राष्ट्रियता, प्रतिगमन र संघीयता तात्कालिक राजनीतिक विषय : शर्मा

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले धानरोपाइँको व्यस्त समयमा पनि मल, बिउको व्यवस्था गर्न नसकेको भन्दै तत्कालै मल, बिउ उपलब्ध गराउन सरकारसित माग गरेका छन् ।

२०७९ असार १ गतेका दिन संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

प्रेसवक्तव्यमा उनीहरूले बर्सेनि धानरोपाइँका बेला मल, बिउको अभाव हुनुलाई सरकारको कमजोरी किटान गर्दै त्यसको ठोस वैकल्पिक व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

त्यसैगरी, एम.सी.सी. पास भएदेखि नेपालमा अमेरिकी सैन्य गतिविधिमा तीव्रता आउनु नेपालको राष्ट्रियता, स्वाधीनता, र सार्वभौमिकताको विरुद्ध रहेको उल्लेख गर्दै प्रेसवक्तव्यमा नेपाललाई शक्तिराष्ट्रको अवाञ्छित क्रिडास्थल बन्न नदिनेतर्फ सचेत रहन आग्रह गरिएको छ ।

अखिल नेपाल किसान महासङ्घ (अप्फा) का भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको प्रेसवक्तव्यमा रहेको पूर्ण पाठ यस्तो छ :

“हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ देशका किसान र सम्पूर्ण जनसमुदायले गम्भीर रूपमा ब्यहोर्नुपरेका दुई महत्त्वपूर्ण समस्यामा सरकारको तत्कालै ध्यान पुगोस् र समस्या समाधान गरियोस् भन्ने जोडदार माग गर्दै अन्यथा सङ्घर्षमा उत्रनबाहेक अरू कुनै विकल्प नरहेको यथार्थ दर्शाउँछौँ ।

१. राज्यले धानबाली जस्तो कृषि क्षेत्रबाट २२ प्रतिशत जी.डी.पी. दिने बाली लगाउने बेलामा मल अभावको हाहाकार खडा गरेर किसानलाई पार्ने र कृषि उत्पादनमा ह्रास आउने र किसानको लगानीसम्म पनि नउठ्ने समस्या खडा गरेकाले त्यसको घोर विरोध गर्दै जुनसुकै उपायबाट तत्काल किसानलाई मल उपलब्ध गराउन जोडदार माग गर्दछो । बर्सेनि दोहोर्याइने यस्ता किसानमारा गतिविधिको तीव्र निन्दा र भत्र्सना गर्दछौँ र समयमै मल, बिउको आपूर्ति नगरेर किसानलाई पुग्ने क्षतिको हर्जानासहित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

वर्षैपिच्छे मलको हाहाकार सिर्जना गर्ने र किसानलाई दुःख दिने सरकारको अस्वीकार्य र अमान्य कृयाकलाप, किसानप्रतिको निरन्तरको उपेक्षा तथा मल खरिदमा कमिसन र त्यसको मोलतोलको अवाञ्छित भूमिका रहेको सर्वत्र उजागर भइसकेको छ । अतः समयमै आवश्यक मल, बिउको आपूर्ति गर्न, प्राङ्गारिक तथा जैविक मलको व्यवस्था गर्न र गुणस्तरीय मल, बिउको ठोस वैकल्पिक व्यवस्था गर्न पुनः हामी जोडदार माग गर्दछौँ र सरकारले मल आपूर्ति नगरे सङ्घर्षमा उत्रिन किसान समुदायमा आग्रह गर्दछौँ ।

२. संसद्वादी मूलधारका दलहरूले देशको सार्वभौमिकता र स्वाधीनताको अपमान गर्ने र नेपाललाई अमेरिका अधिनस्थ तुल्याउने एम.सी.सी. जस्तो घोर राष्ट्रघाती सम्झौता संसद्बाट कथित व्याख्यात्मक टिप्पणीको टालोले छोपेर अनुमोदन गरेपछि अहिले नेपालमा अवाञ्छित अमेरिकी सैनिक गतिविधि बढेका छन् र नेपाललाई यसको असंलग्नता र पञ्चशीलमा आधारित परराष्ट्र सम्बन्धबाट स्खलित तुल्याएर अमेरिकी सैन्य गुटमा घिस्याउने गतिविधि तीव्र भएका छन् । हामी यस्ता नेपाललाई विश्व शक्तिविशेषको सैन्य गुटमा फसाउने षड्यन्त्रको कडा विरोध जनाउँछौँ । सरकारले नेपाल र नेपालीलाई शक्तिराष्ट्रका टक्करको अवाञ्छित अखडा बनाउने कृयाकलापको हामी जोडदार विरोध गर्दै सम्पूर्ण नेपाली जनसमुदायलाई बाह्य हस्तक्षेपको विरुद्ध खडा हुन पनि जोडदार आग्रह गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार