
धनवीर पुन मगर/गोविन्दकुमार शर्मा,
काठमाडौं । इरान र प्यालेस्टाइनमाथि इजरायल र अमेरिकाको आक्रमण विरुद्ध नौ वामपन्थी पार्टी तथा व्यक्तित्वहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
‘इरान र प्यालेस्टाइनमाथिको अमेरिकी र इजरायली आक्रमण बन्द गर’ नाराका साथ २०८२ असार ११ गते बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको आयोजना नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेकपा, वाम बुद्धिजीवी निनु चापागाईं र राजनीतिक संवाद थालनीले गरेका थिए ।
इरानमाथि इजरायल र अमेरिकी साम्राज्यवादको आक्रमणका विरुद्ध मन्तव्य
कार्यक्रममा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत मन्तव्य केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले वाचन गर्नुभएको थियो ।
इजरायल अमेरिकाको एसिया छिर्ने आधारक्षेत्र बनेको छ : केसी
त्यस्तै, राजमो अध्यक्ष चित्रबहादुर केसीले पनि लिखित मन्तव्य राख्नुभएको थियो ।
अमेरिकी साम्राज्यवादले इरानको सार्वभौमिकतामाथि हमला गरेको छ : सापकोटा
कार्यक्रममा मन्तव्य राख्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अमेरिकाले गरेको इरानमाथिको आक्रमण केवल आक्रमण नभएर सार्वभौमिकतामाथिको हमला भएको बताउनुभयो ।

अमेरिकी मन्त्री जोसेफको भनाइलाई उद्धृत गर्दै सापकोटाले साम्राज्यवादी युद्धको प्रभाव पश्चिमदेखि पूर्वतर्फ सर्दै गएको बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय नियम, पद्धति, कानुन तथा वडापत्रको आचारसंहितालाई उल्लङ्घन गरेर इरानमाथि हमाला गरेको छ’ उहाँले भन्नुभयो– ‘अमेरिकाले दादागिरी गरिरहेको छ । उसले जति बेला पनि आक्रमण गरिरहेको छ ।’
विश्वका जनता मुक्ति चाहने भएकाले कम्युनिस्टले पहल गर्नुपर्ने सापकोटाको भनाइ थियो ।
‘नेपालमा कम्युनिस्ट पार्टीको एकता सम्भव छ’ सापकोटाको भनाइ थियो– ‘यो देशको अस्तित्व बृहत वामपन्थी एकताबाट मात्र सम्भव छ ।’
ठुला मिडिया अन्याय र अत्याचारको बारेमा बोलेनन् : भुसाल
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ठुला मिडियाले अन्याय, अत्याचार छुट्याउनेभन्दा पनि कुन देशको आणविक हतियारको महिमामण्डन गरेर उनीहरूलाई खुसी पार्न सकिन्छ भन्नेमा नै केन्द्रित भएको बताउनुभयो ।

‘कति धेरै मानिस अनाहकमै मरे । उनीहरूमाथि भएको अन्याय, अत्याचारको बारेमा बोलेनन्’ भुसालको भनाइ थियो ।
‘आफ्नो सन्तानको माया गर्दछौँ र देशलाई माया गर्दछौँ एवम् देशभक्त हौँ भने अमेरिकी साम्राज्यवादी युद्धको विरोध गर्नुपर्दछ’ भुसालले भने– ‘प्यालेस्टाइनमा निहत्था ५८ हजार मानिसलाई अमेरिकाले बमले उडाएको छ ।’
अहिले अमेरिकाले युद्धविरामको कुरा गरिरहेकोमा त्यसलाई नाटकीय भएको भुसालको थप भनाइ थियो ।
अमेरिकी साम्राज्यवादको विरोध अमेरिकामै भइरहेको छ : गजुरेल
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले अमेरिकी साम्राज्यवादको विरोध अमेरिकामै भइरहेको बताउनुभयो ।

‘अमेरिकी साम्राज्यवादले कुनै पनि देशमाथि आक्रमण गर्नु उसले आफ्नो अधिकार मान्दछ’ गजुरेलले अगाडि भन्नुभयो– ‘साम्राज्यवाद कागजी बाघ हो तर कहिले कहीँ साँच्चिकै बाघ पनि हो । ऊ जति बेलासम्म रहन्छ, त्यति बेलासम्म युद्ध रहिरहन्छ ।’
साम्राज्यवाद युद्ध मात्र नभएर शोषणको पनि केन्द्र हो : पुन
नेपाल कम्युनिस्ट पार्टीका चिरन पुन सीले साम्राज्यवाद युद्ध मात्र नभएर शोषण, अर्थतन्त्र र हथियारको पनि केन्द्र भएको बताए ।
‘अमेरिकी साम्राज्यवादको गतिविधिले गर्दा यति बेला विश्व नै तरङ्गित भएको छ’ चिरनले भने– ‘प्रथम र दोस्रो विश्वयुद्धमा पनि अमेरिकाले विभिन्न देशलाई हतियार बेच्ने र लडाइँका लागि उक्साउने गर्दथ्यो । अहिले पनि त्यही गरिरहेको छ ।’
नेपालमा बृहत् वाम एकताको आवश्यकता भएको र त्यसबाट मात्रै नेपालमा अमेरिकी साम्राज्यवादका विरुद्ध जुट्न सकिने उहाँको थप भनाइ थियो ।
अमेरिकी साम्राज्यवादले कैयौँ देशमाथि हमला गर्दै आएको छ : बास्तोला
नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले अमेरिकी साम्राज्यवादले गत सय वर्षमा कैयौँ देशमाथि हमला गर्दै आएको बताउनुभयो ।
अमेरिकाले विभिन्न बहानामा हमला गरेर मानवीय क्षतिको साथसाथै विभिन्न देशलाई विखण्डन र सरकारको समेत च्यूत गर्ने गरेको उनको भनाइ थियो ।

‘संसारभरि आतङ्कवादी गतिविधि अमेरिकी साम्राज्यवादले नै चलाइरहेको छ’ बास्तोलाले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादले भ्रष्ट र अवसरवादी चरित्र देखाउँदै आएको छ ।’
साम्राज्यवादको विरोध गरिरहँदा देशबाट पनि साम्राज्यवादी दलाललाई हटाउनुपर्ने उहाँको थप भनाइ थियो ।
संयुक्त राष्ट्र सङ्घ मूकदर्शक बनिरहेको छ : राजेश्वरी
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी राजेश्वरीले इरानमाथि अमेरिकी साम्राज्यवादले अनाहकमै आणविक हमला गर्दै गर्दा संयुक्त राष्ट्र सङ्घ मूकदर्शक भएर हेरिरहेको बताए ।
‘इजरायलमा अहिले पनि कैयौँ नेपाली फसेका छन् तर उनीहरूलाई स्वदेश ल्याउने सवालमा नेपाल सरकार असमर्थ रहेको छ’ उहाँले भन्नुभयो ।
फरक सन्दर्भमा राजेश्वरीले भारतमा माओवादी नेता मारिँदा त्यसका विरुद्धमा नेपालका कम्युनिस्ट पार्टीहरू एक हुन सकेनन् ।’
साम्राज्यवादद्वारा मानवीय सभ्यता नै खतरामा रहेको राजेश्वरीको थप भनाइ थियो ।
धेरै टाढा भएको घटना भनेर बस्ने अवस्था छैन : सङ्गीतश्रोता
राजनीतिक संवाद थालनीका सङ्गीत स्रोताले इरानमाथि अमेरिकी साम्राज्यवादको आक्रमण धेरै टाढा हो भने टुलुटुलु हेरेर बस्ने अवस्था नभएको बताउनुभयो ।
साम्राज्यवाद विरुद्धको आन्दोलन केवल सभा, गोष्ठी, अन्तर्क्रियामा मात्र सीमित नरहेर सडकसम्म पुऱ्याउनुपर्नेमा सङ्गीतले जोड दिए ।
कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेल, सञ्चालन नेकपा (एकीकृत समाजवादी) का बलराम बासकोटाले तथा स्वागत मन्तव्य नेकपाका चिरञ्जीवी सीले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले साङ्गीतिक कोसेली प्रस्तुत गरेका थिए ।















