
काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूलाई प्रेस वक्तव्यमार्फत शुभकामना दिएको छ ।
१९ सितम्बर दिन संविधान दिवसको अवसरमा अध्यक्ष प्रेम पौडेलले प्रेस वक्तव्य जारी वक्तव्यमा निरङ्कुश राजतन्त्रको विरुद्धमा चलेको प्रजातान्त्रिक आन्दोलनमा भारतस्थिति नेपालीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख छ ।
‘संविधानमा सामेल गरिएको संघीयता नेपालको राष्ट्रियताको लागि घातक र सामाजिक एवं आर्थिक दृष्टीले पनि अनुपयुक्त हो ।’ वक्तव्यमा लेखिएको छ– ‘यसलाई खारेज गरि स्थानीय विकेन्द्रीकरणमा आधारित एकात्मक शासन प्रणाली नै उपयुक्त हुन्छ । वर्तमान संविधान सैद्धान्तिक र रणनीतिक रूपले पुँजीवादी प्रजातान्त्रिक संविधान नै हो ।’
वक्तव्यमा लेखिएको छः
“नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवशाली इतिहास छ । राणा कालदेखि गणतन्त्रसम्मको यात्रामा जनताको लामो संघर्ष र हजारौँ सहिदहरूको आहुतीले नै गणतन्त्रको स्थापना भएको हो । निरङ्कुश राजतन्त्रको विरुद्धमा चलेको प्रजातान्त्रिकमा आन्दोलनमा भारतस्थिति नेपालीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । ०६२–०६३ महान जनआन्दोलन पश्चात् संबिधान सभाको निर्वाचन र त्यसबाट बनेको संबिधान नेपाली राजनीतिमा ऐतिहासिक उपलब्धि हो । हालाकि संबिधान निर्माण प्रक्रियामा हामी प्रवासी नेपालीहरूलाई सहभागी गराउन राज्यले व्यवस्था मिलाएन र हामी त्यो अधिकारबाट बन्चित रह्यौँ । तै पनि गणतन्त्र, धर्मनिर्पेक्षेता, समावेसी समानुपातिक पद्धति त्यसका सबल पक्ष हुन् ।
संबिधानमा सामेल गरिएको संघीयता नेपालको राष्ट्रियताको लागि घातक र सामाजिक एवं आर्थिक दृष्टीले पनि अनुपयुक्त हो । यसलाई खारेज गरि स्थानीय विकेन्द्रीकरणमा आधारित एकात्मक शासन प्रणाली नै उपयुक्त हुन्छ । वर्तमान संविधान सैद्धान्तिक र रणनीतिक रूपले पुँजीवादी प्रजातान्त्रिक संबिधान नै हो । अहिलेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरि देशमा नयाँ जनवादी गणतन्त्र कायम नहुदासम्म नेपाली जनताका समस्याहरूको स्थायी समाधान सम्भव छैन । तर पनि अहिलेको ठोस परिस्थितिमा वर्तमान संविधान, गणतन्त्र, धर्मनिरपेक्षता समेतको प्रगतिशिल महत्व छ र त्यसैले हामीले वर्तमान संविधानको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
देशमा राजावादी र अन्य कतिपय पक्षहरूले संविधानमाथि आक्रमण गर्दै आएका छन् । जेन्जी आन्दोलनपछि पनि एक वा अर्को प्रकारले संविधानमाथि हमला बढेर गएको छ । उनीहरूले कुनैबेला संविधानलाई पुनर्लेखन गर्ने कुरामा जोड दिन्छन् भने कुनैबेला संविधानमा व्यवस्था गरिएको दलीय प्रणालीलाई पूरै समाप्त गर्ने कुरा गर्दछन् । अहिले जसरी संविधानको प्रावधानलाई अतिक्रमण गरेर मन्त्रिमण्डलको गठन गर्ने एवं संसदलाई विघटन गर्ने काम गरियो र गैरदलीय आधारमा मन्त्रिमण्डलको गठन गरियो त्यसबाट उनीहरूले एक वा अर्को प्रकारले संविधानमाथि आक्रमण गर्न खोजिरहेको कुरा नै बुझिन्छ । त्यस्तो अवस्थामा संविधान वा त्यसअन्तर्गत गणतन्त्र, धर्मनिरपेक्षता र दलीय व्यवस्थाको रक्षाको प्रश्न एकदम अहम् प्रश्न बन्न गएको छ । आज संविधान दिवसको अवसरमा संविधानको रक्षाका लागि हामी सबै एकजुट हुनुपर्ने आवश्यकता छ । विगतका प्रजातान्त्रिक आन्दोलनहरूमा जस्तै अहिले पनि भारत प्रवासमा रहेको सम्पूर्ण लोकतान्त्रिक गणतान्त्रीक शक्तीहरू एवं आम नेपाली समुदायहरूसँग जनाताको आन्दोलन र बलिदानको जगमा प्राप्त अधिकार गणतन्त्र र संबिधानको रक्षाको लागि एक जुट हुन आवहान्न गर्दछौँ ।”

















