मूल प्रवाहको नबौं बैठक सम्पन्न; जिम्मेवारी हेरफेर

  • अध्यक्षमा पौडेल र महासचिवमा भट्टराई
  • काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हालै सम्पन्न नबौं बैठकले अध्यक्ष, महासचिव र उपाध्यक्ष परिवर्तत गरेको छ । बैठक पछि जारि वक्तव्यमा समितिको अध्यक्षमा प्रेम पौडेल, महासचिवमा त्रिभुवन भट्टराई र उपाध्यक्षमा जनकराज शर्मालाई उल्लेख गरिएको छ । यस अघि पौडेल महासचिव, भट्टराई सचिव र शर्मा पूर्ण सदस्य हुनुहुन्थ्यो ।

    त्यस्तै विज्ञप्तीमार्फत भोटेकोशीमा आएको बाढी तथा अन्य स्थानमा भएको बाढिपहिरो लगायत सडक दूर्घटनाहरूमा ज्यान गुमाउनेहरूप्रति सवेदना व्यक्त गर्नुका साथै, क्षतिपूर्तिको लागि सरकारसँग जोडदार रुपमा माग गरिएको छ ।

    विश्व स्तरमा बढ्दै गएको साम्राज्यवादी हमलाको तिब्र रुपमा भ्रत्सर्ना गर्दै विश्व शान्तिको लागि अपिल समेत गरिएको छ ।

    देशमा बढ्दै गएको साम्राज्यवादी संक्रमणप्रति चिन्ता व्यक्त गर्नुका साथै बढ्दो महंगी, भ्रष्टाचार एवं शोषणको मुख्य दोषी ठूला राजनीति दल रहेको बैठकले ठहर गरेको छ ।

    प्रस्तुत छ वक्तव्य :

    “मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको नबौं बैठक समितिका अध्यक्ष ठाकुर खनालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले गरेका कतिपय महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नका लागि यो वक्तव्य जारि गरिएको छ ।

    १. अहिले विश्वमा देखापरेको जलवायु परिवर्तनको मुख्य कारण विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइडको उत्सर्जन मुख्य कारण हो । त्यसका मुख्य दोषी ठुला साम्राज्यवादी देशहरू नै हुन् । उनीहरूले सञ्चालन गर्दै आएका विभिन्न कारखानाहरू वा ठुला उद्योगहरूबाट ठुलो मात्रामा कार्बन पैदा हुन्छ । त्यसले सम्पूर्ण विश्वको जलवायुमा परेको असरका कारण पृथ्वीको तापमान पनि बढेर गइरहेको छ । त्यसबाट विश्वको जलवायुमा भइरहेको परिवर्तन एवं पृथ्वीको तापक्रममा भइरहेको वृद्धिबाट हिमालयको हिउ“ पनि झन्पछि झन् पग्ल“दै गइरहेको छ । हालै हिमताल फुटेर भोटेकोशीमा आएको भयानक बाढी जसको ज्वलन्त उदाहरण हो । त्यसरी भोटेकोशीमा आएको बाढी तथा अन्य स्थानमा भएको बाढिपहिरो लगायत सडक दूर्घटनाहरूका कारण ठूलो जनधनको क्षति भएको छ । उक्त घटनाहरूमा ज्यानगुमाउनेहरूप्रति समवेदन प्रकट गर्दछौं । साथै बढिपहिरो पिडितहरूलाई आवश्यक व्यवस्थापन गर्न एवं दूर्घटनामा घाइतेहरूको उपचार र क्षतिपूर्तिको लागि सरकारसँग जोडदार माग गर्दछौं ।

    २. अमेरिकी साम्राज्यवादले इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले मध्यएसियामा युद्धको गम्भीर स्थिति उत्पन्न भएको छ । इरानको आणविक केन्द्रहरूमा हमला गरेर अमेरिकी साम्राज्यवाद पनि त्यो युद्धमा सामेल भएको छ । त्यो युद्धका कारणले जुनस्थिति उत्पन्न भएको छ, त्यो इरान र इजरायलको मात्र समस्या नभएर विश्व भरिका मानव जातिको समस्या हो । यसरी विश्व स्तरमा साम्राज्यवादी शक्ति अमेरिकाले इजरायलद्वारा प्यालेस्टाइनी निःशस्त्र जनतामाथि गरिएको हिंसात्मक कारवाहीको हाम्रो संगठनले भ्रत्सर्ना गर्दछ । साथै त्यस प्रकारका अमानवीय कार्य अविलम्ब बन्द गर्न र विश्वमा शान्ति कायम गर्न माग गर्दछौं ।

    ३. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको विषयलाई लिएर संघर्ष गरेको ऐतिहासिक पृष्ठभूमी छ । देशमा यतिवेला एकातिर साम्राज्यवादी संक्रमण बढ्दै गइरहेको छ भने, अर्कोतर्फ देशमा २०६२–६३ को जनआन्दोलनबाट स्थापित राजनीतिक उपलब्धिहरू गुम्ने खतरा बढेर गइरहेको छ । यसो हुनुमा मुख्यगरि ठूला राजनीतिक पार्टीहरू नै दोषी छन् । उनीहरूबाट भइरहेको चरम प्रकारको भ्रष्टाचार, महंगी र शोषणका कारणले आमजनता असन्तुष्टि, नैराश्यता र वितृष्णा बढेर गएको छ । ठूला राजनीतिक पार्टीहरूबाट भइरहेको यसप्रकारको राजनीतिक कमजोरीलाई प्रतिगामी तत्वहरू र साम्राज्यवादी शक्तिका दलाल राजनीतिक पार्टीहरूले भजाएर आफूलाई राजनीतिक रुपमा स्थापित गर्ने कोशिस गरिरहेका छन् । देशको यस्तो भयावह राजनीतिक अवस्थाबाट मुक्त हुनका लागि आम श्रमजिवी नेपालीहरू संगठित रुपमा अगाडि आउनु पर्नेमा हामीले जोड दिन्छौं ।

    ४. बैठकद्धारा कतिपय नयाँ निर्णयहरू गरिएको छ । अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनु भएका ठाकुर खनालको अन्य जिम्मेवारी पर्न गएकोले उहाँले अध्यक्ष पदबाट हट्ने प्रस्ताव राख्नुभएको हुँदा बैठकले स्वीकृत गरेको छ । यसरी रिक्त हुनआएको अध्यक्ष पदमा प्रेम पौडेल र महासचिवमा त्रिभुवन भट्टराईलाई पदउन्नती गरिएको छ ।

    त्यस्तै उपाध्यक्ष कुलबहादुर थापा, सचिवालय सदस्य धनवीर पुन मगर, सदस्य गमबहादुर सुनार, सल्लाहकार खगेश्वर सुनार र रुपलाल जिएम स्वदेश जानु भएको हुँदा उहाँलाई समितिबाट बिदा गरियो । यसरी रिक्त हुन आएको उपाध्यक्ष पदमा जनकराज शर्मा, पूर्ण सदस्यमा चन्द्रकान्त शर्मा, श्रीधर शर्मा, कृष्णबहादुर थापा, श्याम तरामु, वैकल्पिक सदस्यमा प्रेम आचार्य, तिलक पाण्डे, काशीराम शर्मा, धर्मराज शर्मा र सल्लाहकारमा ठाकुर खनाललाई थप गरियो । केन्द्रीय सदस्य कृष्ण कुँवर, सल्लाहकार मोहन बस्नेत र धुर्वराज न्यौंपाने संगठन विरोधी गतिविधीमा सामेल भएको हुँदा निजहरूलाई निश्काशन गरियो ।

    ५. विभिन्न राज्यहरूमा नेपालीहरूमाथि पर्दै आइरहेका विभिन्न समस्याहरूप्रति बैठकको ध्यानाकर्षण भयो । उक्त समस्याहरूलाई समाधानका लागि सम्बन्धित क्षेत्रीय समिति÷राज्य समितिहरूसँग समन्वय गरि आवश्यकता अनुसार संघर्षका कार्यक्रमहरू तय गर्ने निर्णय गरियो । साथै भारतस्थित नेपालीहरूका समस्याका बारेमा सम्बन्धित सरोकारवाला एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँन आवश्यक कार्यक्रम तय गरियो ।”

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार