हिमाचलमा आठौं सम्मेलन प्रचारात्मक सभा सम्पन्न

सोलन  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले नेपालका जनवादी आन्दोलनमा मुल प्रवाहको भूमिका गौरवपूर्ण रहेको बताउनुभएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेलालाई सम्बोधन गर्दै महासचिव खनालले नेपालीहरुलाई सचेत पार्न समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

महासचिव खनालले भन्नुभयो, ‘मूल प्रवाहले एकातिर भारतस्थित नेपालीहरुको अभिभावकीय भूमिका निभाएको छ भने नेपालीहरुलाई राजनैतिक रूपमा सचेत गरी नेपालको जनवादी आन्दोलनलाई महत्वपूर्ण सहयोग पुर्याएको छ ।’

खनालले नेपालमा जनताले आन्दोलनको बलमा स्थापित गरेका राजनैतिक उपलब्धिहरुलाई कुल्चने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

‘छिमेकी देश भारतका कट्टर हिन्दुत्ववादी साशक, नेपालका राजावादीहरु नेपालमा हिन्दुराज्य र त्यसको आडमा राजतन्त्रको पुनर्स्थापना गर्ने षड्यन्त्र गरिरहेका छन् । एमालेको राजनीतिले पनि त्यसैलाई अगाडि बढाएको छ’ उहाँले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिको अंग रहेको एमसीसी सम्झौता पास गराउन प्रयास भइ रहेको छ । त्यो सम्झौता नेपालको सार्वभौमसत्ताको विरुद्धमा छ । नेपालको अतिक्रमीत भुमिको फिर्ताको लागी आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यकता छ ।’

खनालले अहिलेको अवस्था एकातिर जनताको बलिदानीपूर्ण आन्दोलनका उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्ने र अर्कोतर्फ प्रवासी नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने जिम्मेवारी थपिएको बताउनुभयो ।

‘त्यसै जिम्मेवारीलाई आत्मसात गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो आठौं अखिल भारत नेपाली एकता सम्मेलन ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थिति प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नारा तय गरेको छ’ उहाँले भन्नुभयो ।

नेता खनालले उग्रवामपन्थको अन्ततः दक्षिणपन्थमा पतन भएको आरोप लगाउनु भयो। उहाँले नेकपा (मसाल) सबै प्रकारका प्रतिक्रियावादी, संशोधनवादी र उग्रवामपन्थी विचारको विरुद्ध सम्झौताहिन संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउँदै आइरहेको उल्लेख गर्नुभयो ।

खनालले भन्नुभयो, ‘संख्या बलमा सानो भएता उसको दृष्टिकोण र राजनैतिक दिशा सहि भएकोले नै उसले अगाडि सारेको राजनीति समय सापेक्ष सही सावित भएको छ ।’

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य तथा हिमांचल राज्य समिति अध्यक्ष शोभाखर पंथ, केन्द्रीय सदस्य विरु श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।

हिमांचल राज्य समितिका अध्यक्ष शोभाखर पंथको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन सहयोग समिति गठन गरेको छ । त्यस्तै, विरु श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति, राम सिंह पल्लीको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक समिति र भुवन केसीको संयोजकत्वमा ५७ सदस्यीय प्रचारप्रसार समितिको गठन गरेको छ ।

क्षेत्रीय समितिका ठाकुर प्रसाद पंथको अध्यक्षता, धर्मसिंह डागरको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा आयोजक समितिको तर्फबाट सितारामले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार