भारतको असममा नेपालीका १० दुकानमा आगजनी, पाँचवटा घरहरू छतविछ्त

नयाँ दिल्ली । भारतको असमस्थित कार्बी आङ्लोङ जिल्लामा गैरआवासीयहरूलाई निस्कासित गर्नुपर्ने माग गर्दै गरिएको विरोध प्रदर्शनमा नेपालीहरूका करिब १० वटा पसलहरू आगजनी भएको छ ।

असमको पश्चिम कार्बी आङ्लोङ जिल्लामा गैरआवासीयहरूलाई निस्कासित गर्नुपर्ने माग गर्दै गरिएको विरोध प्रदर्शन सोमबार (डिसेम्बर २२–२३) मा हिंसात्मक भएको हो । त्यस दौरान प्रदर्शनकारीहरूले डोङ्कामुकममा कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य र भाजपाका नेता तुलिराम रोङ्हाङको पैतृक घरमा आगजनि गरेका हुन् ।

साँझमा, अतिरिक्त पुलिस बल, सीआरपीएफ र पुलिस कमाण्डोहरू घटनास्थलमा पुगेका थिए । जिल्ला प्रशासनले शान्ति भंग र जीवन र सम्पत्तिमा खतरा रहेको आशंका गर्दै निषेधाज्ञा लागू गरेता पनि कार्विआङलाङको खेलङपी (खेरेनी) मा नेपालीहरूका करिब १० वटा पसलहरू र अन्य जातिका गरि करिब ६०–७० वटा दुकानमा आगजनि भएका छन् । त्यस्तै कैयौ गैरआवासियहरूका घर छतविछ्त भएका छन् ।

पार्वती शर्मा, सुरज क्षेत्री, पंकज क्षेत्री, विष्णु क्षेत्री, विक्रम क्षेत्री, सविता शर्मा, चन्द्र बहादुर क्षेत्री, सिता तामाङ, सानु विश्वकर्मा लगायतका नेपालीहरूका दुकानमा आजगनी भएको छ । त्यस्तै गणेश विश्वकर्मा, धनबहादुर तामाङ, गणेश विश्कर्मा, राजु विश्कर्मा, वालु सुनार लगायतको घर छतविछ्त भएका छन् ।

त्यस्तै विहारी, बंगाली, असामी, बोडो र लगायतका जातिका मानिसहरूका करिब ६०–७० वटा दुकानहरूमा आगजनी भएका छन् ।

पश्चिम कार्बी आङ्लोङ एउटा आदिवासी बहुल पाहाडी जिल्ला हो जुन संविधानको छैटौँ अनुसूचीअन्तर्गत कार्बी आङ्लोङ स्वायत्त परिषद्को क्षेत्राधिकारमा पर्दछ ।

कार्बी आदिवासी संगठनको लामो समयदेखि रहेको मागअनुसार व्यावसायिक चरा आरक्ष (पिजिआर) र गाउँ चरा आरक्ष (भिजिआर) बाट निष्कासनको माग गर्दै विगत दुई हप्तादेखि फेलाङपीमा धरनामा बसेका नौ जनाको आमरण अनशनसँग जिल्लामा तनाव बढेको थियो ।

सोमबार भोक हडतालमा रहेका प्रदर्शनकारीहरूलाई फेलाङपीबाट हटाइएपछि तनाव झनै बढेको थियो । आमरण अनशनमा बसेकाहरूलाई मेडिकल जाँचका लागि भन्दै गुवाहाटी लगिए सँगै उक्त स्थानमा तनाव उत्पन्न भएको थियो ।

अधिकारीहरूले सोमबार भीडलाई तितरबितर गर्न पुलिसले बल प्रयोग गर्दा कम्तीमा तीन जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटनामा एकजना डम्बर बुढाथोकी नाम गरेका नेपालीलाई पलास्टिकको गोली लागेको बताइएको छ । उनलाई समान्य उपचार पछि घर फर्किएका छन् ।

यसैबीच, जिल्लामा तनाव बढेपछि सार्वजनिक व्यवस्था र शान्ति कायम गर्न प्रशासनले भारतीय न्याय सुरक्षा संहिता (बिएनएसएस) को धारा १४४ लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार