हेपाहा दृष्टि राख्नेहरु- पारिजात

• पारिजात

हेपाहा हुन्छन् यी भारतीयहरु नेपालीप्रति । यो कुरा भारतमा कार्यरत, अध्ययनरत तथा भारत भ्रमणमा जाने सबै नेपालीलाई अनुभव भएको हुनुपर्छ । नेपालीलाई लिएर उनीहरु उच्चताभास पाल्छन्, एउटा साधारण भारतीयले कुनै पनि हैसियतको नेपालीलाई मौका पायो कि यो प्रबृत्ति देखाउन चुक्तैन ।

आजको विकसित बैज्ञानिक युगमा पनि भारत आफ्नो रहस्य, रोमाञ्च, तन्त्रमन्त्र, जादूटोना, भूतप्रेत, सती, बलिजस्ता मानविरोधी कृत्यहरुको निम्ति विश्व प्रशिद्ध छ । हुन पनि भारतको आफ्नो भन्नु यही सब हुन् । त्यहाँको प्रत्येक राजनेताहरुको पछि एउटा एउटा तान्त्रिक गुरु इष्ट देवताको रुपमा हुने गर्छ ।

आज पर्यन्त भारतको कति गाउँमा सती जान प्रेरणा दिईन्छ, पुलिस समिता हेरेर बस्छन्, सतीको परिवारले आफ्नो कूललाई गौरवान्वित भएको ठान्दछ । आज पनि भारतको कुनै कुनै परिवारले धनधान्य र सम्पन्नताको निम्ति आफ्नै नाबालक छोरा छोरीलाई महामाया तथा कालीको नाउँमा बलि दिदैछन् । आजसम्म पनि भारतका कथित आदर्श युवकहरुले केटीसंग होईन, दाईजोसंग बिहे गर्दैछन् र अतिरिक्त दाइजोको शर्त लगाएर कयौं नयाँ दुलहीहरुलाई ज्यूँदै जलाएर मार्दैछन् ।

भारत यस्तो देश हो, जहाँ बन्दी बनाईएकाहरुलाई ज्यूँदैमा साइकलको झीरले आँखा झिकेर अन्धा तुल्याइदिन सक्ने निर्दयी पुलिसहरुको बोलबाला छ । बेजोड देश हो भारत, त्यहाँका जनताले राजनीति शून्य अभिनेता अभिनेत्रीलाई अत्यधिक बहुमतमा भोट दिएर आफ्ना प्रतिनिधि चुन्दछन् । दस्यु(विद्रोही?) भनिने डाँकाहरुले थर्काएको देश हो भारत, जबसम्म उनीहरु आफैं आत्मासमर्पण गर्दैनन् कस्तै प्रशिक्षित पुलिसहरुको पनि केही लाग्दैन त्यहाँ । भारतमा यस्ता दस्यू गिरोहले फोनबाट अथवा पत्रबाट अग्रिम सूचना दिएर निश्चित समयमा कडा सुरक्षा फोरेर पनि अपहरण तथा डाँकाजनी फैसला गर्छन् । उसमाथि पनि भारतभरिमा सबैभन्दा खँुखार अपराधी र अपराध परिपाटीको अखडा हुन्, बिहार र उत्तर प्रदेश, जस्को पूर्व र पश्चिम सिमाना नेपालसंग गाँसिएका छन् । भाषा संस्कृतिको आदान प्रदान हुने कुरो प्रमुख होईन यहाँ, यहाँ त बारिपारी बिहेबारी चल्छ, दाइजोको आदान प्रदान चल्छ । दाइजोसम्मलाई पनि छोडिदिऊँ, तर अपराध परिपाटीमा पछि परेको देशले दाइजोसंगै अपराध, अपराध परिपाटी, खप्पिस अपराधी सबै भित्र्याउँछ । अब आतंक पनि शायद आतंकारी पनि ।

यसै पनि गोरखपुर पोहोरको विश्व रेकर्डमा अमेरिकाको टेक्सासभन्दा दोश्रो अपराधस्थल मानिएको छ ।

त्यसो त यस्तै यस्तै क्रियाकलापबाट मात्र भारतलाई मूल्याँकन गर्न मिल्दैन । कारण, त्यहाँ पनि अरु देशको संप्रभुताको महत्व बुझ्न सक्ने, अक्षुण्णताको चाहना गर्ने तत्वहरु छन्, यसैले कि, सैद्धान्तिक धरातल एउटै छ । तर बहुसंख्यक भारतीय यस्ता छैनन् । गरीब, शोषित जनताप्रति संम्बेदनशील वर्ग त्यहाँ छ तर धेरैजसो भरतीय हामीप्रति हेपाहा दृष्टि राख्दछन् । अपराध परिपाटी, अपराधी विभिन्न रुपमा खुला सिमानाको जतासुकैबाट छिरिरहेछन्, । भविश्य वर्तमान भएर पसिसक्यो, नेपालमा अझै हामी आँखा चिम्लने ?

♦युगधारा, बर्ष ३, अंक ३४, २०४२ आषाढ २४ गते सोमबार

♦ पारिजात संकलित रचनाहरु
निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम ग्रन्थः ६

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार