको अर्थ गणतन्त्रलाई नै सिध्याउनु होइन, गणतन्त्रभित्रको विकृतिको विरोध गर्दै गणतन्त्रलाई संस्थागत गर्दै जाने हो ।’

उहाँले प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो, त्यही गर्नु नभएको बताउँदै देशमा सुशासन र जनजीविकाको अहिलेको मुख्य मुद्दा भएको बताउनुभयो ।

संविधानका लागि हामी पनि लडेका हौँ : बुढा

क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक कमल बुढाले संविधानका लागि आफूहरू पनि लडेको बताउनुभयो ।

‘अग्रगामी संविधानका लागि हामीले पनि सङ्घर्ष गरेका हौँ’ उहाँले भन्नुभयो– ‘तर संविधानको भोग हामीले गर्न पाएनौँ ।

उहाँले जनताको संविधान लेख्ने कार्य अझै बाँकी रहेको बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले प्रगतिशील पत्रकार सङ्घको अवधारणापत्रले प्रेस स्वतन्त्रतासम्बन्धी छलफलको बाटो खुलेको पनि बताउनुभयो ।

मर्यादित पत्रकारिता आवश्यक : विश्वकर्मा

जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले मर्यादित पत्रकारिताको आवश्यकतामाथि जोड दिनुभएको थियो ।

अबको मुद्दा समाजवाद भएको बताउँदै उहाँले खालि प्रेस स्वतन्त्रताले मात्र अब काम नचल्ने बताउनुभयो ।

मन्तव्य क्रममा उहाँले प्रेस स्वतन्त्रताको नाममा जथाभावी लेख्नु गलत हुने बताउँदै त्यसका विकल्पमा मर्यादित पत्रकारिता आवश्यक रहेको पनि बताउनुभयो ।

प्रगतिशीलका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता तथा महासचिव प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पत्रकार गङ्गा बरालले पनि संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

सम्मेलनमा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य रमेश पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा आयोजकको तर्फबाट अवधारणापत्र अध्यक्ष श्यामलाल पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राजमो कोषाध्यक्ष मधु क्षेत्री, राजमो केन्द्रीय सदस्य लालबहादुर थापा, राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिका सदस्य वैरागी जेठा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसी, जापान नेपाली एकता समाजका भीम केसी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य जीवनारायण खनाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव डम्मर कार्कीलगायतको आतिथ्य रहेको थियो ।

यस्तो छ अवधारणापत्र

संविधान र प्रेस स्वतन्त्रता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार