प्रदेश संरचनौ फालौ, शिक्षा र स्वास्थ्य निशुल्क बनाऔं : केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता अन्तर्गतका प्रदेश संरचना पाल्ने खर्चले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने बताउनुभएको छ ।

बिहीबार अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

उहाँले सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरिरहेको उल्लेख गर्दै संविधान संशोधन मार्फत संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।

‘प्रदेश संरचना पाल्न वार्षिक ४ अर्ब रुपैयाँ राज्यकोषबाट खर्च हुने गरेको छ । त्यो रकमले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ’ केसीले भन्नुभयो, ‘हामीले यो सरकारलाई समर्थन गर्दैनौँ । तर संविधान संशोधनको कुराप्रति हाम्रो समर्थन छ । संविधान संशोधनमार्फत संघीयता खारेज गरे त्यसलाई हामी स्वागत गर्नेछौँ ।’

अध्यक्ष केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संघीयता खारेजीको कुरा उठाइरहेको उल्लेख गर्दै उसले राजतन्त्र पुनर्स्थापना गर्न संघीयता खारेजीको कुरा गरेको स्पष्ट पार्नुभयो । तर आफ्नो दलले गणतन्त्र सुदृढीकरण गर्न लगातार संघर्ष गरिरहेको स्मरण गर्नुभयो ।

केसीले आगामी चैत २४ गतेदेखि राजधानी केन्द्रित संघीयता खारेजीको आन्दोलन गर्न लागेको जानकारी दिँदै सो कार्याक्रम सफल पार्न आह्वान पनि गर्नुभयो ।

फरक प्रशंगमा अध्यक्ष केसीले नयाँ पुस्तालाई नेपालमा केही हुँदैन भनेर सानैदेखि सिकाइने गरिएको र विदेश जाने वातावरण बनाइरहेको भन्दै राष्ट्रियता जोगाउन युवाहरूलाई देशमै रोक्नुपर्ने बताउनुभयो ।

रास्वपा होइन, राजमो वैकल्पिक शक्ति : महासचिव भट्ट
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो महासचिव मनोज भट्टले जनताले विकल्प खोजिरहेको भन्दै संसदवादी दलहरूको विकल्पमा राष्ट्रिय जनमोर्चा वैकल्पिक शक्ति भएको स्पष्ट पार्नुभयो ।

उहाँले पुराना दलको लिकमा हिँड्ने रवि लामिछानेको पार्टी वैकल्पिक शक्ति हुन नसक्ने जिकीर गर्नुभयो ।

‘रास्वपा पुराना दलहरूको लिकमा हिँड्ने पार्टी हो, त्यो वैकल्पिक शक्ति हुन सक्दैन’ भट्टले भन्नुभयो, ‘संसदवादी दलको विकल्प राष्ट्रिय जनमोर्चा हो ।’

महासचिव भट्टले गणतन्त्र आएको १८ वर्षमा १९ वटा सरकार परिवर्तन भएको तथ्यांक पेश गर्दै कुनैपनि सरकारले महंगी, भ्रष्टाचार र बेरोजगारी अन्त्य गर्न पहल नगरेको बरु सत्ताकेन्द्रित राजनीति मात्रै गरेको आरोप लगाउनुभयो । सोही कारण जनतामा वितृष्णा र निराशा पैदा भएको उहाँको भनाई थियो ।

भट्टले गणतन्त्रका विकल्प राजतन्त्र नहुने र बहुदलीय व्यवस्थाको विकल्प निर्दलीय व्यवस्था पनि हुन नसक्ने स्पष्ट पार्दै नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने अवस्था नभएसम्म वर्तमानमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सन्धिखर्क नगरपालिकाका मेयर झविलाल थापा, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना, राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्ट, पाल्पाका अध्यक्ष विशाल दर्लामी, रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द थापा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण भुसाल, नेपाली एकता समाज दुवईका अध्यक्ष सुशील विक र नेपाली एकता समाज कतारका अध्यक्ष रामप्रसाद पराजुलीले पनि सम्बोधन गर्नुभएको थियो ।

राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर विसीको अध्यक्षता र राजमो अर्घाखाँचीका अध्यक्ष थमन केसीको सञ्चालनमा अघि बढेको जनसभामा जिल्ला उपाध्यक्ष गोपाल पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशीला गीत र नृत्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय जनमोर्चाले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन रानीगैरामा विशाल जनसभा आयोजना गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार