
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को अध्यक्षमा समीर सिंह तथा महासचिवमा प्रकाश थापामगर निर्वाचित हुनुभएको छ ।
प्रगतिवादी साहित्यकार तथा नेकपा (मसाल) का प्रवक्तासमेत रहनुभएका रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०७९ साल जेठ २२ गते साँझ भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय भेलाबाट अन्पाको पदाधिकारीमा उहाँहरू निर्वाचित हुनुभएको हो ।
समितिको उपाध्यक्षमा गिरीप्रसाद बुढा, सचिवमा मीन राना र कोषाध्यक्षमा बाबुराम आचार्य रहनुभएको छ । त्यसैगरी, २३ सदस्यीय केन्द्रीय समितिको सदस्यहरूमा दिनेश थापा, कमल कार्की, वैरागी जेठा, ऋतु केसी, कल्पना पौडेल ‘जिज्ञासु’, तारामणि न्यौपाने, जीवनारायण खनाल, ताराप्रसाद शर्मा, खिमराज चालिसे, रवि पौडेल, जनक शर्मा पौडेल, गुरु कुमाल बुलबुल, खगेन्द्रा विष्ट, प्रदीप प्रधान, खड्क पुन, रामप्रसाद गैरे, जनक विसी र खुम रायमाझी रहनुभएको छ ।
एवम् प्रकारले सल्लाहकारमा रामप्रकाश पुरी, मनोज भट्ट, राजेश विक र रेम राना रहनु भएको छ ।
प्रगतिशील लेखकका सामु कठिनाइ
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामप्रकाश पुरीले प्रगतिशील लेखकका सामु प्रशस्त कठिनाइहरू रहेकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताउनुभयो ।
‘हामी प्रगतिशील लेखकहरू वैचारिक एकताको धागोमा उनिएका छौँ’ पुरीले भन्नुभयो– ‘यही वैचारिक एकताले हामीलाई सबै खाले कठिनाइसँग जुध्न सक्षम बनाउँछ ।’
प्रमुख अतिथि पुरीले प्रगतिशील लेखकहरूले समाजको सबैभन्दा तल्लो तप्काका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ केन्द्रीय समितिले सो दिशामा सफलतापूर्वक काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मीन रानाको अध्यक्षता, प्रकाश थापामगरको सञ्चालन तथा बाबुराम आचार्यको स्वागत मन्तव्यका साथ अघि बढेको सो भेलाद्वारा निर्वाचित केन्द्रीय समितिलाई अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव त्रिभुवन भट्टराई बधाई दिनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष समीर सिंहले प्रतिबद्धता मन्तव्य राख्नुभएको सो भेलामा विभिन्न साहित्यकारहरूले रचना बाचनसमेत गर्नुभएको थियो ।














