पाँच दिनसम्म संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चा काठमाडौंमा जुट्यो

पाँचौं दिन :

प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन हुन नदिँदै सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन २०८१ चैत २८ गते बुढानीलकण्ठको साप्रेढुङ्गामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो आवश्यकतामा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो– ‘प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ, त्यसका लागि स्थानीयस्तरमा पुगेर काम गरौँ ।’

सङ्घीयता विरुद्ध आफूहरूले अन्तरिम संविधानमा संशोधन भएदेखि दुईओटै संविधानसभामा र हालसम्म सङ्घर्ष गरिरहेको उहाँले स्मरण गर्नुभयो ।

सांसदसमेत रहनुभएका केसीले सङ्घीयता विरुद्धको आन्दोलनलाई अझै उचाइमा उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘सङ्घीयता विरुद्धको आन्दोलनलाई जति उठाउनुपर्दथ्यो, त्यति हुन सकिरहेको छैन’ उहाँले भन्नुभयो– ‘सङ्घीयता विरुद्धको आन्दोलनलाई उचाइमा नउठाउने हो भने देश सिक्किम बन्न सक्छ ।’

पछिल्लो समयमा प्रतिगामी चलखेल तीव्र गतिमा बढेको बताउँदै उहाँले राजमोले गणतन्त्र र राष्ट्रियतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

‘सबै कुरा गौण हुन्, मुख्य कुरा राष्ट्र हो’ उहाँको भनाइ थियो ।

राजा हटाइएका विश्वका कैयौँ देशमा त्यसको पुनर्स्थापना भएको प्रसङ्ग उठाउँदै उहाँले नेपालमा पनि प्रतिगमनको खतरा यथावत् रहेको बताउनुभयो ।

आन्दोलनको क्रममा राजमोका कार्यकर्ताले देखाएको उच्च प्रकारको अनुशासनको उहाँले प्रशंसा गर्नुभयो ।

‘मसाल वा राजमोको अनुशासन देखेर विरोधीहरू लोभिन्छन्’ उहाँले भन्नुभयो– ‘दुस्मनलाई हराउन पहिला आफूभित्रको कमजोरीलाई हराउनुपर्दछ । आफै अनुशासित बन्नुपर्दछ । हाम्रा कार्यकर्ता अनुशासित छन् ।’

राजमोका कार्यकर्ताहरू एक महिनादेखि काठमाडौँमा खटेको देखेर विरोधीले जिब्रो टोकेको बताउँदै उहाँले भन्नुभयो– ‘अन्ततः सङ्घीयता खारेज हुन्छ ।’

आन्दोलनमा सफल पार्ने सबैलाई धन्यवाद : शर्मा

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी तथा यसलाई सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विभिन्न कारणले गत डेढ दशकदेखि सशक्त आन्दोलन सञ्चालन हुन नसकिरहेको बताउँदै उहाँले अहिले यस्तो आन्दोलन सफल भएकोमा हर्ष व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘गत डेढ वर्षदेखि उच्च प्रकारको आन्दोलन गर्न सम्भव भइरहेको थिएन तर अहिले सम्भव भएको छ ।’

आन्दोलन सफल पार्न करिब तीन दर्जन साथीहरू महिनादिनअघि काठमाडौँ आएर तयारी गरेको उहाँले स्मरण गर्नुभयो ।

‘चैत १५ गतेपछि परिस्थिति बदलियो । फेरि पनि साथीहरू अनुमान गरेभन्दा बढी सङ्ख्यामा आएर आन्दोलन सफल पार्नुभयो । त्यसका लागि सबैलाई धन्यवाद’ उहाँले भन्नुभयो ।

राजमो अनुशासन देखेर प्रशासन प्रभावित : बुढाथोकी

अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले राजमो कार्यकर्ताको अनुशासन देखेर काठमाडौँको प्रशासनसमेत प्रभावित भएको बताउनुभयो ।

‘काठमाडौँको प्रहरी र प्रशासन राजमो नेताकार्यकर्ताको अनुशासनबाट प्रभावित छ’ उहाँको भनाइ थियो ।

जनताले राजमोको नीति र अनुशासनको माझमा मेल खाएको देखेको उहाँको भनाइ हो ।

यस खालको अनुशासनलाई यथावत् राख्दै अगाडि बढ्नुपर्ने सन्दर्भमा उहाँको भनाइ थियो– ‘राजमोका नेताकार्यकर्ताले आवश्यकताअनुसार अझ उच्चस्तरको आन्दोलनको तयारीमा रहनुपर्दछ ।’

विषम परिस्थितिमा सङ्घीयता विरोधी आन्दोलन : प्राडा गौतम

समारोहमा मन्तव्य राख्दै अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले विषम परिस्थितिमा राजमोले यस खालको आन्दोलन गरेको अभिव्यक्ति दिनुभयो ।

राजनीतिक स्वतन्त्रता पाए पनि आर्थिक स्वतन्त्रता नपाउँदासम्म मुलुक स्वतन्त्र नहुने बताउँदै उहाँले सङ्घीयताले देशलाई आर्थिक रूपमा झन् परिनिर्भर बनाउने बताउनुभयो ।

‘व्यवस्था परिवर्तन वास्तविक क्रान्ति सम्पन्न भएपछि मात्रै हुन्छ’ उहाँले राजमोको लक्ष्यतर्फ इङ्गित गर्नुभयो ।

प्राडा गौतमले भन्नुभयो– ‘सङ्घीयता खारेजीको आन्दोलन अन्तिम लक्ष्यप्राप्तिको सहायक आन्दोलन हो । नयाँ जनवादी क्रान्ति रणनीतिक लक्ष्य हो ।’

आन्दोलनले सङ्घीयताबारे बहस चलायो : जिसी

नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले राजमोले चलाएको सङ्घीयता विरोधी आन्दोलनले नयाँ बहस जन्माएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘काठमाडौँकेन्द्रित आन्दोलनले सङ्घीयताबारे पुनः बहस सिर्जना गरेको छ’ उहाँको भनाइ थियो ।

यस्तो बहसलाई अझै अगाडि चलाउँदै जानुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सङ्घीयता खारेज नगर्ने हो भने देश विखण्डन हुन सक्ने बताउनुभयो ।

उहाँले यो आन्दोलनले संविधान संशोधनको सन्दर्भमा मदत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

मन्तव्यको क्रममा उहाँले गणतन्त्र र राष्ट्रियताको विषय महत्त्वपूर्ण रहेको बताउँदै त्यसका लागि पनि राजमोको सङ्घर्ष गौरवशाली रहेको बताउनुभयो ।

राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

कार्यक्रममा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, स्वयम्सेवकको तर्फबाट खगेश्वर सुनार, पूर्व सांसद हरि आचार्य, जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीको आतिथ्य रहेको थियो ।

त्यसैगरी, कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी, रक्तिम सांस्कृतिक अभियानमा अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष प्रेम पौडेल, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका उपाध्यक्ष पदम श्रेष्ठ, साउदी अरब नेपाली एकता समाजका हरिप्रसाद शर्मा, जापान नेपाली एकता समाजका कावा अध्यक्ष दण्ड केसी र राजमो ज्येष्ठ सदस्य कल्लु थारूको पनि आतिथ्य रहेको थियो ।

चैत २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रम काठमाडौँमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै दुई दिन घटाइएको थियो । आज शान्तिवाटिकामा गर्ने भनिएको कार्यक्रम मौसमसम्बन्धी प्रतिकूलताका कारण बुढानीलकण्ठक‍ो साप्रेढुङ्गामा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

चौथो दिन

देशको पहिचान मेटाउन सङ्घीयता ल्याइयो : पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशको पहिचान मेटाउन सङ्घीयता ल्याइएको दाबी गर्नुभएको छ ।

सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनको चौथो दिन २०८१ चैत २७ गते बुधबार भृकुटीमण्डपमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

‘हामी नेपाली, हाम्रो देश नेपाल—यो हो हाम्रो देशको पहिचान’ प्रमुख वक्तासमेत रहनुभएका नेतृ पौडलले भन्नुभयो– ‘म नेपाली, मेरो देशको पहिचान नेपाल हो भन्ने पहिचान मेट्नका लागि सङ्घीयता ल्याइएको हो ।’

नेपालको सन्दर्भमा कुनै पनि स्वरूपको सङ्घीयता अनावश्यक रहेको उहाँको तर्क थियो ।

आफूहरूको आन्दोलन राष्ट्र जोगाउने आन्दोलन भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘राष्ट्र जोगाउने यो आन्दोलनमा सबैले हातेमालो गरौँ ।’

उहाँले सङ्घीयता विरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘सङ्घीयता विरुद्धको आन्दोलनलाई अझै सशक्त बनाएर लैजानुपर्दछ’ उहाँले भन्नुभयो– ‘किनकि प्रतिगामीहरूले सङ्घीयता विरोधी आन्दोलनलाई गलत दिशा दिने प्रयास गर्दैछन् ।’

उहाँको इसारा सङ्घीयता विरोधी आन्दोलनलाई राजतन्त्रको पुनर्स्थापनासँग जोडेकोतर्फ थियो ।

गणतन्त्रको रक्षा आफूहरूको अहिलेको आन्दोलनको मुख्य विषय भएको बताउँदै उहाँले राजमोले गणतन्त्र र राष्ट्रियताको रक्षालाई महत्त्व दिएको बताउनुभयो ।

‘गणतन्त्र रगतसित साटेर ल्याएको व्यवस्था हो । यसलाई खोस्ने दुस्प्रयास नगरियोस्’ उहाँको भनाइ थियो ।

उहाँले गणतान्त्रिक व्यवस्थाभित्रको नेतृत्वको गलत नीतिका कारण समग्र गणतान्त्रिक व्यवस्थामाथि आँच पुगेको धारणा व्यक्त गर्नुभयो ।

‘गणतन्त्र आफैमा नराम्रो होइन, सही विचारको समर्थन गर्न तथा गलत विचारको विरोध गर्न पाइएको छ’ उहाँले भन्नुभयो– ‘गणतन्त्रमा मार्गनिर्देशन गर्न सक्ने सही नेता भएनन् । त्यसैले व्यवस्थाको विरुद्धमा असन्तोष फैलिएको हो ।’

गणतन्त्रकै कारण विरोध र खबरदारी गर्न पाइएको अवस्था रहेको ठोकुवा गर्दै उहाँले यसलाई गणतन्त्रको सकारात्मक र प्रगतिशील पक्ष भएका बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले गणतन्त्रमा प्राप्त अधिकार समाप्त पार्ने होइन, यसलाई संरक्षण गर्दै अरू थप अधिकार लिनका लागि हामी लामबद्ध हुनु आवश्यक छ ।’

गणतन्त्र र राष्ट्रियता सबैभन्दा बढी महत्त्वको विषय भएको बताउँदै उहाँले त्यससँगै सङ्घीयता पनि खारेज गर्नुपर्ने आवश्यकतामा उहाँको जोड थियो ।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयता खारेजीका लागि हामी जस्तोसुकै मूल्य पनि चुकाउन तयार छौँ’ नेतृ पौडेलको भनाइ थियो ।

प्रतिगामी प्रयत्न स्वाभाविक : रेग्मी

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले प्रत्येक राजनीतिक परिवर्तनपछि प्रतिगामी प्रयास यथावत् रहेको बताउनुभयो ।

‘विश्वको इतिहास हेर्ने हो भने हरेक आन्दोलननको विजयका बाबजुद प्रतिगामीले पुरानो सत्तास्थापनाका लागि हरसम्भव प्रयत्न गर्दछन्’ उहाँले भन्नुभयो ।

२००७ साल, २०३६ साल, २०४६ साल र २०६२–६३ सालका आन्दोलनमा सङ्घीयताको विषय नउठेको बताउँदै उहाँले अहिले प्रतिगामीले सङ्घीयतासँगै गणतन्त्रमाथि नै आक्रमण गरिएको बताउनुभयो ।

उहाँले गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेको छ : पुन

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेर गएको बताउनुभयो ।

‘राष्ट्रिय जनमोर्चाले २०६३ सालदेखि नै सङ्घीयताको विरोध गर्दै आइरहेको छ’ उहाँले भन्नुभयो– ‘अहिले राजनीतिक दलप्रतिको वितृष्णालाई गणतन्त्रप्रतिको वितृष्णाको रूपमा लिइरहेका छन् । यस सन्दर्भमा सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेर गएको छ ।’

गत कालमा सङ्घीयताका कारणले संविधानसभाको चार वर्ष खेर गएको स्मरण गर्दै उहाँले अगाडि भन्नुभयो– ‘अहिले सङ्घीयताकै कारण गणतन्त्रमा नेपाली जनताले के पाए ? त्यसबारे समीक्षा गर्न जरुरी छ ।

मन्तव्यको क्रममा उहाँले सङ्घीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनको आधारमा एकात्मक शासन नै उचित रहेको धारणा व्यक्त गर्नुभयो ।

सङ्घीयता सीमित व्यक्तिको स्वार्थपूर्ति गर्न : खनाल

कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले सङ्घीयता जनताको अधिकार स्थापना गर्न नभएर सीमित व्यक्तिको स्वार्थपूर्ति गर्नका लागि ल्याएको दाबी गर्नुभयो ।

‘तपाईं हामीले देखिरहेका छौ, गत विभिन्न जनआन्दोलनको एजेन्डा नभएर पनि कसरी सङ्घीयता देशमा स्वीकार गरियो ?’ उहाँले भन्नुभयो– ‘किनकि सङ्घीयता नेपाली जनतालाई अधिकारसम्पन्न गर्नका लागि नभएर सीमित व्यक्तिको स्वार्थपूर्तिका गर्नका लागि ल्याइएको हो ।’

उहाँले सङ्घीयता नेपाली जनता र देशलाई आर्थिक रूपमा बोझिलो बनाइरहेको स्मरण गर्नुभयो ।

‘पार्टीको दायराभन्दा माथि उठेर देश र जनताको पक्षबाट सोच्दै सङ्घीयता खारेज गर्नेबारे सबैले विचार गर्नुपर्दछ’ उहाँको भनाइ थियो ।

सङ्घीयता राष्ट्रिय अखण्डता विरुद्ध : आलम

तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले सङ्घीयता कार्यान्वयनमा गइरहँदा राष्ट्रिय अखण्डता कमजोर भइरहेको बताउनुभयो ।
‘सङ्घीयताको कार्यान्वयन हुँदै गर्दा देशको राष्ट्रिय अखण्डता कमजोर भएको छ’ उहाँले भन्नुभयो– ‘त्यसैले हामीले सङ्घीयता विरुद्धको आन्दोलन अगाडि बढाएका हौँ ।’

मन्तव्यको क्रममा उहाँले सङ्घीयता विरुद्धको आन्दोलन विशुद्ध राजमोको नभएर सम्पूर्ण देशभक्त जनताको आन्दोलन भएको धारणासमेत व्यक्त गर्नुभयो ।

वर्तमान व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने स्वीकार गर्दै उहाँले यही कारणले गणतन्त्र सङ्कटमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो–’तर त्यसको विकल्प राजतन्त्र होइन, योभन्दा उन्नत गणतन्त्र हो ।’

सङ्घीयता कोमामा गइसक्यो : अधिवक्ता रोका

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले सङ्घीयतालाई कोमामा पुगेको बिरामीसित तुलना गर्नुभयो ।

‘सङ्घीयता कोमामा गइसकेको छ’ उहाँले भन्नुभयो– ‘अहिले सङ्घीयतालाई बचाउनु भनेको कोमामा पुगेको बिरामीलाई साधारण अवस्थामा फर्काउनुजस्तै हो ।’

नेपालमा देशभक्तिपूर्ण जनमतलाई छिन्नभिन्न पार्नकै लागि भारत र पश्चिमा देशले सङ्घीयता लादेको तर्क राख्दै उहाँले सङ्घीयताले नेपाली जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो– ‘यदि सङ्घीयता यथावत् रहन्छ भने नयाँ पिँढीमा राष्ट्रभक्ति वा देशभक्ति पूर्ण भावना हस्तान्तरण हुने छैन ।’

छिटोभन्दा छिटो सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले त्यो आन्दोलनको नेतृत्व राजमोले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष जनकराज शर्मा, महासचिव मनोज भट्ट, केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतम र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव खुम रायमाझीको आतिथ्य रहेको थियो ।

राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षता तथा राजमो नेता बासु पोखरेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले ‘किन चाहियो सङ्घीयता’, ‘फूल फुल्नेछ’ र ‘  फूल फुल्छ कोपिला बनेर’ शीर्षकमा गीतसङ्गीत नृत्य प्रस्तुत गरेको थियो भने प्रगतिवादी साहित्यकार रामप्रसाद गैरेले गजल वाचन गर्नुभएको थियो ।

सभाअघि बसुन्धरा र साप्रेढुङ्गाबाट धुम्बाराही आएका हजारौँ प्रदर्शनकारीले जुलुस प्रदर्शन गरेका थिए । जुलुस धुम्बाराही चोकबाट विशालनगर, भाटभटेनी, नक्साल, चारखाल, डिल्लीबजार, पुतलीसडक, प्रदर्शनमार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

तेश्रो दिन

संघीयताको जननी लैनचौरको भारतीय दूतावास हो : महासचिव भट्ट

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालमा संघीयताको जननी भारतीय दूतावास भएको बताउनुभएको छ ।

मंगलबार (चैत २६ गते) माइतीघर मण्डलामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव भट्टले नेपालका कुनै पनि दल संघीयताका जननी नभएको जिकीर गर्नुभयो ।

माओवादी र मधेशवादी दलहरूले आफूहरूले संघीयता ल्याएको भनेपनि संघीयता भारतले बोकाएको एजेन्डा भएको भट्टको भनाई थियो।

‘नेपालमा संघीयताको जननी लैनचौरको भारतीय दूतावास हो । लैनचौरको भारतीय दूतावासमा बसेर मधेश आन्दोलनको योजना बन्यो । २०६३ को माघ २ देखि १८ सम्म मधेशमा आन्दोलन चल्यो । त्यही आन्दोलनको दबाबमा अन्तरिम संविधानमा संघीयता घुसाइयो’ भट्टले प्रश्न गर्नुभयो, ‘अब भन्नुहोस्, संघीयताको जननी प्रचण्ड हो कि लैनचौरको भारतीय दूतावास ?’

उहाँले सातवटा प्रदेशमा २६ हजार कर्मचारी आवश्यक पर्नेमा अहिले १३ हजार कर्मचारी मात्रै भर्ना हुँदासमेत करको भारले जनतालाई थिचेको उल्लेख गर्नुभयो ।

बागमतीमा ६ अर्ब आम्दानी हुँदा २६ अर्ब प्रशासनिक खर्च भएको उदाहरण प्रस्तुत गर्दै भट्टले संघीयताले देशलाई टाट पल्टाउने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन थालेको हो ।

आज माइतीघरमा शभा सुरु हुनुअघि जाउलाखेलबाट जुलुश प्रदर्शन गरिएको थियो । जुलुशमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा, तथा राष्ट्रियता रक्षाका लागि चर्का नाराबाजी गरियो ।

सभामा जर्मन कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित विभिन्न जनवर्गीय संगठनका नेताहरूले आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गनुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशलिो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

राजमोको आन्दोलनप्रति जर्मन एमएलपीडीको ऐक्यवद्धता : नेपालमा लादिएको संघीयता भारतको हितमा छ

राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सञ्चालन गरेको संघीयताविरुद्धको आन्दोलनप्रति जर्मन कम्युनिष्ट पार्टी (एमलपीडी) ले ऐक्यवद्धता जनाएको छ ।

मंगलबार माइतीघर मण्डलामा राजमोले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमएलपीडीका प्रतिनिधि अल्वर्ट स्मिथले आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको हो ।

अल्बर्टले नेपालमा लादिएको संघीयता भारतको हितमा रहेको उल्लेख गर्नुभयो ।

सभामा अल्बर्टले भन्नुभयो, ‘भारत र चीन जस्ता नयाँ साम्राज्यवादी शक्तिहरूले पनि नेपालमाथि नियन्त्रण र शोषण गर्न चाहिरहेका छन्। जातीय आधारमा लादिएको संघीयता भारतको रणनीतिक हितमा छ, विशेष गरी तराई क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न।’

उहाँले ट्रम्पको सत्तामा पुनः आगमनसँगै दोस्रो विश्वयुद्धपछिको पूरै व्यवस्था हल्लिएको बताउनुभयो ।

यस्तै, अल्बर्टले नेपालमा युएसएआईडीका धेरै परियोजना रोकिँदा र नेपाली नागरिकहरूलाई अमेरिकाबाट जबर्जस्ती निष्कासन गरिँदा नेपाल प्रत्यक्ष रूपमा साम्राज्यवादी नीतिको चपेटामा परेको उल्लेख गर्नुभयो । यस्ता परियोजनाको रोकावटले धेरै देशहरूमा विशेष गरी महिला र बालबालिकाको मृत्यु बढाउने भन्दै उहाँले यसका विरुद्ध ऐक्यबद्धताको आधारमा सहयोग र आत्मनिर्भर सहायता अभियान सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन गरिरहेको छ।

यसक्रममा आज (मंगलबार) माइतीघर मण्डलामा सभाको आयोजना गरेको हो। सभामा जनमोर्चाका महासचिव मनोज भट्टलगायतका नेताहरूले सम्बोधन गर्नुभयो ।
सभाअघि जाउलाखेलबाट जुलुश प्रदर्शन गरिएको थियो।

राजमोले संघीयताको खारेजीसँगै गणतन्त्र र राष्ट्रियताको रक्षामा जोड दिएको छ।

यस्तो छ अल्बर्टको मन्तव्य

नेकपा मशाल, नेपाल
२०८१ चैत १९ गते (२०२५ अप्रिल १)

प्रिय कमरेडहरू,
पार्टी अध्यक्ष कामरेड गाबी फेक्टनर, हाम्रो अन्तर्राष्ट्रिय विभागकी प्रमुख मोनिका गार्टनर–एङ्गेल, जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी (एमएलपीडी), हाम्रो युवा संगठन रिबेल तथा बालबालिकाको संगठन रेड फक्सको तर्फबाट तपाईंहरूलाई न्यानो क्रान्तिकारी।

संघीयता विरुद्ध तपाईंहरूले सञ्चालन गर्दै आउनु भएको अभियानमा केही दिन सहभागी हुन पाउनु मेरो लागि गौरवको विषय हो। यस ऐतिहासिक आन्दोलनमा तपाईंहरू मध्ये धेरै कमरेडहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउनु पनि अत्यन्त महत्वपूर्ण अवसर हो।

आजको विश्व परिस्थिति गम्भीर मोडमा पुगेको छ। यो अवस्थामा विश्वयुद्धको जोखिम तीव्र भएको छ। ट्रम्पको सत्तामा पुनः आगमनसँगै दोस्रो विश्वयुद्धपछिको पूरै व्यवस्था हल्लिएको छ। सबैभन्दा शक्तिशाली साम्राज्यवादीहरू—विशेषतः अमेरिकामा ट्रम्पको नेतृत्वमा—फासिवादी आधारमा आफ्नो स्वार्थ पूरा गर्न, मुनाफा सुरक्षित गर्न र सम्पूर्ण विश्वलाई अधीनमा राख्न प्रयत्नरत छन्।

स्वतन्त्र राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै उनीहरूले उपनिवेशवादी प्रवृत्तिलाई फेरि पुनर्जीवित गरिरहेका छन्। नेपालमा युएसएआईडीका धेरै परियोजना रोकिँदा र नेपाली नागरिकहरूलाई अमेरिकाबाट जबर्जस्ती निष्कासन गरिँदा तपाईंहरू प्रत्यक्ष रूपमा यस साम्राज्यवादी नीतिको चपेटामा पर्नुभएको छ। यस्ता परियोजनाको रोकावटले धेरै देशहरूमा विशेष गरी महिला र बालबालिकाको मृत्यु बढाउने निश्चित छ। यसका विरुद्ध हामीले ऐक्यबद्धताको आधारमा सहयोग र आत्मनिर्भर सहायता अभियान सञ्चालन गर्नु आवश्यक छ।

भारत र चीन जस्ता नयाँ साम्राज्यवादी शक्तिहरूले पनि नेपालमाथि नियन्त्रण र शोषण गर्न चाहिरहेका छन्। जातीय आधारमा लादिएको संघीयता भारतको रणनीतिक हितमा छ, विशेष गरी तराई क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न।

तपाईंहरूको संघीयता विरोधी अभियान स्पष्ट रूपमा देखाउँछ कि तपाईंहरू डराइरहनु भएको छैन, बरु यो साम्राज्यवादी नीतिको विरुद्ध साहसका साथ संघर्षरत हुनुहुन्छ।

विश्वव्यापी रूपमा पनि क्रान्तिकारीहरू उत्पीडित र शोषित जनतासँग मिलेर अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिको पक्षमा लडिरहेका छन्।

संघीय प्रणाली विरुद्ध तपाईंहरूको आन्दोलनलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। तपाईंहरूले जुन एकीकृत प्रणाली—लोकतान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वशासनमा आधारित—स्थापना गर्न चाहनुहुन्छ, त्यो साम्राज्यवाद विरुद्धको संघर्षमा महत्वपूर्ण योगदान हो।

हामी तपाईंहरूसँगको दीर्घकालीन र विश्वासिलो सहकार्यको लागि आभारी छौँ। आईसीओआरमार्फत हामीले एउटा बलियो गठबन्धन निर्माण गरेका छौँ, जसले गहिरो अनुभवहरुको आदानप्रदान र व्यावहारिक ऐक्यबद्धताको सुनिश्चितता गरेको छ।

क्रान्तिकारी अभिवादनसहित,
अल्वर्ट स्मिथ
मार्क्सवादी–लेनिनवादी पार्टी अफ जर्मनी (एमएलपीडी)

संघीयताविरुद्ध आन्दोलनमा ऐक्यवद्धता जनाउनेमा अन्य दलका कार्यकर्तादेखि विदेशीसम्म

राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सञ्चालन गरिरहेको संघीयताविरुद्धको आन्दोलनमा विभिन्न दलका कार्यकर्ता तथा भाइचार पार्टीहरूबाट ऐक्यबद्धता जनाउने क्रम बढेको छ ।

अन्य दलका कतिपय कार्यकर्ता तथा विगतमा राजमोको सदस्य भएर पार्टी परित्याग गरेका व्यक्तिहरूसमेत कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन सभास्थलमा आइरहेका अखिल (छैठौं) का अध्यक्ष सुभास जिसीले बताउनुभयो ।

‘विगतमा हाम्रो पार्टीमा रहेर पार्टी परित्याग गरेका पुराना साथीहरूदेखि अन्य पार्टीमा रहेका संघीयता विरोधी कार्यकर्ता हाम्रो आन्दोलनस्थलमै आएर ऐक्यवद्धता जनाइरहनुभएको छ’ जिसीले भन्नुभयो, ‘यो मुद्दा हाम्रो मात्रै होइन, आम जनताको मुद्दा भएकाले यसप्रति समर्थन बढ्दै गएको पाएका छौँ ।’

अध्यक्ष जिसीका अनुसार मंगलबार माइतीघर मण्डलामा आयोजित सभामा पनि विभिन्न पार्टीमा आवद्ध कार्यकर्ता तथा राजमोका पूर्वसदस्यहरू आएर आन्दोलनप्रति समर्थन जाहेर गरेका छन् ।

मंगलबार नै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) का प्रतिनिधि अल्बर्ट स्मिथले सम्बोधन गर्दै एमएलपीडीको तर्फबाट आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा स्मिथले भन्नुभयो, ‘तपाईंहरूको संघीयता विरोधी अभियान स्पष्ट रूपमा देखाउँछ कि तपाईंहरू डराइरहनु भएको छैन, बरु यो साम्राज्यवादी नीतिको विरुद्ध साहसका साथ संघर्षरत हुनुहुन्छ।’

राजमोले चैत २६ गते ललितपुरको जाउलाखेलबाट जुलुश प्रदर्शन गरी माइतीघरमा आएर जनसभा गरेको हो ।

सो सभामा राजमो महासचिव मनोज भट्ट, नेताहरू अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष प्रेम पौडेल, राजमो केन्द्रीय सदस्य डम्बर पुरी, लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो सुर्खेतका नेता पूर्ण शाही, राजमो बागलुङका अध्यक्ष तिलक थापालगायत वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।

राजमो केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्वसचिव कृष्ण अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न प्रस्तुती दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, दुर्गा पौडल, सल्लाहकार आनन्दराज शर्मा, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय सभा सदस्य तथा जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्माको पनि आतिथ्यता रहेको थियो ।

आन्दोलनस्थलमा सरसफाइ
यसैबीच राजमो स्वयंसेवकहरूले आन्दोलनको कार्यक्रमपछि नगर सफा राख्न सरसफाइ अभियान पनि सञ्चालन गरेका छन्। कार्यक्रमपश्चात आन्दोलन स्थलमा उनीहरूले सरसफाइ गरेका हुन्।

राष्ट्रिय जनमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले आन्दोलनपछि सहभागीहरूको सहयोगमा सफाइ गरेको जानकारी दिनुभयो ।

राजमोले चैत २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने तय भएपनि बढ्दो प्रदूषणका कारण कार्यक्रम दुई दिन छोट्याएको छ।

दोश्रो दिन

काठमाडौँका सडकमा लागे नारा ‘संघीयता धोका हो, षडयन्त्रको पोका हो’

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको साताब्यापी राजधानी केन्द्रित आन्दोलनअन्तर्गत दोस्रो दिन आज (चैत २५ गते) काठमाडौँमा जुलुश प्रदर्शन भएको छ ।

कपनस्थित राजमो केन्द्रीय कार्यालय क्षेत्रबाट निस्केको जुलुश र बसुन्धराबाट निस्केको जुलुश सुकेधारामा मिसिएपछि चाबहिल प्रस्थान गरेको छ ।

राजमोका झण्डा, ब्यानरसहित जुलुशमा सहभागीहरूले ‘संघीयता खारेज गर, संघीयता धोका हो षडयन्त्रको पोका हो, विकास गर्ने मन भए एउटै सरकार काफी छ, हिमाल पहाड तराई कोही छैन पराई, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारको अन्त्य गरौँ, राष्ट्रियताको रक्षा गरौँ, प्रतिगमन खबरदार, राष्ट्रिय जनमोर्चा जिन्दावाद, नेकपा मसाल जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

जुलुश निलोपुल, मिलनचोक, गोपीकृष्ण सिनेमा, चुच्चेपाटी, बौद्ध हुँदै चाबहिल पुग्नेछ । चाबहिलमा केहिबेरमा सभाको कार्यक्रम छ ।

सभामा राजमो तथा विभिन्न जनवर्गीय संगठनका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सङ्घीयता रहे मुलुक कालोसूचीमा पर्न सक्छ : खत्री

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले सङ्घीयता रहे मुलुक कालोसूचीमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको दोस्रो दिन २०८१ चैत २५ गते सोमबार चाबहिलमा सम्पन्न विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

‘एक न एक दिन हामीले सङ्घीयतालाई नेपालबाट बिदा गर्नेछौँ’ उहाँले भन्नुभयो–‘जबसम्म सङ्घीयता देशमा रहन्छ, तबसम्म यही कारणले देश कालोसूचीमा पर्न सक्दछ ।’

सम्बोधनको क्रममा उहाँले सङ्घीयता सत्रौँ शताब्दीको शासन प्रणाली रहेको बताउँदै यो प्रणाली नेपालमा मेल नखाने बताउनुभयो ।

‘सङ्घीयताका पक्षधर भनिरहेका छन्, सङ्घीयता सुनको लौरो हो, जसलाई घुमाउँदासाथ सबै कुरा ठिक हुन्छ तर त्यो सत्य होइन’ उहाँको भनाइ थियो ।

देशमा युवाविद्यार्थीको विदेश पलायनले मलामी बोक्ने मान्छे नरहेको स्मरण गर्दै उहाँले अर्कोतर्फ सरकारले जनतामाथि कर थोपर्ने काम गरिहेको बताउनुभयो ।

‘एकातिर गाउँमा लास बोक्ने मलामी पाउन गाह्रो छ’ उहाँले भन्नुभयो–‘अर्कोतिर, जनतामाथि कर थोपरिँदै गर्दा देशको विकास खर्च घटिरहेको छ । यसरी हामीले तिरेको करको सदुपयोग भइरहेको छैन ।’

उहाँले सङ्घीयता फाल्न नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘नेपाली जनताले सङ्घीयता लागु गर्ने सरकारलाई ठेगान लगाउँनैपर्छ नत्र सङ्घीयताका कारण देश टुक्रिन्छ ।’

उहाँले सङ्घीयता फ्याक्नका लागि एकजुट हुन आम जनतासित अपिल गर्नुभयो ।

सङ्घीयता विरुद्धका कुरा भुइँमान्छेले सुन्दैछन् : अधिकारी

जनसभालाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्र्रीय सदस्य कृष्ण अधिकारीले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको कारण काठमाडौँका भुइँमान्छेले सङ्घीयताका कुरा सुन्न पाइरहेको बताउनुभयो ।

‘काठमाडौँ तीन हप्तापहिलेदेखि सङ्घीयता विरोधी आन्दोलनमा छ’ उहाँले भन्नुभयो–‘अहिले काठमाडौँका भुइँमान्छेले सङ्घीयता विरोधको कुरा सुनिरहेका छन् ।’

अहिलेको सरकार बहिरोजस्तो भएको बताउँदै उहाँले शिक्षकहरूले चैत २० गतेदेखि आम हडताल गरिरहँदा नसुनेको बताउनुभयो ।
‘एकातिर बहिरो सरकारले शिक्षकको आन्दोलन सुनिरहेको छैन’ उहाँले भन्नुभयो–‘अर्कोतिर, लाइफलाइन मानिएको बुटवल–नारायणगढको अवस्था नाजुक छ । यस्ता धेरै जटिल समस्या राष्ट्रमा छन् ।’

उहाँले गणतान्त्रिक सरकारको विरुद्ध पुनरुत्थानवादीद्वारा सडक र सङ्घर्षबाट हमला भइरहेको बताउनुभयो ।

सङ्घीयताका कारण देश झन् कमजोर बन्दै : विश्वकर्मा

सभालाई सम्बोधन गर्दै जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले सङ्घीयताका कारण देश झन्पछि झन् कमजोर बन्दै गइरहेको बताउनुभयो ।

‘सङ्घीयताका कारण देश झन्पछि झन् कमजोर बन्दै गइरहेको छ । भ्रष्टाचार मौलाइरहेको छ’ उहाँले भन्नुभयो–‘विदेशीसित ऋण लिएर सङ्घीयता धानिरहेको अवस्था नेपालको छ ।’

उहाँले सङ्घीयता देशका लागि सही व्यवस्था नभएको स्पष्ट पार्दै आफूहरूले सङ्घीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहितको एकात्मक व्यवस्था कायम गर्न चाहेको बताउनुभयो ।

उहाँले राजतन्त्रलाई फर्काउन खोज्नु भनेको मरिसकेको सिनुलाई ब्युताउँनुजस्तै भएको बताउनुभयो ।

सङ्घीयताले ढुकुटी रित्याउँदैछ : पण्डित

राजमो केन्द्र्रीय सदस्य पद्मा पण्डितले सङ्घीयताका कारण देशको ढुकुटी रित्याइरहेको बताउनुभयो ।

उहाँले देशको सम्पूर्ण ढुकुटी सङ्घीयताका लागि खर्च भइरहेको बताउँदै त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

राजमोनेतृ पण्डितले सङ्घीयता खारेज नगरे देश टुक्रा टुक्रा हुन सक्नेतर्फ सचेत गराउनुभयो ।

कार्यक्रममा नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, राजमो कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट र केन्द्रीय सल्लाहकार आनन्द शर्माको आतिथ्य रहेको थियो ।

राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा विशाल दर्लामीले ‘सङ्घीयताको अभिशाप’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले ‘छेकिन्न पाइला हाम्रो’ गीत तथा ‘देश जान थाल्यो’ र ‘उस्तै छ हामीलाई पिरलो’ शीर्षकका गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

भव्य जुलुस सम्पन्न

कार्यक्रमपूर्व बसुन्धरा र साप्रेढुङ्गाबाट बेग्लाबेग्लै जुलुस प्रदर्शन गरिएको थियो ।

बसुन्धराको जुलुस चक्रपथ, धुम्बाराही हुँदै सुकेधारा आइपुगेको थियो भने साप्रेढुङ्गाबट निस्केको जुलुस बालुवाखानी, कपन ज्योतिनगर हुँदै सुकेधारा आइपुगेको थियो ।

सुकेधारामा एकीकृत जुलुस निलोपुल, भण्डारी गार्मेन्ट, भृकुटीचोक, सरस्वतीनगर हुँदै चाबहिलमा पुगेर सभामा जुलुसमा परिणत भएको थियो ।

     

पहिलो दिन:

राष्ट्रिय जनमोर्चाले काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सुरु गरेको छ । आइतबार (चैत २४ गते) राजधानीको शान्तिबाटिमामा जनसभा गरी संघीयता खारेजीका लागि अभियान थालेको हो ।

साताब्यापी संघीयताविरुद्ध आन्दोलन कार्यक्रमको सुरुवात गर्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शासकको कानमा पुग्नेगरी संघीयताविरुद्ध आवाज बुलन्द गर्न आफूहरूले राजधानी केन्द्रित आन्दोलन थालेको बताउनुभयो ।

उहाँले अन्तरिम संविधानबाट जबर्जस्ती संघीयता लादिएको उल्लेख गर्दै गएको १५/१६ वर्षमा जनतामा धेरै नै जागरण आएको स्पष्ट पार्नुभयो ।

‘संघीयता ठीक छैन भन्ने कुरा शासकका कानमा पुर्याउन हामीले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौँ’ केसीले भन्नुभयो, ‘सुरुमा संघीयता जनताको अधिकारका लागि हो भनेर भ्रम दिन सफल भएपनि यो १५/१६ वर्षको अवधिमा जनतामा धेरै नै भ्रम साफ भएको छ ।’

उहाँले पञ्चायत फाल्न ३० वर्ष लागेको, राजतन्त्र विरुद्ध कैयौँ वर्ष संघर्ष गरेर मात्रै राजतन्त्र समाप्त भएको उल्लेख गर्दै संघीयता पनि यही आन्दोलनले खारेज नगरेपनि यो सुरुवात भएको बताउनुभयो ।

‘सतीप्रथा एकैपटक हटेको हो ?’ केसीले प्रश्न गर्नुभयो, ‘पञ्चायत फाल्न ३० वर्ष संघर्ष गर्नुपर्यो । राजतन्त्र फाल्न कत्रो संघर्ष भयो । त्यसकारण संघीयता आजै जान्छ भन्ने होइन । यो त सुरुवात हो । अब जनताले नै यसलाई खारेज गर्छन् ।’

अध्यक्ष केसील देशले संघीयता खारेज नगरे संघीयताले देशै खारेज गर्ने दोहोर्याउनुभयो ।

उहाँले संघीयता नेपाललाई खारेज गर्न भारतीय साम्राज्यवादीलाई चाहिएको दाबी गर्दै त्यसको प्रतिनिधित्व नेपालमा तराईका जमिन्दारहरूले गरेको आरोप पनि लगाउनुभयो ।

‘तराईलाई एक मधेश एक प्रदेश बनाएर हिमाल र पहाडबाट अलग गर्ने र आत्मनिर्णयको अधिकार दिएर छुट्टिन पाउने व्यवस्थाका लागि संघीयता चाहिएको हो’ केसीले भन्नुभयो, ‘भारतीय साम्राज्यवादले नेपाललाई नै खारेज गर्न संघीयता बोकायो, तराईका जमिन्दारले यहाँ ल्याए, राजनीतिक दलहरूले दबाब थेग्न सकेनन् र त्यसलाई स्वीकार गरे ।’

उहाँले संबिधान सभाको अधिकार खोसेर अन्तरिम संविधानमा जबर्जस्ती संघीयता घुसाइएको बताउनुभयो ।

भारतका शासकको उद्धेश्य काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग अलग गरेर कब्जा गर्ने रहेको र युरोपियन युनियनले नेपालमा जातीय राज्य बनाएर विध्वंश मच्चाउन लगानी गरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले सत्तामा बसेका राजनीतिक दलहरूले गरेका भ्रष्टाचार र कुशासनका कारण राजावादीहरू फेरि सल्बलाएको आरोप पनि लगाउनुभयो । जनताले संघर्ष गरेर रछ्यानमा मिल्काएको राजतन्त्रलाई कुनै पनि बहानामा टाउको नउठाउन पनि उहाँले चेतावनी दिनुभयो ।
उहाँले भारतीय र अमेरिकी साम्राज्यवादीको हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता जाहेर गर्नुभयो ।

राष्ट्रियता र गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने, प्रदेश संरचनामा जाने दुई खर्ब रुपैयाँ शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने केसीको भनाई थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो ।

राजमो उपाध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मनोज भट्टले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेताहरूले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

आन्दोलनमा सहभागी हुन विभिन्न जिल्ला तथा प्रवासबाट समेत राजमोका नेता कार्यकर्ताहरू राजधानी आएका छन् ।

 कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल युवक संघका अध्यक्ष गाणेश अधिकारी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सवास जीसी, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाले संघीयताविरुद्ध ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।

यस्तै, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, रक्ति सांस्कृतिक अभियानका अध्यक्ष गिरी बुढा, अखिल नेपाल बुद्विजीवि संघका अध्यक्ष प्राडा श्रीधर गौतम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष पे्रम पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्मा लगायतले बोल्दै संघीयताविरुद्वको आन्दोलनप्रति एक्येवद्वता जानाउंदै संघीयता खारेज नहुंदासम्म आन्दोलन जारी राख्नु पर्नेमा जोड दिनुभयो ।

चैत ३० गते हुने आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि सोमबार बसुन्धरा र कपनस्थित पार्टी कार्यालय नजिकबाट जुलुश निकालि सुकेधारामा मिसिएर चाबहिलमा सभा गर्ने कार्यक्रम छ ।

भ्रष्टाचार, जातिवाद र क्षेत्रीय विखण्डन सङ्घीयताको दुष्परिणाम : पुरी

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भ्रष्टाचार, जातिवाद र क्षेत्रीय विखण्डन नेपालमा सङ्घीयताको दुष्परिणाम भएको विश्लेषण अगाडि सार्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाको सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

२०८१ चैत २४ गते आइतबार शान्तिवाटिकामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो–‘भ्रष्टाचार, जातिवाद र क्षेत्रीय विखण्डन नै नेपालमा सङ्घीयताले ल्याएको गम्भीर दुष्परिणाम हो ।’

उहाँले सङ्घीयता पक्षधरतिर इङ्गित गर्दै सङ्घीयता विरोधी आन्दोलन नचलोस् भन्नका लागि सङ्घीयता परित्याग गर्न सुझाव दिनुभयो ।

‘काङ्ग्रेस, एमाले, माओवादीका साथीहरूले यदि सङ्घीयता विरोधी आन्दोलन नचलोस् भन्ने चाहनुहुन्छ भने सङ्घीयता परित्याग गर्नुस्’ उहाँले भन्नुभयो–‘यदि त्यसो भयो भने हामीले सडकमा सङ्घीयताको विरोध गर्न पनि छोडिदिन्छौँ । आन्दोलन पनि रोकिने छ ।’

देशको विकासका लागि सङ्घीयता आवश्यक नरहेको बताउँदै उहाँले चीनको उदाहरण दिनुभयो ।

‘देश विकासको लागि सङ्घीय प्रणाली अपरिआर्य छैन’ उहाँले भन्नुभयो–‘संसारका थोरै देशमा मात्रै सङ्घीयता छ । छिमेकमै हेरौँ न, चीन जस्तो ठुलो देशमा एकात्मक शासन छ ।’

उहाँले नेकपा (मसाल) ले सङ्घीयता विरोधी आन्दोलनको वैचारिक नेतृत्व गरिरहेको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका अध्यक्ष चित्रबहादुर केसीका साथै अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियाननका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतम, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष प्रेम पौडेल, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्याम पोखरेल र तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको अध्यक्षता तथा महासचिव मनोज भट्टको सञ्चालमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमोका वरिष्ठ नेता जयकृष्ण सञ्ज्याल, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर थापालगायतको आतिथ्य रहेको थियो ।

रक्तिम सांस्कृतिक अभियानले कार्यक्रममा स्वागत गीतसहित अन्य प्रस्तुति दिएको थियो ।

    

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार