काठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्ष निकालेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ ३२ गते राती जारी प्रेसवक्तव्यमा यस्तो निष्कर्षबारे जानकारी दिइएको हो ।
केही दिनअघि सम्पन्न मसालको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन जारी गरिएको सो वक्तव्यमा एकातिर सत्तामा आएका दलका गलत नीति तथा क्रियाकलाप तथा अर्कोतिर, उनीहरूको प्रतिगमनप्रतिको गलत नीतिका कारणले गम्भीर स्थिति उत्पन्न भएको उल्लेख छ ।
यस सन्दर्भमा भारतीय साम्राज्यवादका साथै अमेरिकी साम्राज्यवादको बढ्दो खतराको बारेमा पनि चर्चा गरिएको छ । अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि नेपालको नागरिकता नै नभएको र हाल सहकारी अपचलनमा आरोपित व्यक्तलाई गृहमन्त्री बनाइएको सन्दर्भ वक्तव्यमा उल्लेख छ ।
त्यस्तै वक्तव्यमा २०८४ सालको चुनाव वा त्यसभन्दा अगावै मध्यावधि निर्वाचनको सम्भावना, त्यस सम्बन्धमा तालमेलको नीति, सङ्घर्षका कार्यक्रम र विभिन्न कारणले पार्टी परित्याग गरेकालाई पुनः पार्टीमा प्रवेशलगायतका विषय पनि समेटिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“१. नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ । त्यसले देशको राजनीतिक स्थितिको मूल्याङ्कन गरेर तात्कालिक नीति र कार्यक्रमसम्बन्धी कतिपय निर्णय गर्नुका साथै सङ्गठनात्मक विषयमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ ।
२. पार्टीको २०८० सालको चैतको अन्त्यतिर सम्पन्न भएको महाधिवेशनपछिको त्यो केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक थियो । हाम्रो पार्टीले २०८० वैशाख १८ देखि २०८१ को वैशाख १९ गतेसम्म “ऐतिहासिक तीन अभियान” सञ्चालन गरेको थियो । त्यसको मुख्य उद्देश्य पार्टीमा क्रान्तिकारी रूपान्तरण गर्नु थियो । त्यही प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीको नवौँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो महाधिवेशन लगत्तै पछि भएको केन्द्रीय समितिको बैठक मुख्यतः तात्कालिक औपचारिक निर्णय गर्नुसम्म नै सीमित भएको थियो तर अहिलेको बैठकको मुख्य जिम्मेवारी “ऐतिहासिक तीन अभियान” को पृष्ठभूमि तथा नवौँ महाधिवेशनको निर्देशनमा पार्टीमा क्रान्तिकारी रूपान्तरणका लागि ठोस निर्णय गर्नु नै थियो । निश्चय नै एउटै केन्द्रीय समितिका निर्णयद्वारा पार्टीमा क्रान्तिकारी रूपान्तरणको उद्देश्य पूरा हुन सक्दैन । त्यही पनि अहिलेको बैठकले त्यसका लागि महत्त्वपूर्ण निर्णय गरेको छ र तिनीहरूद्वारा क्रान्तिकारी रूपान्तरणको दिशामा कमसेकम प्रारम्भिक आधार तयार भएको छ भन्ने हामीले आशा र विश्वास गरेका छौँ । बैठकले तत्कालीन राजनीतिक प्रस्ताव पारित गरेको छ । त्यसलाई बेग्लै प्रकाशित गरिने छ ।
३. केन्द्रीय समितिले नयाँ जनवादी क्रान्तिको लागि आधार र परिस्थिति तयार पार्नको लागि प्रयत्न गर्दै तत्कालका लागि मुख्य रूपले महान् जनआन्दोलनद्वारा प्राप्त उपलब्धिको रक्षा गर्न प्रतिगमनका विरुद्धको सङ्घर्ष तथा राष्ट्रियताको रक्षाका लागि साम्राज्यवाद विरुद्धको सङ्घर्षमा जोड दिने कार्यनीति बनाएको छ । त्यसका साथै सङ्घीयता विरुद्धको सङ्घर्षलाई पनि लगातार अगाडि बढाउने निर्णय गरेको छ ।
४. देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको छ । एकातिर, २०४६ सालपछि सत्तामा आएका राजनीतिक दलका गलत प्रकारको नीति र क्रियाकलाप तथा अर्कातिर, प्रतिगमनप्रतिको उनीहरूको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिका कारणले प्रतिगामी शक्तिलाई आफ्नो स्थिति मजबुत पार्ने अवसर प्राप्त भएको छ । त्यही कुरा एक वा अर्को प्रकारले साम्राज्यवादी शक्तिबारे पनि सत्य हो । पहिलेको भारतीय विस्तारवादले अब साम्राज्यवादको चरणमा प्रवेश गरेको छ । नेपालका धेरैजसो राजनीतिक शक्तिले भारतीय विस्तारवाद भएको कुरालाई पनि स्वीकार्दैनन् भने कतिपय वामपन्थी शक्तिले त्यसलाई विस्तारवादीको रूपमा स्वीकार गरे पनि अहिले त्यसले साम्राज्यवादी चरणमा प्रवेश गरेको वास्तविकतालाई स्वीकार गर्न सकेका छैनन् । देशका कैयौँ राजनीतिक शक्तिले आफ्नो सत्ता बचाउन वा प्राप्त गर्नको लागि भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउने गरेका छन् ।
५. अमेरिकी साम्राज्यवादको बढिरहेको खतराप्रति पनि नेकपा (मसाल) बाहेक देशका सबैजसो राजनीतिक शक्तिले स्पष्ट र दृढ नीति अपनाउन सकेका छैनन् । अमेरिकी साम्राज्यवादले एमसिसीलाई संसद्मा पारित गराउन तथा एसपिपीबारे सरकारसित सम्झौता गर्न ता सफल नै भएको छ यद्यपि सरकारले त्यो सम्झौतालाई कार्यान्वयन गर्न तयार नभएको कुरा अमेरिकालाई लेखेर पठाएको छ । अब अमेरिकाले नेपालको संसद् र सरकारलाई समेत आफ्नो प्रत्यक्ष प्रभुत्वमा ल्याउनको लागि योजनाबद्ध प्रकारले काम गरिरहेको छ र कथित स्वतन्त्र पार्टी त्यही योजनाको एउटा कडी हो । अमेरिकी दबाबको नै परिणाम थियो कि पहिले नेपालको नागरिकतासमेत नभएको व्यक्तिलाई नेपाल सरकारको उपप्रधानमन्त्री र गृहमन्त्री बनाइएको थियो । अहिले सहकारीको अरबौँ रुपैयाँ अपचलन गरेको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाइएको छ । त्यसको परिणामस्वरूप सरकारी हिनामिनाको छानबिन वा कारबाही गर्ने काममा पनि अवरोध पुगेको छ । त्यस प्रकारको गृहमन्त्रीको नेतृत्वमा काम गर्दा प्रशासन र पुलिसको समेत प्रतिष्ठामा धेरै नै आँच पुगेको छ ।
६. त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि ठुलो पैमानाको सहकारी रकमको हिनामिना गरेको व्यक्तिलाई गृहमन्त्री बनाउने काम मात्र गरिएको छैन, त्यस प्रकारका अपराधजन्य कामको लागि जिम्मेवार व्यक्तिको संरक्षणको लागि राज्यले आफ्नो पूरा शक्ति लगाएको छ । यो दुःखको कुरा हो कि अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी तथा षड्यन्त्रकारी भूमिकाका विरुद्ध देशका कुनै राजनीतिक शक्तिले स्पष्ट दृष्टिकोण अपनाउन सकेका छैनन् र नेकपा (मसाल) ले त्यो सङ्घर्षलाई अगाडि बढाउनु परिरहेको छ तर हामीलाई विश्वास छ : जनताले त्यो वास्तविकतालाई बुझ्दै जाने छन ्र देशमा अमेरिकी साम्राज्यवादका विरुद्ध शक्तिशाली आन्दोलन उठ्ने छ । यस सन्दर्भमा यो कुरा पनि स्पष्ट छ कि या त हामीले अमेरिकी साम्राज्यवादका विरुद्ध शक्तिशाली आन्दोलन उठाउनुपर्ने छ वा देशमा अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम हुने छ ।
७. सहकारीको अरबौँ रुपैयाँको अपचलन अहिले देशको गम्भीर राष्ट्रिय प्रश्न बनेको छ । सरकार, खास गरेर एमाले र माओवादी सहकारी अपचलनमा दोषी व्यक्तिको संरक्षण गर्नका लागि नाङ्गो प्रकारले लागेका छन् । त्यसरी उनीहरूको राजनीतिक चरित्रमा कहिल्यै नमेटिने गरी ठुलो दाग लागेको छ । यो अत्यन्तै दुःखको कुरा हो कि त्यसरी लाखौँ जनताको रकम हिनामिना गर्ने व्यक्ति वा त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने राजनीतिक सङ्गठनलाई अहिले पनि जनताको ठुलो समर्थन प्राप्त छ । उनीहरूले आगामी चुनावमा पुनः जनताबाट ठुलो सङ्ख्यामा मत प्राप्त गरेर सत्तामा आउने योजनाअन्तर्गत काम गरिरहेका छन् । त्यसकारण हामीले सहकारीसम्बन्धी अपचलन र राज्यद्वारा त्यसको संरक्षणका विरुद्ध जोडदार रूपले आवाज उठाउँदै त्यस प्रकारका तŒवका विरुद्ध जनचेतना उठाउन पनि प्रयत्न गर्नुपर्दछ ।
८. यस प्रसङ्गमा केही दिन पहिले प्रधानमन्त्री प्रचण्ड पोखरा गएको बेलामा सहकारीपीडितले उनका विरुद्ध प्रदर्शन गरेर उनलाई कालो झन्डा पनि देखाएका थिए । जनताको त्यो आक्रोश न्यायपूर्ण छ र हामीले त्यसलाई स्वागत गर्दछौँ तर त्यसरी आफूमाथि भएको अपचलनका विरुद्ध सडकमा उत्रिएका जनतामाथि प्रहरीले लाठिचार्ज गर्ने तथा कैयौँ प्रदर्शनकारीलाई गिरफ्तार गर्नेसमेत काम गरेका थिए । त्यस प्रकारको दमनको हाम्रो पार्टीले कडा शब्दमा भर्त्सना र विरोधसमेत गर्दछ । हामीले सरकारलाई यो चेतावनी दिन चाहन्छौँ कि यदि सहकारी रकमको अपचलन गर्ने व्यक्तिका विरुद्ध कारबाही गरिएन र सरकारले त्यस प्रकारको ठगीमा संलग्न व्यक्तिका विरुद्ध समयमा नै न्यायोचित कारबाही गरेन भने जनताको त्यो आक्रोशले अरू उग्र र व्यापक रूप लिँदै जाने कुरा निश्चित छ ।
९. २०८४ मा आगामी आम चुनाव हुने कुरा छ तर केपी शर्मा ओलीले त्योभन्दा पहिले नै संसद्लाई विघटन गराएर देशलाई मध्यावधि चुनावतिर लैजाने योजनाअन्तर्गत काम गरिरहेको देखिन्छ । जुनसुकै रूपमा चुनाव भए पनि हामीले आफूलाई चुनावका लागि तयार गर्दै लैजानुपर्दछ । त्यस विषयमा सबैभन्दा महत्त्वपूर्ण आवश्यकता यो हो कि हामीले सङ्गठनात्मक विस्तार र सुदृढीकरण तथा जनआधार निर्माणको लागि विशेष पहलकदमी गर्नुपर्दछ । द्वितीय, अहिलेको बदलिएको परिस्थितिमा गठबन्धन वा चुनावी तालमेलप्रति हामीले वस्तुपरक दृष्टिकोण अपनाउनुपर्दछ । प्रतिगमनको खतरा बढेको हुनाले अहिले पनि त्यसका विरुद्ध गठबन्धनको आवश्यकता छ भन्ने हाम्रो ठहर छ तर पहिले प्रतिगमनका विरुद्ध बनेको गठबन्धनमा समावेश भएका विभिन्न पक्षले गलत प्रकारको कार्यप्रणाली अपनाउने गरेको हुनाले आगामी चुनावको समयमा पनि गठबन्धन वा चुनावी तालमेलको सम्भावना अत्यन्त कम देखिएको छ । त्यो अवस्थामा हामीले एक्लै पनि चुनावमा जाने किसिमले तयारी गर्दै जानुपर्दछ यद्यपि स्थानीय स्तरमा कतै त्यस प्रकारको सम्भावना देखिएमा त्यसलाई सन्तुलित प्रकारले उपयोग गर्ने पनि हाम्रो नीति हुने छ ।
१०. एक्लै चुनावमा जाँदा हामीलाई बढी नोक्सान पुग्ने आशङ्का पनि कैयौँतिरबाट गर्ने गरिन्छ तर त्यसको एउटा सकारात्मक र महत्त्वपूर्ण पक्ष भएकोप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । एक्लै चुनावमा जाँदा हामीलाई पुग्ने सबैभन्दा महत्त्वपूर्ण राजनीतिक लाभ के हुने छ भने हाम्रो पक्षमा भएका सबै जनताको मत सुरक्षित हुने छ र हामीलाई राजनीतिक भण्डाफोरलाई पनि पूर्ण रूपले अगाडि बढाउन सक्ने अवसर प्राप्त हुने छ । त्यसरी त्यसबाट दीर्घकालमा जनताको चेतना उठाउन जनआधार निर्माण गर्न र सङ्गठनात्मक विस्तारसमेतका लागि हामीलाई महत्त्वपूर्ण मदत पुग्ने छ ।
११. हाम्रो पार्टीले विभिन्न वामपन्थी शक्तिसित मिलेर देश र राष्ट्रिय समस्याबारे संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिने गरेको छ तर अहिले वामपन्थी शक्तिमा देखा परेका वैचारिक भ्रामक सोचाइका कारणले उनीहरूसित मिलेर संयुक्त वामपन्थी आन्दोलन सञ्चालन गर्ने सम्भावना धेरै नै कम देखा परिरहेको छ । पहिले हामीले कैयौँ आन्दोलनमा वा विभिन्न चुनावमा पनि माओवादी र एमालेसित मिलेर काम गरेका थियौँ । कैयौँ पल्ट उनीहरूको नेतृत्वका सरकारलाई पनि समर्थन गरेका थियौँ तर एमालेले प्रतिगमन वा अधिनायकवादको बाटो समातेको हुनाले त्यससित त्यस प्रकारको कार्यगत एकता सम्भव हुन गएको छैन । भविष्यमा उसले सकारात्मक नीति अपनाएमा त्यस प्रकारको सम्भावनालाई पूरै अस्वीकार गर्न पनि सकिन्न । एमालेको नेतृत्वमा देखा परेको प्रतिगमनसमेतका विरुद्ध हामीले माओवादीसित कैयौँ पल्ट कार्यगत एकता गरेका थियौँ तर प्रथम– गत कालमा विभिन्न चुनावी तालमेलको बेलामा त्यसले कैयौँपटक अन्तर्घातको नीति अपनाएकाले तथा द्वितीय– प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदका लागि गठबन्धनमा हेराफेरी गर्ने नीति अपनाएको हुनाले र एमाले र एउटा साम्राज्यवादपरस्त सङ्गठनसित नै एकता गर्ने नीति अपनाएकाले तत्काल त्योसित पनि कार्यगत एकताको सम्भावना रहन गएको छैन ।
१२. सत्तामा नभएका अन्य कतिपय वामपन्थी शक्तिसित मिलेर गत कालमा हामीले कैयौँपटक संयुक्त आन्दोलन चलाएको लामो इतिहास छ तर अहिले उनीहरूसित पनि कार्यगत एकताको सम्भावना कम देखा पर्दै गइरहेको छ । प्रथमतः उनीहरूले रणनीतिक नारालाई नै तात्कालिक कार्यदिशाको रूपमा प्रस्तुत गर्ने गरेका छन् । त्यसले गर्दा तात्कालिक सङ्घर्षबारे उनीहरूको दृष्टिकोण सही हुन गएको छैन । द्वितीय– देशमा बढिरहेको प्रतिगमनको खतराप्रति उनीहरूको दृष्टिकोण सही नभएको मात्र होइन, त्यसले गर्दा राजावादीप्रति उनीहरूको दृष्टिकोण एक वा अर्को प्रकारले सम्झौतापरस्त हुँदै गरेको देखिन्छ । आफ्नो त्यस प्रकारको दृष्टिकोणका कारणले उनीहरू गणतन्त्रका विरुद्ध उभिन पुगेका छन् र उनीहरूको त्यस प्रकारको नीतिबाट प्रतिगमनलाई मदत पुग्ने गरेको छ । त्यसले गर्दा उनीहरूसँग हाम्रो कार्यगत एकताको सम्भावना पनि एकदम कम भएको छ तैपनि परस्परमा समझदारी हुन सकेका विषयमा उनीहरूसित कार्यगत एकता गर्न सकिने हाम्रो नीति कायम छ ।
१३. हाम्रो पार्टीले आठौँ महाधिवेशनपछि देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रम बनाएको थियो र तिनीहरूलाई प्रारम्भ पनि गरेको थियो तर कोरोनाको कारणले हामीले ती सबै कार्यक्रमलाई स्थगित गर्नुगरेको थियो । हाम्रो पार्टीको नवौँ महाधिवेशनले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रम सञ्चाल गर्ने निर्णय गरेको छ तर अहिले वर्षाको याम आउन थालेकाले तत्काल हामीले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रम बनाएका छैनौँ तैपनि सङ्घीयता र भ्रष्टाचारका विरुद्ध देशव्यापी रूपमा सङ्घर्षका कतिपय कार्यक्रम सञ्चालन गर्नुको साथै सहकार्यतासम्बन्धी समस्याबारे राष्ट्रिय रूपमा नै स्पष्ट धारणा बनाउनका लागि नै केन्द्रीय स्तरमा विचारगोष्ठीको आयोजना गर्ने निर्णय पनि गरिएको छ । त्यसबाहेक विभिन्न जिल्लामा आमसभा वा कोणसभा राख्ने निर्णय पनि गरिएको छ । त्यसका साथै आर्थिक रूपमा र कैयौँ सङ्गठनात्मक कार्यबारे पनि निर्णय गरिएको छ ।
१४. पहिले भ्रममा परेर फुटपरस्त तत्त्वका पछि लागेर गएका दाङका धेरै कामरेड पुनः मसालमा नै फर्केर आउनुभएको छ । हामीले उहाँहरूलाई अभिनन्दन गर्दछौँ । हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका थियौँ कि भ्रममा परेर पार्टीलाई छाडेर जाने कुनै पनि इमानदार साथीहरूप्रति हामीमा कुनै प्रकारको पूर्वाग्रह हुँदैन । पहिले पनि त्यसरी गएका कैयौँ साथीहरू फर्केर आएका र हामीले स्वागत गरेका थुप्रै उदाहरण छन् । केही दिनपहिले पनि त्यसरी भ्रमवश गएका साथीलाई फर्केर आउनको लागि आह्वान गरेर हामीले वक्तव्य दिएका थियौँ । अहिले पनि हामीले दाङका साथीहरूले जस्तै भ्रमवश पार्टी छोडेर गएका सबै साथीहरूलाई फर्केर आउन आफ्नो आह्वान दोहोर्याउँछौँ ।”