सिमलताल र सौर्य एयरका मृतकमाझ सरकारले भेदभाव गर्‍यो : सांसद राजेश

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सिमलताल बस दुर्घटना र सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकप्रति भेदभाव गरेको आरोप लगाउनुभएको छ ।

२०८१ साउन १५ गते मङ्गलबार राष्ट्रियभाको विशेष समयमा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘सौर्य एयरलाइन्सको दुर्घटना भएपछि मृतकको सम्मानमा सरकारले राष्ट्रको झन्डा आधा झुकायो; उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्‍यो’ उहाँले भन्नुभयो– ‘तर भुइँमा गुडेर हिँड्ने बसले बगाएर मृत्यु हुनेहरूले श्रद्धाञ्जली पाएनन्; उनीहरूको नाममा आधा झन्डा झुकाइएन ।’

राष्ट्र वा सरकार लागि सबै जनता एक समान भएको बताउँदै उहाँले ठोकुवा गर्नुभयो– ‘हाम्रो सरकारले सिमलताल र सौर्य एयरलाइन्सका मृतकमाझ भेदभाव गरेको छ । यो गलत भएको छ ।’

उहाँले सिमलताल, सौर्य एयरलाइन्स दुर्घटना तथा बाढीपहिरोबाट देशैभरि भइरहेको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको प्रसङ्ग उठाउनुभयो ।

‘हामीले भ्रष्टाचार, बेथितिका विरुद्ध छानबिन गरिरहेका कुरा गर्छौं’ उहाँले प्रश्न गर्नुभयो– ‘फेरि जिम्मेवार ठाउँमा बसेका व्यक्तिबाट यस्तो किन हुन्छ ?’

उहाँले उच्चपदस्थ व्यक्तिहरूबाट हुने यस प्रकारका गल्तीबाट जनताले सरकारमाथि नै विश्वास नगर्ने परिस्थिति निर्माण हुन थालेको बताउनुभयो ।

उहाँले जोड दिएर भन्नुभयो– ‘असम्बन्धित व्यक्तिहरूका लागि भिसा सिफारिससम्बन्धी उपसभामुख रानामगरको सिफारिसबारे तथ्य के हो ? यसबारे सरकाले सदनलाई जानकारी गराउनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार