
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सहकारी ठगलाई संरक्षण गरेको बताउनुभएको छ । मन्त्रलयबाट कानुनी प्रक्रिया मिलाएर सहकारी ठगिएको अध्यक्ष केसीको दाबी छ ।
२०८१ कात्तिक २४ गते शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियानको दोस्रो राष्ट्रिय भेलामा बोल्दै सरकार र सत्तामा बस्नेको आडमा नै सहकारीको पैसा अपचलन भएको बताउनुभयो ।
उहाँले लुटेरा, बदमास र तस्करले राज्यसत्ताको आडमा मनोमानी गर्दा पनि कारबाही हुन नसक्नु नेपाल र नेपालीको लागि दुर्भाग्य हो भन्नुभयो ।
राम्रोसँग खोजी गरे एमाले, काङ्ग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीमा अझै सहकारी अपचलन गर्नेहरू भेटिने बताउँंदै सहकारी अपचलन गर्ने जोसुकैलाई पनि हदैसम्मको कारवाही गरी पीडित पक्षलाई न्याय दिनुपर्ने बताउनुभयो ।
एमाले, माओवादी, काङ्ग्रेसको राजनीति भनेको कमाउने राजनीति भएकाले उनीहरू ठुला र धेरै हुँदाहुंँदै पनि जनताबाट नाङ्गिँदै गएको बताउनुभयो ।
नयाँ बनेर आएका विदेशी एजेन्टले ठग्नमा पुराना एमाले र काङ्ग्रेसलाई जितेको बताउनुभयो ।
उहाँले आफू उपप्रधान तथा सहकारी मन्त्री हुँदा काठमाडौँका ठुला ठुला सहकारी ठगले सहकारीका साधारणसभा उद्घाटनका लागि निम्ता दिन आएको स्मरण गर्दै सहकारी ठग्ने मान्छेलाई राज्यसत्तामा बस्ने मान्छेले संरक्षण गर्ने गरेको थाहा पाएको बताउनुभयो ।
सहकारी मन्त्रलायमा सहकारी दर्ता गर्दा नै पैसा खाने गरेको आफुले भेटाएको बताउंँदै गलत मान्छेलाई कारबाहीका लागि २०४८ सालको सहकारी ऐन परिवर्तन गरेर नयाँ ऐन ल्याउने बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेको अध्यक्ष चित्रबहदुर केसीले खुलासा गर्नुभयो ।
एमाले, काङ्ग्रेस र माओवादीको गलत नीति र गलत व्यवहारका कारण राजनीतिप्रति जनताको वितृष्णा पैदा भएको बताउँदै ठुला भन्ने दलले राजनीतिलाई कमाइखाने भाँडो बनाएको आरोप लगाउनुभयो ।
उहाँले सङ्घीयताका कारण यो व्यवस्था भत्किन सक्ने बताउँदै हिजो गणतन्त्र ल्याउन लडेकाबाटै लोकतन्त्र, गणतन्त्र धरापमा परेको छ भन्नुभयो ।
सहकारीको माध्यमबाट समाजवादमा जान सकिने बताउँदै राष्ट्रिय पुँजीको विकासका लागि सहकारी सही ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सहकारीको दुई खर्बको पुँजी ठगी भएको र एक लाख बढी बचतकर्ताहरू सडकमा आएको बताउँदै सहकारीको पैसा विदेश लगेर व्यक्तिविशेषले मोजमस्ती गरेको बताउनुभयो ।
उहाँले सहकारीको पुँजी उत्पादन क्षेत्र र राष्ट्रिय पुँजीसँग जोड्नुपर्ने बताउँदै दलाल पुँजी हावी हुँदा समस्या आएको तर्क गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार नेता बद्रे आलम, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का केन्द्रीय सचिव अधिवक्ता चुरामणि भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, नेकपा (मसाल) रुपन्देही प्रवक्ता लालचन्द पन्त, अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय सदस्य रुकबहादुर पराजुलीका साथै हरि राहाडी, सहकारी अभियन्ता गङ्गालाल सापकोटा, दिलबहादुर नेपालीलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
अभियानका अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षता तथा महासचिव शुक्रराज भण्डारीको सञ्चालनमा सो कार्यक्रम भएको थियो ।














