संघीयता विरोधी आन्दोलन देशभक्त जनताको आन्दोलन हो

– विमल पोखरेल, अध्यक्ष, अखिल (छैठौँ)

० अनेरास्ववियु (छैठौं) ले हालै राष्ट्रिय परिषद् बैठक सम्पन्न गरेको छ । त्यो बैठकले पारित गरेका कार्यक्रम तथा योजनाबारे स्पष्ट पारिदिनुहोस् न ?
– हामीले सम्मेलन सम्पन्न भएको एक वर्षमा राष्ट्रिय परिषद् बैठक गर्ने गरेका छौँ । यो हाम्रो नियमित आन्तरिक साङ्गठनिक काम हो । परिषद्ले राष्ट्रिय सम्मेलनपछिको एक वर्षको कार्यको समीक्षा र आगामी कार्यक्रमका बारेमा छलफल गरेर निर्णय गर्ने गर्दछ । हामीले त्यही गरेका छौँ ।

परिषद् मूलतः राजनीतिक तथा शैक्षिक मुद्दामा केन्द्रित भयो । त्यसबाहेक केही साङ्गठनिक निर्णय पनि भएका छन् । सङ्घीयताको कारण देश ठुलो घनचक्करमा फसिकेको छ । त्यसबाट देशलाई बाहिर निकाल्नुपर्ने उद्देश्यका साथ सङ्घीयता खारेज गर्नका लागि सङ्घर्ष गर्ने निर्णय भएको छ ।

शिक्षाको व्यापारीकरण, निजीकरण र माफियाकरणका विरुद्धका आन्दोलनलाई सङ्गठित गर्नका लागि पनि लगातार जोड दिने निर्णय भएको छ ।

० सङ्घीयता विरुद्ध काठमाडौँ मार्च गर्दै हुनुहुन्छ । आन्दोलन कहिले र कुन स्वरूपको हुन्छ ? त्यसको तयारी कसरी गर्दै हुनुहुन्छ ?
– हामीले सङ्घीयताको विरुद्ध काठमाडौँ मार्च सञ्चालन गर्दै छौँ । मार्चको मिति केन्द्रीय समितिको अर्काे बैठकले घोषणा गर्ने छ । सम्भवतः चैत्रको पहिलो हप्तासम्म गर्न सकिन्छ भन्ने मनस्थिति बनाएका छौँ । कम्तीमा ५ दिनसम्म हामीले काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने छौँ । त्यसले सङ्घीयता विरुद्धको आन्दोलनलाई थप नयाँ उचाइमा लैजाने विश्वास लिएका छौँ । काठमाडौँ केन्द्रित मार्च भने पनि यो काठमाडौँ केन्द्रित मात्रै हुने छैन । देशव्यापी रूपमा विद्यार्थीलाई सङ्गठित, प्रशिक्षित, आन्दोलित बनाइने छ । देशभरि नै प्रचार प्रसार गरिने छ । भित्तेलेखन, पर्चा वितरण, पोस्टरिङ, भेला, प्रशिक्षण चलाइने छ । व्यापक मात्रामा विद्यार्थीलाई जनताका बीचमा परिचालन गरिने छ । हाम्रो उद्देश्य सङ्घीयताका विरुद्ध बढीभन्दा बढी समर्थन जुटाउनका लागि मिहिनेत गर्ने र त्यसलाई काठमाडौँ मार्चमार्फत् बुलन्द गर्ने हो । अबको समय आन्दोलनको तयारी र व्यवस्थापनमै हामी केन्द्रित हुने छौँ ।

० तपाईको आन्दोलनले संस्थागत हुँदै गरेको सङ्घीयतालाई असर गर्ला ?
– सङ्घीयता संस्थागत भएकै छैन । यो घोषणा मात्रै गरिएको हो । मुख्यमन्त्री, मन्त्री र केही सय सांसद भाडाका कार्यालयमा खडा गरेर सङ्घीयता संस्थागत हुने होइन ।

हामीले सङ्घीयताका विरुद्ध निरन्तर आन्दोलन गरिरहेका छौँ । आन्दोलनले मात्रै होइन, सङ्घीयता भित्रभित्रै आफै सङ्कटमा फसेको छ । सङ्घीयताबाट मुख्यमन्त्री नै सन्तुष्ट छैनन् । प्रदेश सरकारले काम गर्न सकेको छैन । ५० प्रतिशत बजेट खर्च हुन सकेको छैन । जनतालाई जुन प्रकारले आशा देखाइएको थियो, ती केही पनि पूरा भएका छैनन् । सङ्घीयता जति जति सङ्कटमा फस्दै जान्छ, हाम्रो आन्दोलनको गति तेज हुँदै जान्छ ।

जनताले सङ्घीयताबारेमा बुझेकै थिएनन् । सङ्घीयताले विकास ल्याउँछ, समृद्धि ल्याउँछ भनेर सोचेका थिए होलान् । तर अकल्पनीय करबृद्धि, महङ्गी, भ्रष्टाचार मात्रै हुन थयो । विदेशीबाट पैसा लिएर कर्मचारी पाल्नुपर्ने, अफिस भाडा तिर्नुपर्ने, गाडी किन्नुपर्ने भयो । देशमा सङ्कलन भएको कर जनताको विकासका लागि होइन, नेता, मन्त्री र कर्मचारीको विलासितामा सकियो । त्यसैले सङ्घीयताको दुष्परिणाम जनताले भोगिरहेका छन् ।

सङ्घीयता विरुद्धको आन्दोलन हाम्रो मात्रै आन्दोलन होइन । यो सम्पूर्ण देशभक्त जनताको आन्दोलन हो । अन्य पार्टीभित्र पनि सङ्घीयताका विरुद्ध बलियो मत रहँदै आएको छ । बुद्धिजीवी, प्राध्यापक, पत्रकार र अन्य पेशा र व्यवसायका हजारौँहजार सङ्घीयताका विरुद्धमा छन् । त्यो आवाजलाई एकै ठाउँ आएको समयमा सङ्घीयता खारेज हुने अवस्थामा पुग्छ ।

० विगतमा विद्यार्थी आन्दोलनको पर्याय बनेको अखिल (छैठौँ) अहिले सुस्ताएकोजस्तो देखिन्छ नि, किन ?
– विद्यार्थी आन्दोलन कहिले सुनिने गरी देखिन्छ, कहिले नसुनिने गरी काम गरिरहेको हुन्छ । सरकारले दिएका धेरै भ्रमका कारण संयुक्त विद्यार्थी आन्दोलन अलमलिएकोजस्तो देखिँदा अखिल (छैठौँ) पनि सुस्ताएको हो कि भन्ने भान परेको हो । तर हामी सुस्ताएका छैनौँ । देशको राष्ट्रियता, सार्वभौमिकता रक्षाको आन्दोलन गरिरहेका छौँ । गत चैत्रमा जिल्लामा सङ्घीयता विरुद्ध विद्यार्थी मार्च सञ्चालन गरेका थियौँ । भारतीय सांस्कृतिक साम्राज्यवादको रूपमा काठमाडौँ ल्याउन खोजिएको आइफाको विरुद्ध सडकमा गयौँ । विषादियुक्त तरकारी भित्राइएपछि सडकमा गयौँ । त्यसबाहेक विभिन्न विषयमा अन्तरक्रिया, छलफल, भेला, बैठक गरिरहेका छौँ । सङ्गठनलाई आन्तरिक रूपमा मजबुत बनाउने काम गरिरहेका छौँ ।

० कतिपय विश्वविद्यालयमा महिनौँदेखि तालाबन्दी भइरहेको छ, मेडिकल कलेजको ब्रह्मलुट विरुद्ध विद्यार्थी आन्दोलित छन्, सिटिइभिटीजस्ता संस्थाले विद्यार्थीलाई लुटिरहेको खबर आएका छन् । तर, विद्यार्थीमाझ तपाईको उपस्थिति प्रभावकारी देखिएन त ?
– तपाईले जुन कुरा उठाउनुभयो, त्यहाँ धेरै जेलिएका समस्या छन् । एकातिर, कानुनले निजीकरणलाई मान्यता दिएको छ, अर्कातिर हामीले त्यसको विरोध गरिरहेका छौँ । जब हामीले विद्यार्थी भर्नाको बेलामा शुल्कबृद्धिको आन्दोलन गर्ने गर्दछौँ, विद्यार्थीका अभिभावकले हामीलाई हाम्रा विद्यार्थीलाई विदेश धकेल्ने दाउ हो, हाम्रा विद्यार्थी भर्ना गर्न पाउनुपर्छ भनेर हाम्रै विरुद्ध आउँछन् । कैयौँ विद्यार्थीका अभिभावकले कलेजसँग अनुचित सम्बन्ध राखेर विद्यार्थी भर्ना गरेका कैयौँ उदाहरण हामीसँग छन् । त्यसले अन्य विद्यार्थीलाई ठुलो असर गरिरहेको छ । बाहिर जे जस्ता समस्या देखाइएका छन्, ती कलेजका कारण मात्रै समस्या होइनन् । केही समस्या पैसावाला अभिभाकका कारण पनि सिर्जना भएका छन् ।

मेडिकल कलेजमा सुरुमा विद्यार्थीका अभिभावक गएर अनुचित सम्बन्ध राख्छन्, ४० लाखमा पढाइ हुने कोर्सको लागि ५०, ६०, ७० लाख जति लाग्छ । त्यति तिर्छाैं, हाम्रो विद्यार्थी भर्ना गरिदिनुस् भन्छन् । कलेजले शीर्षक बिना, बिलसमेत नकाटिकनै त्यो पैसा लिन्छन् । कैयौँपटक तिनीहरूले सहमतिको आधारमा नै लेनदेन गर्दछन् ।

मेडिकल कलेज त माफियाको रूपमा विकास भइरहेका छन् । ७० लाख तिर्न तयार भएको अभिभावक पनि कहीँ न कहीँ कालोबजारी गरेर कमाएको पैसा हो । त्यो अवस्थामा गरिबका छोराछोरी त्यहाँ पुगेकै हुँदैनन् । गरिबका छोराछोरीले ४० लाख तिर्नै सक्दैनन् । त्यो एक प्रकारले पुँजीपतिबीचकै टकराव हो । तर त्यसो भनेर हामी चुप लागेर बसेका छैनौँ ।

धनीका छोराछोरी भए भन्दैमा मेडिकल कलेजले तोकिएकोभन्दा बढी शुल्क लिन पाउँदैनन् । त्यसैले हामीले विद्यार्थीको आन्दोलनलाई समर्थन गरेका छौँ । विद्यार्थीका अभिभावक र मेडिकल कलेजका बीचमा विद्यार्थी भर्नाकै बेलामा भएका अनुचित सम्बन्धको पनि हामीले विरोध गर्दछौँ । त्यही अनुचित सम्बन्धको मारमा धेरै विद्यार्थी परेका छन् । २०–३० जनाले अनुचित सम्बन्धका आधारमा भर्ना गर्छन्, त्यसको मारमा मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी पर्दछन् । त्यो जेलिएको समस्याका कारण मेडिकल शिक्षामा भइरहेको माफियाकरणलाई रोक्न धेरै गाह्रो छ । मारमा पारिएका विद्यार्थी एकजुट भएर नै आन्दोलनले सफलता प्राप्त गर्दछ । हामीले विद्यार्थीले सञ्चालन गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएका छौँ ।

सिटिइभिटी र अन्य निजी विश्वविद्यालयका समस्या धेरै हदसम्म मिल्दाजुल्दा छन् । एक प्रकारले भन्ने हो भने ती सबै पैसासित सम्बन्धित समस्या हुन् ।

हामीले अहिलेको विद्यार्थी भर्ना प्रक्रियालाई पूरै बदल्न चाहन्छौँ । गरिबको पहुँच पुराउन चाहन्छौँ । देशका लागि आवश्यक पर्ने डाक्टरलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्छ र उनीहरूले कम्तीमा १० वर्ष राज्यले पठाएकै ठाउँमा गएर सेवा गर्नुपर्छ ।

० निजी विद्यालयले लिने अस्वाभाविक शुल्कका कारण अभिभावको ढाड सधँै सेकिएकै हुन्छ । तर विद्यार्थी सङ्गठन नयाँ भर्नाको बेला २/४ दिन कराउने, अनि वर्षभरि चुप लाग्ने गरेका छन् । यो विषयमा प्रभावकारी दबाब दिन किन नसकिएको ?
– यो पनि बडो विचित्रको अवस्था छ । जब हामीले आन्दोलन गर्ने गर्दछौँ, अभिभावकले हामीलाई साथ दिँदैनन् । कतिपय अवस्थामा विद्यार्थीकै साथ पाइँदैन । लाखौँ तिरेर ठुल्ठुला कलेज पढ्ने विद्यार्थीका लागि त्रिचन्द्र, पद्मकन्या, आरआर क्याम्पसका विद्यार्थीले सडकमा आन्दोलन गरिदिनुपर्ने अवस्था छ । त्यही विद्यार्थी आफू पैसा नभएर आरआर पढ्न आएको छ, त्यही गरिब विद्यार्थीले धनी विद्यार्थीका लागि आन्दोलन गरिदिनुपर्ने जुन अवस्था छ । यो धेरै जटिल अवस्था हो । कैयौँ कठिनाइँका बाबजुद हामीले विद्यार्थीका पक्षमा आन्दोलन गरिरहेका छौँ ।

यसरी हेर्ने हो भने विद्यार्थी आन्दोलनको जटिलता धेरै छ । तर हामीले सैद्धान्तिक रूपमा हेर्नुपर्ने हुन्छ । निजी शिक्षण संस्थाले जसरी चर्काे शुल्क उठाइरहेका छन्, त्यो गलत छ । सँगसँगै अभिभावकहरू के कुरामा सचेत हुनुपर्दछ भने हामीले उठाएको मागलाई समर्थन गर्नुपर्दछ । पैसा तिर्न गाह्रो भयो भने खोई विद्यार्थी सङ्गठन भन्दै कराउने, विद्यार्थीले आन्दोलन गर्न थाले भने विद्यार्थी सङ्गठन खारेज गर्नुपर्छ भन्ने एउटा विचित्रको मध्यम वर्ग छ, त्यसले कुरा नबुझेरै बर्बराउँछ । त्यो वर्गलाई कुरा बुझाएर हामीले आन्दोलन गर्नुपरेको छ । त्यसरी नै हामीले आन्दोलनलाई निरन्तरता दिएका छौँ ।

० अहिलेको शिक्षा नीतिप्रति अखिल (छैठौं) को दृष्टिकोण के हो ? कमजोरी कहाँ–कहाँ देख्नुहुन्छ र सुधारको सम्भावना के छ ?
– देशमा दुईखालको शिक्षा छ । यो विभेदकारी व्यवस्था हो । शिक्षामा विभेद भइसकेपछि त्यसको असर जतासुकै पर्दछ । अहिलेको शिक्षाले लाखौँ विद्यार्थीको मनोविज्ञानलाई विभाजित गरिदिएको छ । एउटै उमेरका विद्यार्थीको मनोविज्ञान विभाजित गरिदिने शिक्षा प्रणालीले देशको हितको पक्षमा होइन, देशको विरुद्धमा दुरूपयोग भएको छ । त्यो अवस्थाको अन्त्य गर्नको लागि एकै प्रकारको शिक्षा प्रणाली लागु गर्नुपर्दछ । यो विषयमा हामीले आफ्नो धारणा दस्तावेजमा उल्लेख गर्दै आएका छौँ र आम जनतालाई बुझाउँदै आएका छौँ । वर्तमान शिक्षा प्रणाली देश र जनताको पक्षमा छैन । यसले बेरोजगार उत्पादन गरिरहेको छ । युवा जनशक्तिलाई विदेश पठाइरहेको छ ।

सरकारले उच्चस्तरीय शिक्षा प्रतिवेदन सार्वजनिक गरेको छैन । त्यो प्रतिवेदनमा निजी शिक्षालाई निरुत्साहित गरिएको छ । शिक्षाले नागरिकलाई देश, जनताप्रति उत्तरदायी, श्रमप्रति आस्थावान, अध्ययन–अनुसन्धान, उत्पादन प्रणालीलाई बदल्ने शिक्षा प्रणाली लागु गर्नुपर्दछ, जसलाई हामीले व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणाली भन्ने गरेका छौँ ।

० विगतमा कैयौँ राष्ट्रिय महत्वका विषयमा विद्यार्थी सङ्गठन संयुक्त रूपमा आन्दोलनमा होमिने गरेका थिए । अहिले संयुक्त भएर अघि बढ्न किन सकिरहेका छैनन् ?
– अहिलेको संयुक्त आन्दोलन विचित्रको छ । सायद यस्तो विचित्र यसअघि कहिल्यै थिएन । नेकपा निकट विद्यार्थी सङ्गठनले पूरै सत्ताको ताबेदारीबाहेक केही गर्न छोडेको छ । काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन विघटन भएको छ । अन्य केही विद्यार्थी सङ्गठन पनि छन्, तिनीहरूले राप्रपाको विद्यार्थी सङ्गठनलाई मिसाएर कहिलेकाहीँ वक्तव्य निकाल्छन् । संयुक्त आन्दोलन लथालिङ्ग अवस्थामा छ । हामीले नेकपाको सरकारको ताबेदारी पनि गर्न सक्दैनौँ ।

नेविसङ्घको सत्ता गुमेको छटपटीमा पनि साथ रहन सक्दैनौँ । कतिसम्म भने भारतीय फिल्म अवार्ड आइफा नेपालमाथिको सांस्कृतिक साम्राज्यवादी हमला थियो । त्यो आन्दोलनमा पनि उनीहरू आउन चाहेनन् । हामीलाई के विश्वास छ भने सधैँभरि यो अवस्था रहँदैन । जब भ्रमका पर्दा च्यातिन्छन्, अन्य विद्यार्थी सङ्गठनलाई सडकमा नआइकन सुखै छैन । तिनीहरू हामी भएको ठाउँमै आउने हुन् । अहिले तिनीहरू जहाँ छन्, त्यो ठाउँ छाडेर तिनीहरूको आउने ठाउँ भनेको सडक नै हो । तिनीहरूका एजेन्डा बिक्न छोडे भने हाम्रो एजेन्डामा आउँछन् । हामी त्यस विषयमा प्रष्ट छौँ ।

० अखिल (छैठौँ) लाई कम्युनिस्ट पार्टीको नर्सरीको रूपमा लिइन्छ । त्यो नर्सरीमा अहिले नयाँ विरुवा कत्तिको हुर्काउनुभएको छ ?
– गज्जबको प्रश्न । हामीसँगै काम गरिरहनुभएका साथीहरूले देशका विभिन्न जिल्लामा पार्टीको राजनीति हाँकिरहनुभएको छ । मेचीदेखि महाकालीसम्मै त्यो देख्न सकिन्छ । २०६३ सालमा पार्टी फुटको अवस्थामा हामीले अखिल (एकीकृत) भित्रै को–अर्डिनेसन बनाएर अखिल (छैठौँ) को पुनस्र्थापना गरेका साथीहरू नै देशभर पार्टी काममा लागिरहनुभएको छ । अखिल (छैठौँ) मा अहिले काम गरिरहनुभएका सबै साथी पार्टी काममा जानका लागि तयार नै हुनुहुन्छ ।

हामीले विद्यार्थी आन्दोलन मात्रै गरिरहेका छैनौँ, गरिब वर्गको पार्टी निर्माणको प्रशिक्षण पनि दिइरहेका छौँ । विद्यार्थी आफैमा स्वतन्त्र सङ्गठन होइन, हामी एउटा निश्चित विचारधारा बोकेका पार्टीका सिपाही पनि हौँ । फरक यत्ति हो कि अहिले हामीले विद्यार्थी मोर्चामा रहेर काम गरिरहेका छौँ । जब हामी विद्यार्थी मोर्चाबाट बिदा हुन्छौँ, गरिब वर्गको पार्टी नेकपा (मसाल) र त्यसका अन्य मोर्चामा रहेर काम गर्न तत्पर रहन्छौँ । अखिल (छैठौँ) नेकपा (मसाल) र कम्युनिस्ट आन्दोलनको नर्सरीको रूपमा रहँदै आएको छ । त्यसले निरन्तर आफ्नो काम गरिरहेको छ ।

० तपाईमाथि राजधानीकेन्द्रित र फेसबुकमै सीमित हुने गरेको आरोप लाग्ने गरेको छ नि ?
– आरोप लगाउनेले लगाइहाल्छन् । हामीले हाम्रो काम गर्न छोडेका छैनौँ । यो आरोप मूलतः सङ्गठनबाट भागेकाले फेसबुकबाटै लगाउने गर्दछन् । आन्दोलनमा लागेकाले लगाउँदैनन् । किनभने उनीहरूलाई थाहा हुन्छ, आन्दोलन गर्न कति गाह्रो हुन्छ भन्ने कुरा । कुनामा बसेर अखिल (छैठौँ) ले काम गरेन भनेर फेसबुकमा लेख्न त सजिलो हुन्छ ।

म नेतृत्वमा आएपछिका आन्दोलन र सङ्गठन परिचालन हेर्नुभयो भने त्यो आरोप गलत हो भन्ने पुष्टि हुन्छ । हामीले सङ्गठनलाई देशव्यापी रूपमै महत्व दिइरहेका छौँ । सानो मिहिनेतले झापामा राष्ट्रिय सम्मेलन हुन सक्दैनथ्यो । ठुल्ठुला अभियान हुन सक्दैनथे । प्रकाशनको क्षेत्रमा हामीले पार्टीका रातो तरबारजस्ता ऐतिहासिक दस्तावेज प्रकाशन गरेर कम्युनिस्ट आन्दोलनमा योगदान गरेका छौँ ।

आन्दोलन हुने बेलामा सडकमा नआउने, परपर भाग्ने, अन्तमा सङ्गठनबाटै बाहिरिने अनि सडकमा त्यति थोरै मान्छे भन्दै कराउने पनि छन् । विद्यार्थी आन्दोलनमा यो समस्या सधै“ रहिरहन्छ । तैपनि बढीभन्दा बढी विद्यार्थीलाई सङ्गठित गरेर हामीले आन्दोलनलाई निरन्तर अगाडि बढाइरहन्छौँ । तर उनीहरूको आरोप पूरै असत्य पनि होइन । सङ्गठन र आन्दोलनमा कैयौँ कमजोरी पनि रहेका छन् । त्यसलाई सच्याएर हामी अगाडि बढ्न चाहन्छौँ ।

सूचना र सञ्चारको कारणले भएका गतिविधिलाई फेसबुकमार्फत् प्रचार गर्ने गरिएको छ, जुन ठीक पनि हो । तर फेसबुकमै रमाउने कुरा पनि गलत हो । पहिले सङ्गठन, आन्दोलन अनि बल्ल प्रचारका काम गर्ने हो ।

० अखिल (छैठौँ) मा प्रायःजसो नेतृत्व दोहोरिने र लामो समयसम्म एउटा व्यक्ति नेतृत्वमा रहने गरेको देखिन्छ । यसले सङ्गठनको नेतृत्व विकासमा असर पारेकोजस्तो लाग्दैन?
– हामीले सामूहिक नेतृत्वमा विश्वास गर्दछौँ । हामीले सामूहिक पद्धतिबाटै कार्यसम्पादन गर्दछौँ । सङ्गठनको नेतृत्वमा कति समय रहने भनेको सङ्गठनको आवश्यकताले हो । विद्यार्थी सङ्गठन भएकाले छिटोछिटो फेरबदल भइरहन्छ । कहिलेकाहीँ दोहोरिने हो । व्यक्तिको रहरले कोही पनि नेतृत्वमा आउन सक्दैन र दोहोरिने कुरा पनि हुँदैन । सङ्गठनले जसलाई निर्णय गर्छ, उही रहने हो ।

सङ्गठनले विश्वास गर्न सक्ने हुनको लागि कुनै पनि व्यक्ति सङ्गठनले दिएको जिम्मेवारी पूरा गरेर, आन्दोलनमा सामेल भएर, खारिएरै नेतृत्वसम्म आइपुग्ने हो । कहिलेकाहीँ हाटहुट गरेर नेतृत्व दाबी गरेर मात्रै हुँदैन । हाम्रो सङ्गठनको निश्चित विधि र पद्धति छ । त्यही पद्धतिअनुसार सङ्गठनको नेतृत्वमा रहने हो । कहिलेकाहीँ हाटहुट गरेर क्रान्तिकारी देखिने, अनि सङ्गठनमा काम गर्न नसकेर छिटो विदा लिएर निस्कृय हुने साथीहरू पनि छन् ।

सङ्गठनप्रति पूर्ण लगाव भएका साथीहरूले पार्टीका विभिन्न मोर्चा सम्हालेर बसेका छन् । छोटो समय हाटहुट गर्ने कुराले सङ्गठनलाई खासै फाइदा पुग्दैन । त्यसैले हामीले सङ्गठनात्मक काम, जिम्मेवारी र आन्दोलनबाट खारेरै नेतृत्वमा ल्याउने गरेका छौँ ।

० अहिलेको राजनीतिक अवस्थाप्रति यहाँको मूल्याङ्कन के छ ?
वर्तमान राजनीतिक अवस्था चिन्ताजनक छ । पहिलेजस्तो हरेक ९ महिना वा वर्षदिनमा सरकार परिवर्तन हुने अस्थिरता हटेको भए पनि अन्य समस्या यथावत छन् । राजनीतिक नेतृत्वमा सुझबुझ कमजोर छ । प्रतिगामी शक्तिले गणतन्त्रका विरुद्ध षड्यन्त्र गर्ने मौका पाएका छन् । वर्तमान सरकारका गलत क्रियाकलापका कारणले नै प्रतिगामीले खेल्ने मौका पाएका हुन् । महङ्गी, भ्रष्टाचार, विकास निर्माणमा भइरहेको लापरवाही, बेरोजगारीजस्ता समस्या निरन्तर रहिरहेका छन् । सरकारका गलत क्रियाकलापका विरुद्ध हामी निरन्तर आन्दोलित भइरहनुपर्दछ र जनतालाई सचेत बनाइरहनुपर्दछ ।

० अन्तमा केही भन्नु छ कि ?
– विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार