सन्तानप्रति आमाको माया नै सबैभन्दा उत्कृष्ट प्रेम- मोहनविक्रम सिंह (अन्तर्वार्ता)

  • "२००७ सालको आन्दोलनमा बीपी र सुवर्णसँग काम गरेँ "
  • म २०२७ सालको चैत्रमा जेलबाट छुटेँ । काठमाडौंको अमृत साइन्स कलेजमा ०२८ जेष्ठ १ गतेको विद्यार्थी दिवसको उपलक्ष्यमा कामरेड मनमोहन अधिकारी र म वक्ता थियौँ । सभा सकिएपछि मेरो भाषण कसैले पनि नबुझेको कुरा धेरैले मलाई बताएका थिए । त्यसपछि मैले त्यो सभामा प्रकट गरेका विचारहरूबारे एउटा लेख लेखेको थिएँ र त्यो लेख कुनै साप्ताहिकमा प्रकाशित भएको थियो ।अहिले करिब ५३ वर्षपछि त्यही प्रकारको घटना दोहोरिएको छ ।

    यही फागुनको १७ गते पोखरामा ‘नेपाल साहित्य उत्सव २०२५’को ‘राजनीति र साहित्यको आयाम’को विषयमा एउटा सम्वाद कार्यक्रम आयोजित भएको थियो । त्यो कार्यक्रममा श्री विजय कुमारले सहजकर्ताको भूमिका निभाउनु भएको थियो । त्यो कार्यक्रममा उहाँको प्रश्नको जवाफमा मैले दिएका उत्तरहरू पनि त्यति स्पष्टसित बुझिएका थिएनन् र धेरैले मलाई त्यो कुरा बताउनुभएको थियो ।

    ५३ वर्ष पहिलेको काठमाडौँको विद्यार्थी कार्यक्रममा त्यो बेला म छिटो बोल्ने भएको हुनाले मेरा कुराहरू बुझिएका थिएनन् । अहिले घाँटीको समस्याका कारणले मेरो आवाज प्रष्ट नभएको हुनाले मेरा जवाफहरू ठीकसित बुझिएका थिएनन् । त्यसकारण अहिले पनि मैले ५३ वर्ष पहिले जस्तै आफ्ना जवाफहरू लिखित रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु ।

    अहिले म छिटो बोल्ने भएको हुनाले मेरो भाषण बुझिएको थिएन अहिले मेरो आवाजको समस्याका कारणले मैले बोलेको ठीकसित बुझिएको छैन । तैपनि पहिलेभन्दा अहिले एउटा राम्रो कुरा के भएको छ भने अहिले मेरा सबै जवाफहरू भिडियो गरिएका थिए र त्यसका आधारमा मेरो सबै जवाफहरूलाई प्रष्ट रूपले लेख्न सम्भव भएको छ । –मोहनविक्रम सिंह

    प्रश्न- सबैलाई नमस्कार स्वागत छ । मोहनविक्रम सिंहजी तपाईंको उपस्थितिमा म गौरवान्वित महसुस गर्दछु । विचारहरू केहीमा सहमत, केहीमा असहमत भएपनि तपाईंको जीवनप्रतिको निष्ठा देखेर म चमत्कृत छु । हिजो प्लेन क्यान्सिल भयो । निरजलाई मैले बिहान भन्दै थिएँ ‘म भएको भए त आउने थिइँन ।’ म एउटा सुविधाभागी पुस्ताको मान्छे । … लिवरल । कुरामा प्रगतिशील । जीवन यापन गर्ने कुरामा भौतिक ।तपाईंजस्तो मान्छेका अगाडि झुट बोल्न पनि सङ्कोच भएकोले कुरा प्रष्ट राखेको छु ।तपाईंका जीवनका विचारधाराहरू अफ्नो ठाउँमा होलान् । त्यसमा कोही सहमत होला, कोही नहोला । तर तपाईंले नेपाली जनतामा चेतनाको जुन विस्तार गर्नुभएको छ, सबैभन्दा पहिले त्यसलाई सादर स्मरण गर्न चाहन्छु । उहाँका विचारसित असहमत हुनेहरूलाई पनि उहा“लाई तालीले स्वागत गर्न अनुरोध गर्दछु ।

    लोकतन्त्र, प्रजातन्त्रका लामालामा कुरा गर्नेहरूलाई हामीले वर्षैदेखि सुनिरहेका छौँ । लोकतन्त्र प्रजातन्त्रको सबैभन्दा मानक परिभाषा मेरो निम्ति यो हो कि तपाईं आफ्ना असहमतहरूसँग कसरी व्यवहार गर्नुहुन्छ ? कसरी प्रस्तुत हुनुहुन्छ ?बडो दुःखको कुरा छ कि हाम्रो समाजमा रेडिकलाइज भइराखेको छ । त्यसले हामीलाई धेरै टाढा लिएर जाँदैन । मोहनविक्रमजी ९० वर्षको पुग्नु भयो । भगवानले तपाईंलाई दीर्घायु दिऊन्, स्वास्थ्य दिऊन् । भगवान त तपाईं मान्नुहुन्न क्यारे, मान्नुहुन्न भने प्रकृतिले दिऊन् । साथै यो हललाई मेरो अनुरोध के छ भने यस्तो अवसर हामीसँग सँधै मिल्दैन । म मनिषाजी तपाईंको उपस्थितिप्रति पनि कृतज्ञ छु । जीवनका विभिन्न रङ्ग छन् त्यसको एउटा रङको चरम विन्दु तपाईं हुनुहुन्छ। एउटा बेग्लै प्रकारको रङको चरमविन्दु मोहनविक्रमसिंह हुनुहुन्छ । जीवन विभिन्न प्रकारका रङ्गहरू मिलेर बनेको छ । विविधता छ र पो त जीवन छ ।

    मोहनजीसँग मेरो जीवनमा पहिले भेट भएको छ कि छैन?मलाई सम्झना छैन । तपाईं त धेरैजसो भूमिगत नै हुनुहुन्छ । धेरैजसो भूमिगत अवस्थामा नै बस्नु भयो जीवनमा । आजको दिनमातपाईँ भूमिगत हुनुहुन्छ कि अर्धभूमिगत हुनुहुन्छ ?तपाईंको अवस्था के छ?त्यसबाट कुरा सुरू गरौँ ।

    उत्तर- अर्धभूमिगत ।

    प्रश्न – तपाईं आज एकदिनको निम्ति बाहिर आउनुभएको हो ?
    उत्तर – त्यसको व्याख्या गरौँला ।

    प्रश्न – उपस्थिति श्रोता दर्शकहरूलाई के अनुरोध गर्न चाहन्छु भनेधैर्यधारण गरेर उहाँलाई सुनिदिनुहोला । उमेरको तकाजा छ । सायद उहाँको उमेरमा हामी कोही बाँचेका पनि हुँदैनौँ । हामीसित एउटा बयोवृद्ध ९० वर्षको वृद्ध हुनुहुन्छ । उहाँ जोशका हिसाबले कुनै युवाभन्दा कम हुनुहुन्न । तपाईंबाट सुरू गरौँ । तपाईं अहिले अर्धभूमिगत हुनुहुन्छ कि काठमाडौँ गएपछि पुनः भूमिगत हुनुहुन्छ त्यसको व्याख्या गरिदिनुहोस् न ?

    उत्तर- आदरणीय जनसमुदाय, सर्वप्रथम मैले तपाईंँहरू सबैलाई अभिनन्दन गर्न चाहन्छु। जस्तो कि अहिले विजय जीले व्याख्या गर्नुभयो मेरो ९० वर्षको जीवन त्यसमध्ये लामो समय नेपालको प्रजातान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनमा बितेको छ । जीवनको यो कालमा म लामो समय जेल बसेँ, भूमिगत भएँ । अहिले म अर्धभूमिगत अवस्थामा छु। अर्धभूमिगत यस मानेमा कि मलाई अहिले कुनै सरकारबाट वारेन्ट छैन । हाम्रो पार्टी ने.क.पा. (मसाल)लाई हामीले भूमिगत नै राखेका छौँ । त्यसको महामन्त्रीको हैसियतले म चाहिँ अर्धभूमिगत छु । पूरै भूमिगत पनि छैन, पूरै खुला पनि छैन।

    प्रश्न- उहाँले भर्खरै एउटा उपन्यास लेख्नुभएको छ– कामरेड जलजला । १३२० पृष्ठको उपन्यास छ । सम्भवतः नेपाली साहित्यमा आजसम्म रचिएको कीर्तिमध्ये ठूलो कृतिशब्दका हिसाबले । धेरै प्रश्न सोध्नुपर्ने छ मिलेसम्म सङ्क्षेपमा उत्तर दिने कोसिस गर्नुहोला । तपाईंं भीष्म पितामह हुनुहुन्छ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारको । उहाँका शिष्यका ठुलाठुला नामहरू छन् – प्रचण्डजी, बाबुरामजी, महराजी । यो लिस्ट लामो छ । म भर्खरै रोल्पा गएको थिएँ, त्यहाँ एउटा महिलालाई भेटेँ । उहाँसित सोधेँ तपाईं कसरी कम्युनिस्ट हुनुभयो? उहाँले भन्नुभयो – ‘मोहन सरले धेरैलाई कम्युनिस्ट बनाउनुभयो धेरैमध्ये एउटाले मलाई बनायो’ । आज तपाईंँलाई आफ्ना शिष्यहरूलाई देखेर गर्व महसुस हुन्छ कि ग्लानी लाग्दछकि, हैन जीवन यस्तै हो जस्तो लाग्दछ?

    उत्तर- पहिले त तपाईंले जुन गुरु र शिष्यको सम्बन्धकोउल्लेख गर्नुभयो, हामीले हाम्रा साथीहरूको सम्बन्धलाई गुरु र शिष्यको सम्बन्ध मान्दैनौँ । पार्टीमा कोही केही दिनपहिले आए, कोहीकेही दिनपछि आए । त्यहाँ गुरु र शिष्यको सम्बन्ध होइन, साथीहरूको सम्बन्ध हो । देशका हजाराँ साथीहरूसित मैले पार्टीमा साथसाथै काम गरेँ । कतिपय साथीहरू हामीबाट अलग भएर जानुभयो त्यसलाई मैले शिष्य ठान्दिन । मैले आफूलाई गुरु पनि भन्दिन । हामी नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनका सहयोद्धा हौँ । अहिले हाम्रा दृष्टिकोण र विचारहरू बेग्लाबेग्लै छन् । तैपनि जसले जहाँ जुन रूपमा देशको प्रजातान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलनका लागि जति सहयोग गरिराख्नुभएको छ त्यसका लागि मैले सबैलाई धन्यवाद दिन्छु।

    प्रश्न- तपाईंलाई उनीहरूप्रति कुनै गुनासो, ग्लानीवा गर्व के छ ? एक शब्दमा भनिदिनुस् न ।
    उत्तर- धेरै मतभेद छन् । मतभेद भन्नुको अर्थ हो हामीले अरू साथीहरूले अपनाएका कतिपय नीतिहरूलाई कार्यक्रमहरूलाई गलत मानेका छौँ । त्यसैले हाम्रा साथीहरूको बिचमामतभेद छन् । कैयौँ विषयमा हामीले उहाँहरूलाई गलत मानेका छौँ, उहाँहरूले हामीलाई गलत मान्नुभएको छ। त्यसैलेको सही छ? को गलत छ? इतिहासको लामोकालखण्डमा त्यो निर्णय हुँदै जाने कुरा हो।

    प्रश्न- तपाईंंले पुनः आज उहाँहरूलाई शिक्षा दिनुप¥यो भने के त्यही पुरानैशिक्षा दिनुहुन्छ कि नयाँ शिक्षा दिनुहुन्छ अथवा त्यो बखतको लागि त्यही शिक्षा ठिक थियो?आजको युगको लागि बेग्लै शिक्षा चाहिन्छ। व्याख्या नगरिकन तीन शब्दमा उत्तर दिनुभयो भने अनुग्रहित हुने थिएँ ।

    उत्तर- के सही थियो, के गलत थियो?जति पुराना कुराहरू थिए, मूलभूत सिद्धान्तहरू अहिले पनि सही छन् । तर इतिहासका विभिन्न खण्डमा हामीले जुन नीतिहरू अपनायाँै ती पुराना भए । कैयौँ गलत भए । नयाँ परिस्थितिमा हामीले नयाँ विचारहरू अपनाउँदै आएका छौँ । इतिहासमा परिवर्तन हुँदै जाँदा पुराना सबैविचारहरू गलत थिए पनि भन्दैनौँ । आफनो समयमा ती सही थिए । तीमध्ये कैयौँ गलत पनि भएका छन् । हामीले अपनाएका विचारहरूमध्ये कति सहीर गलत छन् र साथीहरूले अपनाएका विचार कति गलत छन् त्यो इतिहास र व्यवहारले फैसला गर्दै जानेछ ।

    प्रश्न- तपाईंंले भनेको एउटै कुरासित म के सहमत छु भने इतिहासमा भएकाघटनाहरूलाई वर्तमानको चस्मा लगाएर हेर्न सकिँदैन। नेपालमा एउटा रोग छ। हामी इतिहासमा घटित घटनाहरूलाई वर्तमानको चस्मा लगाएरहेर्छौँ भने हामी सत्यको नजिक पुग्दैनौँ । इतिहासको घटनालाई हामीले इतिहासकै चस्मा लगाएर हेर्दा बुझ्न सजिलो हुन्छ । तपाईंंले लामो समयसम्म सशस्त्र सङ्घर्षको वकालत गर्नुभयो। तपाईंंका शिष्यहरूले त्यसलाई कार्यान्वयनमा ल्याए । त्यही सही थियो, त्यो गलत थियो भनेर म छलफल गर्न चाहन्न । आजको दिनमा तपाईंंले शिक्षा दिनुप¥यो भने नयाँ अध्याय जोड्नुहुन्छ कि पुरानोले नै पुग्छ?

    उत्तर- जो सशस्त्र सङ्घर्षको सिद्धान्त हो, माक्र्सवाद–लेनिनवादले के भन्दछ भने आजको व्यवस्थामा परिवर्तनका लागि आमूल परिवर्तनका लागि सशस्त्र सङ्घर्ष अनिवार्य छ। तर त्यसका पनि नियमहरू छन्। जस्तै वैद्यले कुनै औषधि दिन्छ त्यसका विधिहरू हुन्छन् । दुध, घिउ खानुस् या कुनै औषधिको प्रयोग गर्नुहोस् समय, परिस्थिति र मात्राको ख्याल गर्नुपर्दछ। त्यस्तै सशस्त्र सङ्घर्षको सिद्धान्त नै गलत भयो भनेर हामीले भन्दैनौँ । गल्ती कहाँनेर भयो भने स्वयं माक्र्सवादी–लेनिनवादी सिद्धान्तले सशस्त्र सङ्घर्षको लागि जुन प्रक्रिया निर्धारित गरेको छ परिस्थिति निर्धारण गरेको छ त्यसलाई उहाँहरूले सही प्रकारले प्रयोग गर्नुभएन। त्यसकारण त्यो सङ्घर्ष गलत हो। त्यसैले हामीले त्यसलाई उग्र‘वामपन्थी’ भन्यौँ । कतिपय अवस्थामा उहाँको सशस्त्र सङ्घर्षले आतङ्कवादी रूप पनि ग्रहण ग¥यो । सशस्त्र सङ्घर्षको सिद्धान्त नै गलत भएको छैन । उहाँहरुले त्यसलाई जसरी प्रयोग गर्नुभयो यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुरुप थिएन । त्यसकारण त्यो गलत थियो ।

    प्रश्न- कम्युनिस्ट नेताहरूबारे मेरा मनमा बेलाबखतमा एउटा कुरा आइराख्छ। सङ्ग्रौलालाई पनि सोधेँ । कम्युनिस्ट नेता अरू नेताहरू वा अरू अरू नेताहरू भनेर विभाजन गर्न चाहन्न । तपाईंंलाई यो नियम लाग्दैन। तपाईंंको जीवनको जुन सादगी देख्दछु त्यसपछि मैले कैयौं नेताहरूप्रति गर्ने सजिला टिप्पणीको हलुकापनको आफै महसुस हुन्छ । तपाईंका कैयौँ शिष्य, नेता उनीहरूले जीवनमा जे जस्तो तरिकाले गतिविधि गरे जसरी उनीहरूको जीवनशैलीमा कायाकल्प भयो । जसरी उनीहरूले जायज–नाजायज तरिकाले आयआर्जन गरे । कैयौँ कम्युनिस्टहरू कुनै दिन ठगौँला भनेर निस्केका थिए कि यात्रामा थिए? कि बाटामा हिँड्दा हिँड्दै मान्छे त्यस्तो भएको हो? मान्छे सुरूदेखि नै गडबड हुन्छ कि बाटोमा हिँड्दा हिँड्दै बिटुलिन्छ?

    उत्तर- नेपालमा मात्र होइन, संसारमा नै ठुलो सङ्ख्यामा कम्युनिस्टहरूको पतन, विचलन भएको छ, भ्रष्ट भएका छन् । त्यसको असर नेपालमा पनि पर्दछ । जस्तो कि भन्नुहोस् एउटा मुसलमान, बुद्धिस्ट, हिन्दु, कर्मचारी, शिक्षक हुन्छ। सबैले के गर्नुपर्दछ र के गर्नु हुँदैन भन्ने एउटा नियम छ। कैयौँ मानिस त्यो नियमबाट विचलन हुन्छन्। कम्युनिस्टहरूले पनि के गर्नुपर्दछ? केका लागि कम्युनिष्ट पार्टीको गठन भएको हो ?के गर्नुहुँदैन त्यसका लागि सिद्धान्त छन्,नियम छन्। ठुलो सङ्ख्यामा कम्युनिस्टहरूको त्यो नियम, सिद्धान्त र आचरणबाट विचलन भएको छ। संसार भरमा त्यस प्रकारका विचलनका प्रवृत्तिहरू देखापरेका छन्। नेपालमा पनि कम्युनिस्टहरू जस्तो हुनुपर्दथ्यो त्यस्तो भएका छैनन्। जस्तै कि बुद्धिस्ट बुद्धिस्ट जस्तो नभएर उनीहरूको विचलन भएको छ । मुसलमानहरूको विचलन भएको छ। त्यही प्रकारले कम्युनिस्टहरूको पनि ठुलो सङ्ख्यामा विचलन भएको छ। पतन भएको छ ।भ्रष्ट भएका छन् ।जसको कम्युनिस्ट सिद्धान्तबाट विचलन भएको छ । तिनीहरू कम्युनिस्ट होइनन् र उनीहरूलाई हामीले कम्युनिस्ट भन्दैनौं । उनीहरूले कम्युनिस्टको नाममा भ्रम दिएका छन्।

    प्रश्न – मोहनजी तपाईंं दार्शनिक पनि हुनुहुन्छ। अहिले एउटा शब्द प्रयोग गर्नुभयो आजभोलि कम्युनिस्ट कम्युनिस्ट जस्तो छैन । डेमोक्रेट डेमोक्रेट जस्तो छैन । राजावादी राजावादी जस्तो छैन। सबै नक्कलीजस्तो छ के । नक्कली कम्युनिस्ट, नक्कली राजावादी, नक्कली काङ्ग्रेस भएको हो कि अन्तरघुलन भएको हो? मिसमास भएको हो? कम्युनिस्टमा लाग्नु पनि स्वाभाविक हो कि कम्युनिस्टले विशिष्ट प्रकारको चरित्र निर्माण गर्नुपर्दछ?के कम्युनिस्ट बेग्लै हुन सक्दछ कि सक्दैन?

    उत्तर- वास्तवमा संसारमा लाखौँ कम्युनिस्टहरू छन् जो वास्तवमा कम्युनिस्टहरू जस्तै छन्। उनीहरूले त्याग गरेका छन् बलिदान गरेका छन् शोषित पीडित जनताका लागि काम गरेका छन्। त्यसै गरेर बुर्जुवाहरूमा पनि भन्नुस् नेपाली काङ्ग्रेसमा भन्नुस्। अरू कुनै प्रजातान्त्रिक पार्टीमा भन्नुस्। संसारमा र नेपालमा पनि धेरै बुर्जुवा नेता, कलाकार, साहित्यकारहरू छन् जसले आफ्नो सिद्धान्त, नीति र जिम्मेवारी अनुसार जिम्मेवारी पूरा गरेका छन्। तपाईंंले राजाको कुरा गर्नुभयो। इतिहासमा पृथ्वीनारायण शाह जस्ता राजाहरू पनि पाइन्छन् जसले नेपालको छरिएका राज्यहरुलाई मिलाएर एकीकृत गरे । यस्ता राजा अन्यत्र पनि पाइन्छन् जर्मनीमा बिस्मार्क पाइन्छन् । त्यसैगरी अन्यत्र पनि देशभक्त राजाहरू पाइन्छन् । तर नेपालका राजाहरूलाई हेर्नुभयो भने धेरै भ्रष्ट भएका, व्यक्तिगत स्वार्थका लागि तस्करी गर्ने, स्वार्थका लागि गलत नीतिहरू अपनाउने यस्ता राजाहरू पनि नेपालमा र संसारभरमा देखापरेका छन्। संसारभरमा ठुलो सङ्ख्यामा कम्युनिस्टहरू छन् जो आफ्नो सिद्धान्त, नीति अनुसार आफ्नो क्रान्तिको उद्देश्यका लागि त्याग गरेका, बलिदान गरेका, जनताको लागि काम गरेका छन् । त्यसका लागि जीवन समर्पण गरेका छन्। दुवै प्रकारका प्रवृत्ति सबै क्षेत्रहरूमा पाइन्छन्।

    प्रश्न- मोहनविक्रमजी तपाईंंले आफूलाई पछाडि फर्केर हेर्दाखेरि कुनै पछुतो महसुस हुन्छकि तपाईंका चेलाहरू कहाँ पुगे? संसारिक भाषामा उनीहरूले कत्रो कत्रो प्रगति गरे तपाईंंलाई आफ्नो जीवनमा कुनै पछुतो छ ?

    उत्तर- जीवनमा कैयौं गल्तीहरू मैले पनि गरेको छु। यसको मूल्याङ्कन गर्नु पर्यो भने त्यसको बेग्लै पाटो छ। तर के कुराप्रति मलाई हर्ष, गौरवर प्रसन्नता छ त्यो यो हो कि मेरो जो सिद्धान्त छ त्यसका लागि म लगातार अगाडि बढिरहेको छु। त्यसका लागि मलाई पश्चाताप छैन। अहिले पनि म आफ्नो सिद्धान्तका लागि लगातार अगाडि बढिरहेको छु। मैले बारम्बार भन्ने गरेको छु मैले साथीहरूलाई आफ्नो चेला ठान्दिन । पार्टीका धेरै साथीहरू हुनुहुन्छ जो सिद्धान्तबाट विचलन हुनुभएको छ, त्यसै गरेर बुर्जुवा पार्टी, प्रजातान्त्रिक पार्टीहरूपनि हामीले देख्दछौँ नेपालका नेपाली कांग्रेस या यस्ता कैयौं पार्टीहरू जसले जुन सिद्धान्त अपनाए, त्यसबाट विचलन वा भ्रष्ट भएका पनि थुप्रै नेताहरू छन्। कम्युनिस्ट, काङ्ग्रेस, कर्मचारी, सेना, कलाकार, बुद्धिजीवीमा आफ्नोसिद्धान्त, आस्थाबाट विचलन भएका थुप्रै उदाहरणहरू छन्। त्यो चिज गलत हो। तपाईंले कामरेड जलजला उपन्यासको कुरा गर्नुभयो मैले आफ्नो कामरेड जलजला उपन्यासमा त्यही प्रकारको जीवन्त प्रकारको दर्शन, दृष्टिकोण दिने प्रयत्न गरेको छु। सम्पूर्ण समाजको लागि सम्पूर्ण विश्वको लागि हाम्रो नेपालको लागिर स्वयं कम्युनिष्टको लागि पनि । त्यही आदर्श पेश गर्ने प्रयत्न गरेको छु ।

    प्रश्न- कसैलाई थाहा हुन पनि सक्छ थाहा नहुन पनि सक्छ । मोहनबिक्रम सिंहको एउटा बृहत कृति आएको छ – कामरेड जलजला । १३२० पृष्ठको उपन्यास । जीवनका विभिन्न रङहरू मिलेर बनेको छ। सबैलाई यो पढ्नको लागि अनुरोध गर्दछु। मानिसहरू भन्छन् के तपाईंंले त्यो कृति आफ्नो प्रेमिकाको सम्झनामा लेख्नुभएको हो? त्यो साँचो कुरा हो ?

    उत्तर- जुन उपन्यास छ त्यसको मुख्य पक्ष हो एउटा जीवनप्रतिको दृष्टिकोण, दर्शन, समाजको विषयमा छ । त्यो उपन्यासमापूरै काल्पनिकता छैन। कतिपय कल्पनाको पनि मद्दत लिएको छ। जीवनका कैयौँ वास्तविक घटनाहरू । आफ्नै जीवनका कतिपय वास्तविक घटनाहरू । समाजका कैयौँ वास्तविक घटनाहरू ।हामीले देखेका साथीले देखेका कैयौँ वास्तविक घटनाहरूलाई पनि मैले त्यसमा दिने प्रयत्न गरेको छु। त्यसरी त्यो वास्तविकता, काल्पनिक र सत्यताको एउटा मिश्रण हो ।

    प्रश्न- तपाईंंले लेखकको रूपमा जीवनलाई हेर्नु र राजनीतिज्ञको रूपमा जीवनलाई हेर्नुमा के भिन्नता पाउनुहुन्छ ? जस्तो कि बीपी कोइराला महान् लेखक, राजनीतिज्ञ पनि हुनुहुन्छ । तपाईंंले लेखकको रूपमा जीवन, जगत र राजनीतिलाई जसरी हेर्नुहुन्छ त्यसमा कुनै भिन्नता छ कि सपाट छ। एउटै छ तपाईका लागि? तपाईंंको लागि लेखन राजनीतिको विस्तारको माध्यम हो कि होइन? जस्तो कि बीपी कोइरालालाई साहित्य राजनीति विस्तारको माध्यम होइन, तपाईंंको लागि के हो?

    उत्तर- कामरेड जलजला उपन्यासको पहिलो पङ्क्तिमा त्यसको प्राक्कथनमा नै एउटा भनाइ छ – विश्व र व्यक्तिका बिचमा जुन सम्बन्ध हुन्छ, ती अन्तरसम्बन्धित हुन्छन् । ती दुवैका बिचमा घनिष्ठ सम्बन्ध हुन्छ। दार्शनिकहरूले पनि त्यो कुरो बताएका छन्। जीवन, विश्व र व्यक्तिका बिचघनिष्ट सम्बन्ध हुन्छ।त्यो कुरा संसारका सम्बन्धमा सत्य हो। मेरो जीवनबारे पनि सत्य हो। साहित्य र राजनीति दुवै जीवनका अङ्गहरू हुन्। तीसबै एकअर्काबाट अलग हुँदैनन्। त्यसकारण मेरो ७० वर्षको राजनीतिक जीवनमा साहित्य पनि जोडिएको छ । राजनीति पनि जोडिएको छ । दुवै एउटै कुराका बेग्लाबेग्लै पक्षहरू हुन्। तिनीहरूको आपसमा अन्तरघुलन छ। घनिष्ट सम्बन्ध छ। जुन उद्देश्य पूर्ति गर्नका लागि मैले राजनीतिक जीवनलाई अगाडि बढाउने कोसिस गरेको छु। त्यही कुरा मैले साहित्यद्वारा पनि गर्ने प्रयत्न गरेको छु।

    अहिले मेरो उपन्यास निस्केको छ कामरेड जलजला । यो भन्दा पहिले मैले पाँचवटा उपन्यास लेखेको थिएँ। ती सबै हराए र प्रकाशित हुन सकेनन् । राजनीतिक क्षेत्रमा पनि मैले कैयौँ पुस्तक लेखेको छु। थुप्रै लेखहरू लेखेको छु। त्यसका रूपहरू बेग्लाबेग्लै ठाउँमा बेग्लाबेग्लै होलान्। मूल रूपमा हेर्ने हो भने राजनीति र साहित्य, जीवनका, समाजका आपसमा सम्बन्धित अङ्गहरू हुन्। एकअर्कासँग जोडिएका छन् । त्यसकारण ती सबैलाई बेग्लै गराएर हेर्न मिल्दैन । बेग्लै पनि हुन् एकै पनि हुन् । साथसाथै जोडिएका पनि छन्, बेग्लाबेग्लै पनि छन्। सम्पूर्णसमाजलाई हेरौँ। प्रत्येक व्यक्ति बेग्लाबेग्लै छौँ विचार, व्यवहारका दृष्टिकोणले । अर्कातिर हामी सबै आपसमा जोडिएका छौँ । एउटा समाज, संस्कृति, जीवन, इतिहास सबै कुराहरुमा आपसमा जोडिएका छौं । हामी जोडिएका पछि छौँ, अलग पनि छौँ। त्यही कुरा साहित्य र राजनीति एक आपासमा जोडिएका पनि छन्, बेग्लै पनि छन् । सबैले तिनीहरूलाई आफ्नो किसिमबाट व्याख्या गर्दछन्, हेर्दछन् ।

    प्रश्न- मोहनविक्रमजी पछिल्लो समयमा कम्युनिस्ट पृष्ठभूमिबाट आएर लेखेका लेख, साहित्य, उनीहरूको राजनीति ओरालो लाग्दै गएको देखिन्छ नि?

    उत्तर- हो कम्युनिस्ट आन्दोलन ओरालो लाग्दै गएको कुरा सत्य हो। केही दिन पहिले मैले एउटा अन्तर्वार्तामा जलजलाको चर्चा हुँदाखेरि त्यो भनेको थिएँ। कम्युनिस्ट आन्दोलन पतोन्मुख दिशामा छ। यो संसारमा के हुन्छ भने, एउटै शरीरभित्र पनि विभिन्न अङ्गहरूको उत्थान पनि भइरहेको हुन्छ, ह्रास पनि भइरहेका हुन्छन् । हाम्रो शरीर दुवै प्रक्रियाबाट साथसाथै गइरहेको हुन्छ।

    प्रश्न- मोहनविक्रमजी कम्युनिस्ट आन्दोलन शिखरमा पुगेर ओरालो लागेको हो कि, शिक्षा नै गलत हो कि, विद्यार्थी गलत हुन् कि, शिक्षक गलत हो?

    उत्तर- तपाईंंले हेर्नुस्, तपाईंंले खेती गर्नुहोस्, फलफूलको अन्नको त्यसमा दुवै प्रवृत्तिहरू हुन्छन्। त्यसका कैयौँ अङ्गको विकास हुँदै आएको छ। कैयौँ अङ्गको पतन पनि हुँदै आएको छ। पतन र विकासको प्रक्रिया समाजमा सँगसँगै अगाडि बढ्दछ। त्यो सबैतिर हुन्छ। ठीक त्यसै गरेर कम्युनिस्ट आन्दोलनमा पनि त्यस्तै भयो। यो उच्चतहमा पुग्यो । रूसमा समाजवादी व्यवस्था कायम भयो । चीनमा समाजवादी व्यवस्था कायम भयो। अरू देशमा पनि समाजवादी व्यवस्था कायम भए त्यसपछि तल पनि गयो ।

    प्रश्न- जीवनको कुन बिन्दुमा तपाईंँलाई कम्युनिस्ट हुने विचार आयो?उराठ पहाडमा तपाईंँलाई चेतना केले दियो होला?म कहिले कहिले सोचेर छक्क पर्छु?
    उत्तर- १७–१८ वर्षको उमेरमा ।

    प्रश्न- तपाईंंलाई कसले दियो त्यो विचार?
    उत्तर- त्यो विचार अध्ययनको सिलसिलामा आएको हो । जीवनको धेरै प्रक्रियाबाट अगाडि बढेर । कुनै दिन म तपस्या गर्न हिमालयतिर गएँ १४– १५ वर्षको उमेरमा ।

    प्रश्न- तपस्या गर्न चाहिँ किन जानुभयो? केही पाइन्छ भनेर कि भगवान हेर्न?
    उत्तर- सानैदेखि मेरो विचारमा हिन्दु धर्मको असर थियो। रामायण, महाभारत, उपनिषद्को प्रभाव थियो । त्यसको अध्ययन गर्दै गएँ । त्यस्को असरले तपस्या गर्न गएँ । कुनै बेला आर्य समाजी भएँ । हिन्दु समाजभन्दा आर्य समाज प्रगतिशील हो भन्ने लाग्यो। त्यसले रुढिवादको विरोध गर्दथ्यो । जीवनका कैयौं खुड्किला पार गरेर नै म माक्र्सवादतिर गएँ। त्यही क्रममा म अध्ययनको सिलसिलामा कम्युनिस्ट भएँ ।

    प्रश्न- तपाईंँ तपस्या गरेर कम्युनिस्टमा लाग्नुभएको रहेछ । अहिलेका कम्युनिस्टहरू कमाई धमाई गरेर तपस्यातिर लाग्छन् कि ?
    उत्तर- पहिले कैयौँ व्यक्ति कम्युनिस्ट हुन्छन् पछि पतन हुन्छन्, परिवर्तन हुन्छन् अरू पार्टीतिर लाग्दछन् । अन्य विचारहरू अपनाउँछन् । त्यसमा पनि एउटा कुरा छजसले सैद्धान्तिक विचारलाई नै कम्युनिस्ट सिद्धान्तलाई गलत मान्यो र अन्य सिद्धान्तलाई ठिक मान्यो त्यसरी अन्यत्र गयो भने त्यसलाई हामीले गलत भन्न मिल्दैन । हामीले देख्दछौँ कैयौँ कम्युनिस्ट पैसाको लोभले पदको लोभले अरू पार्टीमा लाग्दछन् । त्यहाँ आस्थाको कुरा हुँदैन, सिद्धान्तको कुरा हुँदैन । कुनै पदको लागि पैसाको लागि विचारमा परिवर्तन गर्दछन् भने, केही प्रलोभनका लागि गर्दछन् भने त्यो कम्युनिस्ट भएको भएपनि गलत हो, अन्यत्र लागेको भएपनि गलत हो। काङ्ग्रेस भएपनि गलत हो । हिन्दु भएपनि गलत हो।जुन दर्शनमा गए पनि गलत छ ।

    प्रश्न- एकपटक मैले मनमोहनजीलाई सोध्दा युरोपेली कविलाई कोट गर्दै भन्नुभयो – ‘राजनीतिक सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको सप्तरङ्गसँग टक्राएकोले कम्युनिस्ट सिद्धान्त खस्यौ’ भनेर । तपाईंको त्यसमा कुनै टिप्पणी छ ?तपाईंंलाई किन सोधेको भने तपाईं त लेखक पनि हुनुहुन्छ?मैले कामरेड जलजला उपन्यास पूरै पढीनभ्याए पनि तपाईंको त्यो उपन्यासमा विभिन्न रङहरू छन्। त्यसमा कोरा दर्शन मात्रै छैन, कोमलताका अंशहरू पनि छन् । दुःख–सुख, मान–अपमानजीवनका विविध रङ्गहरू । तपाईंं भीष्म पितामह हुनुहुन्छ। शिक्षामा गल्ती थियो कि शिक्षकमा गल्ती थियो कि?शिक्षकको त्यो शिक्षाले आफ्नो काम गर्न त ग¥यो नि । तपाईंंलाई कुनै मान्छेले प्रभावित ग¥यो कि अध्ययन गरेर कम्युनिस्ट हुनुभयो ?

    उत्तर- मुख्य विचारको प्रश्न हो। विचार खोज्दै जाँदा मैले खोज्दै गएँ। कुन विचार सही हो भनेर । अर्को कुरा मेरो जोड के कुरामा छ भने मान्छेका विचारहरूमा कैयौँ परिवर्तन हुन्छन्। व्यवहारमा परिवर्तन हुन्छन् ।हामीले जहिले पनि कुनै विचारमा परिवर्तन ग¥यो भने पनि आस्थाका आधारमा हुनुपर्दछ। लोभका आधारमा होइन, पदको लागि होइन, पैसाको लागि होइन । कैयौँ व्यक्ति पैसाको लागि कम्युनिस्ट बनेका हुन्छन् । अहिले प्रायः मानिसहरूले धर्म परिवर्तन गर्छन् उनीहरूलेआत्मैदेखि कुनै धर्म गलत मानेर अर्को धर्म अपनायो भने त्यसलाई हामीले इमानदारिता भन्न सक्दछौँ । तर कसैले पैसाको लागि, पदको लागि आफ्नो आस्था बदल्यो भने त्यसलाई हामीले सही भन्दैनौँ । कुनै व्यक्ति कुनै पदका लागिअर्को पार्टीमा जान्छ त्यो सही कुरा होइन। कोही पदको लागि पैसाका लागि सांसद बन्नका लागि, मन्त्री बन्नका लागि कम्युनिस्ट बन्छ भने त्यो गलत हो । हाम्रो सबैभन्दा जोड के कुरामा छ भने सबभन्दा पहिले मान्छे आफूप्रति इमानदार हुनुपर्दछ। आफ्नो आस्थामा सच्चा हुनुपर्दछ । आस्थाका लागि इमानदारिताका लागि जीवनभरि नै बलिदान गर्न तयार हुनुपर्दछ।

    प्रश्न- यो पछिल्लो केही कालखण्डमा मैले सुनेको लेखफेस्टमा सबैभन्दा ठूलो वाक्य हो । उहाँले के भन्नुभयो भने – हाम्रा विचारहरू समयक्रममा परिवर्तित हुँदै जान्छन्। हामीले हिजो जे सोच्थ्यौँ आज त सौच्दैनौँ । मेरो एउटा पुस्तकमामेरो एउटा लाइनछ – मेरा जीवनका विचारहरू पटकपटक बदलिए मलाई एउटै मान्छे कहिले राम जस्तो, कहिले रावण जस्तो कहिले नारद जस्तो लाग्यो भनेर । उहाँले अहिले ठुलो कुरा के भन्नुभयो भने त्यसप्रति म उहाँप्रति अनुग्रहित छु। उहाँले भन्नुभयो, विचारको बदलावका लागि लोभ हुनुहुँदैन, लालच हुनुहुँदैन ।

    एउटा मनुष्यका रूपमा चेतनाका हिसाबले तपाईंका विचारहरू परिवर्तन हुन्छन् भने त्यो त राम्रो कुरा हो। चाहे त्यो कुरा तपाइं राजनीतिमा भन्नुस्, धर्ममा भन्नुस् वा साहित्यमा भन्नुस् । मान्छेहरू एउटै स्कुलबाट अर्को स्कुलमा सरेका छन्। सिनेमाको एउटा कलाकार हाम्रा अगाडि हुनुहुन्छ – मनिषा कोइरालाजी । उहाँले एउटा किसिमको एक्टिङ गरिराख्नुभएको थियो। हामीले हे¥यौँ‘हिरामण्डी’ त्यो नितान्त भिन्न रङले बनेको छ, जस्तै पुराना सिनेमाहरु बनेका थिए । लोभ र लालचको हिसाबले कम्युनिस्ट डेमोक्रेटमा परिवर्तन हुन सक्छ । को डेमोक्रेट हो, को होइन छोडिदेउ ।बोल्ने मान्छेको आवाज बडो लक्ष्यदार हुन्छ । तर विचार केही पनि हुँदैन । स्वर सुरिलो मात्र भएर हुँदैन त्यसलाई सुरुमा गाउनुपर्दछ । म आभारीछु मोहनविक्रमजी तपाईंले त्यो भन्नु भयो । तपाईंँले बीपी कोइरालाद्वारा लेखेको तीन घुम्ती पढ्नुभएको छ?

    उत्तर-पढेको छु ।

    प्रश्न- साहित्यकारको रूपमा तपाईंंले बीपी कोइरालालाई कसरी लिनुहुन्छ ?
    उत्तर-यस सिलसिला मैले के कुरा भन्न चाहन्छु भने बीपी कोइराला एउटा राजनीतिक नेताको रूपमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्त्वपूर्ण देन रहेको छ। त्यसलाई हामीले समर्थन गर्दछौँ । बीपी कोइरालाका साथै म पनि नेपाली काङ्ग्रेसमा थिएँ। २००७ सालको आन्दोलनमा बीपी कोइराला, सुवर्ण समशेरहरू । मैले उहाँहरू सँगसँगै काम गरेँ । साहित्यका विषयमा पनि उहाँका आफ्ना सोचाइहरू छन्। साहित्य बारेहाम्रा बेग्लाबेग्लै विचारहरू छन्। ती सबै विचारहरूलाई हामीले समर्थन नगर्न सक्छौँ, उहाँ एउटा राजनीतिक नेता हो। साहित्यका क्षेत्रमा उहा“ले जुन देन दिनुभयो, त्यो महत्त्वपूर्ण देन रहेको छ। उहाँले राजनीति र साहित्यलाई साथसाथै अगाडि बढाउने कोसिस गर्नुभयो । साहित्यको क्षेत्रमा उहाँले आफ्ना विचारहरूलाई धेरै अगाडि बढाउनुभयो ।

    साहित्यको क्षेत्रमा आफ्ना कुन विचारलाई अगाडि बढाउने कुनलाई नबढाउने त्यसमा कैयौं धारा छन् त्यसका विभिन्न धाराहरूसित हामी असहमत हुन सक्दछौँ। त्यही पनि मुख्य रूपमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा खास गरेर राणाशाही शासनका विरुद्धको आन्दोलनको सिलसिलामा उहाँको जुन देन रह्यो त्यो महत्त्वपूर्ण रह्यो। तर हामीलाई के विषयमा दुःख लाग्दछ भने जस्तै कि भारतमा गान्धी, नेहरू, सुभाषहरूले जुन महत्त्वपूर्ण प्रकारका भूमिका खेले राजनीतिमा ब्रिटिश साम्राज्यबादका विरुद्ध, तर अहिले भारतीय काङ्ग्रेसमा धेरै पतन भएर गएको छ। ठीक त्यसै गरेर कम्युनिस्टमा पतन भएर गएको भनेको छु । पहिला काङ्ग्रेसमा जुन मानिसहरू आउँथे ती देशभक्तिको भावनाले, पञ्चायत विरुद्धको सङ्घर्षको भावनाले, राणा शासनका विरुद्ध त्याग र बलिदानको भावनालेआउँथे । तर अहिले पद, प्रतिष्ठा, मन्त्री, प्रधानमन्त्री बन्नेकुरा बढी भइरहेको छ ।

    प्रश्न- उहाँले लेख्नुभएको यो जलजला उपन्यास हो जसलाई हातले उचाल्नै गाह्रो छ।दिमागले उचाल्न कति गाह्रो होला । १३२० पृष्ठको छ। लामो उपन्यास छ। मोहनविक्रमजी संसारमा दुई तीन किसिमका लेखकहरू छन्। एक किसिमका धेरै लामो बाक्ला–बाक्ला पुस्तकहरू लेख्छन् । धेरै बाक्ला किताब भएपनि त्यही प्रकारको शिल्पज्ञान त्यही प्रकारको छ। एक किसिमको किताबमा पाना धेरै छ, भित्र केही छैन । अर्को प्रकारको किताबमा पाना पनि केही छैन, भित्र पनि केही छैन। अर्को प्रकारको किताबमा बाहिर थोरै छ, भित्र धेरै छ। मान्छे जस्तै किसिमकिसिमका छन् ।यो किताब तपाईंंले लेख्न कति वर्ष लगाउनुभयो ?
    उत्तर- करिब २३ वर्ष ।

    प्रश्न- तपाईंंले फुलटाइम पोलिटिक्स पनि गर्दै हुनुहुन्छ होइन? यही समयमा तपाईंं अहिले पनि पदमा हुनुहुन्छ मसालमा ?
    उत्तर- म महामन्त्री छु।

    प्रश्न- ९० वर्षमा पनि उहाँ महामन्त्री हुनुहुन्छ। २३ वर्षको साधना । म यसको गुण दोषमा अहिले जान चाहन्न । उहाँको प्रयत्नको लागि मैले तालीको अपेक्षा गर्दछु। बीपी कोइरालाले कतै भनेका छन् कि मनुष्यको जीवनको सार्थकता तथा व्यर्थता उसको सफलता वा असफलताहरूमा होइन, उसले गर्ने प्रयत्नहरूबाट मापन गर्नुपर्दछ। म तपाईंंको प्रयत्नको तारिफ गर्दछु । जलजला तपाईंंको गर्लफ्रेन्ड नै हो जस्तो लाग्छ मलाई । हो?

    उत्तर-एउटा कुरा के सत्य हो भने जलजलालाई मैले प्रेम गरेको थिएँ । यो उनको जीवनको वरिपरि छ । यो पुस्तक लेख्न लागेको २३ वर्षको बारेमा मैले भन्न चाहन्छु। जस्तो बीपी कोइरालालाई देख्नुभयो जेलको जीवनमा उहााँलाई बढी समय मिल्यो उहाँले त्यो समयलाई उपयोग गर्नुभयो । तर मैले जेलबाट निस्केपछि उपन्यास लेखेको हुँ। त्यसकारण जेल बाहिर पूरै किताबमा लाग्न पाइन । जुन कालमा मैले उपन्यास लेखेँ त्यस कालमा म पार्टीको महामन्त्री थिएँ ।

    प्रश्न- मोहनविक्रम जी जलजला तपाईंको प्रेमिका हो/ होइन ? त्यसपछि कुरा गर्न सजिलो हुन्छ के ।
    उत्तर- हो ।

    प्रश्न- जसले उहाँलाई यत्रो किताब लेख्न प्रेरित गर्यो, त्यो सामान्य मानिस त हुन सक्दैन नि । जीवन धेरै विराट छ । एक्चुअल्ली जीवनको विराटता यो जलजला उपन्यासमा प्रतिविम्बित छ । एक ठाउँमा उहाँले लेख्नुहुन्छ – उनी वास्तविकताको जगमा उभिएर नै धेरैमाथि उठ्ने छिन्, धेरै धेरै धेरैमाथि आकाशसम्म, अन्तरिक्षसम्म, आकाशमा कहाँसम्म त्यसको कुनै सीमा छैन त्यो अनन्त छ। त्यो असीम छ। मोहनजी यो किताब बजारमा पाउँछ?
    उत्तर- पाउँछ ।

    प्रश्न- कसैले मलाई भनेको थियो मोहनविक्रम सिंहले किताब पनि बजारमा नबेच्ने हुनुभयो? त्यस्तो त छैन नि ? त्यस्तो चाहिँ नगरिदिनुहोस् ।

    उत्तर-त्यस विषयमा मैले कुरा स्पष्ट गर्न चाहन्छु। अस्ति मेरो एकजना प्रोफेसरसित भेट भएको थियो। उहाँले भन्नुभयो मैले ६ वटा किताब छाप्न दिएँ। छापियो पनि । पछि म पुस्तकको हिसाब माग्न जाँदा रु. २०० रुपैयाँ दियो । त्यो २०० रुपैयाँले मैले स्विटर किनेँ । त्यसलाई मैले धेरै दिनसम्म लगाएँ। ६ वटा किताबको सट्टामा आएको मेरो यो २०० को स्वीटर हो। यो भन्दा पहिले मैले धेरै किताब लेखेको छु। धेरै प्रकाशित भएका छन् विक्रेताहरूलाई दिएको छु । तर धेरैजसोको मैले पैसा पाउन्न । सायद प्रकाशकहरूको विक्रेताहरूको एउटा कल्चर छ लेखकहरूलाई पैसा नदिने । मेरा धेरै किताब प्रकाशित भए मैले पैसा पाइन ।

    प्रश्न- तपाईंँलाई प्रकाशकले पैसा नदिएको रहेछ । तपाईं गलत सङ्गतमा हुनुहुँदो रहेछ । तपाईंंले यिनीहरूको सङ्गत गर्नुस् – निरज भाइ, अजित बरालहरूसितको सङ्गत गर्नुस् । निरज, अजित उहाँले भनेको सुनिराख्नुस् है। तपाईंं यिनीहरूको सङ्गत गर्नुस्। यो उपन्यास जे होस् बजारमा पाइन्छ होइन?

    उत्तर- यो पुस्तक यहाँको बुकस्टलमा छ । हामीले के गर्ने गरेका छौँ भने जसले पुस्तकको अग्रिम पैसा दिने गरेको छ उहाँहरूलाई पुस्तक उपलब्ध गर्ने गराउने गरेका छौँ। अग्रिम दिएर उहाँहरूले किताबहरू दोकानमा लैजाने गर्नुभएको छ। यस किताबका बारेमा मैले अर्को महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। यो किताब लेख्न २३ वर्षको समय लाग्यो। पूरै समय यसैलाईदिएको भए सायद चार पााँच वर्षमा यो लेखेर सकिन्थ्यो होला। यो कालमा म महामन्त्री थिएँ। म पार्टीको कार्यक्रम, सम्मेलन, महाधिवेशन, जिल्ला भ्रमणमा जानुपर्दथ्यो। त्यही क्रममा लेख्ने काम गर्दथेँ । यो दौरानमा अनेकौँ काम हुन्थे। फुलटाइम लागेर मैले यो पुस्तक लेख्न पाइन त्यसकारण नै यसलाई लेख्न बढी समय लागेको हो । यो कुरा सत्य हो जलजललाई मैले प्रेम गरेको थिएँ । तपाईंँले यो उपन्यास पूरै पढ्नुभयो भने के पाउनुहुन्छ भने यसमा जलजलाको विवरण अत्यन्त कम पाउनुहुन्छ । यसमा जलजलाभन्दा बाहिर संसार, जीवन, दर्शन, विश्व, समग्र कम्युनिस्ट आन्दोलन यी विषयमा धेरै पाउनुहुन्छ । जलजलाको विषयमा या प्रेमको बारे अत्यन्तै थोरै पेज छन्।

    प्रश्न- तपाईंको विचारमा प्रेम भन्ने कुरा छ नि, यो दिने कुरा हो कि लिनेकुरा हो ?रात दिन खोजिरहने हो कि आफ्नो भागमा परेको जति लिने हो कि अथवा उसले यति दियो मैले पनि ठ्याक्क त्यसको जोखेर दिनुपर्ने हो कि? नारायण गोपालको एउटा गीत छ, अस्ति पनि मैले भने ‘मायाको आधारमा सम्झौता नै हुन्छ। लिनुपर्ने जे छ दिनुपर्ने जे छ त्यो बराबर हुन्छ’ भनेर । मैले नारायण दाइलाई सोधेको थिएँ ‘दाई यो गीत चाहिँ कुनै चार्टर एकाउन्टरले लेखेको हो कि भनेर’ दायाँबायाँ बराबर हो भनेर । उहाँ गललल हाँस्नुभयो र ‘यो चाहिँ व्यवहारिक सत्यको गीत हो पारामार्थिक सत्यको गीत होइन’ भनेर । सत्य त विभिन्न तहहरूमा छ नि एउटा व्यवहारिक सत्य छ। एउटा पारमार्थिक सत्य छ। एउटा काम चलाउ सत्य छ। तपाईंंको विचारमा मोहनविक्रमजी जसले आफ्नो प्रेमिकाको विषयमा यति लामो उसको प्रेरणाले भनौँ न तपाईंंको प्रेमप्रति मेरो ठूलो सम्मान छ। प्रेम लिने कुरा हो कि दिने कुरा हो?

    उत्तर- यो उपन्यासमा प्रेमको पनि व्याख्या गर्ने प्रयत्न गरिएको छ । प्रेमको व्याख्या गर्दा सर्वश्रेष्ठ के हो त्यसको व्याख्या गरिएको छ । दुनियाको सर्वश्रेष्ठ प्रेम हो आमाको आफ्ना सन्तानप्रतिको माया । हामी सबैका आमाहरू हुनुहुन्छ । सबैले जीवनमा अनुभव गरेको कुरा हो, आमाले आफ्ना सन्तानहरूलाई प्रेम गर्दा सन्तानबाट के पाइन्छ भन्ने सोच्दैनन् । उनीहरूको लागि सबै दुःख, कष्ट, त्याग बलिदान गर्न उनीहरू तयार हुन्छन् निःवार्थ भावले । त्यो संसारको मानव जातिको सर्वश्रेष्ठ गुण हो।

    प्रश्न- यहाँ एकछिन रोक्नुस् है। उहाँले भनेको कुरा सेयर गर्नु जरुरी छ । उहाँलाई मैले सोधेको प्रेम लिने कुरा हो कि दिने कुरा हो भनेर । उहाँले के भन्नुभयो भने – प्रेमको व्याख्या गर्न सकिँदैन । भएका प्रेमहरूमध्ये आमाको प्रेम सबैभन्दा ठुलो प्रेम हो। सर्वश्रेष्ठ प्रेम हो । त्यसको न तुलना हुन सक्छ, न व्याख्या हुन सक्छ ।महसुस मात्र गर्न सकिन्छ । त्यसभन्दा एक स्टेप तल झरौँ अब ।स्त्री–पुरुषसम्बन्धतिर आऔँ ।

    उत्तर- पति–पत्नी, प्रेमी–प्रेमिकाको प्रेम पनि के हो भने जस्तै कुनै लाभका लागि प्रेम गर्छन् त्यो प्रेम सच्चा प्रेम होइन। त्यहाँ पनि निःस्वार्थ भावको प्रेम हुनुपर्छ । सबै प्रकारको त्याग बलिदान गर्नको लागि कुनै प्राप्तिको आशा नगरिकन जो प्रेम गरिन्छ त्यो सच्चा प्रेम हो। संसारमा त्यस प्रकारका प्रेमका धेरै उदाहरण पाइन्छन् यो उपन्यासले पनि त्यस प्रकारका प्रेमलाईमाथि राख्ने प्रयत्न गरेको छ ।

    प्रश्न- हस्। आइ थिङ्क । उहाँले अब हामी आमाको प्रेमपछि एक स्टेप तल आएर यो कन्भेन्सन सेन्सको स्त्री पुरुष सम्बन्ध, लोग्ने श्रीमती, प्रेमी प्रेमिकाको विषयमा उहाँले के भन्नुभयो भनेकुनै प्राप्तिको आशा राखेर – मैले गलत भनेँ भने तपाईंले करेक्सन गर्नुहोला – स्वार्थवश गरिने प्रेम चाहिँ प्रेम होइन। निस्वार्थता नै रहेछ आखिर प्रेमदिने कुरा नै रहेछ। प्रेम लिनेभन्दा दिने कुरा रहेछ। हैन?

    उत्तर- यो उपन्यासले के कुरामा जोड दिएको छ भनेआमाको सन्तानप्रतिको प्रेम विश्वको सर्वश्रेष्ठ गुण हो। किनभने त्यो पूरै निस्वार्थ भावनामाथि आधारित हुन्छ । त्यही प्रकारकोपति–पत्नी, प्रेमी–प्रेमिका बिचको प्रेम पनि त्यस प्रकारको निःस्वार्थ भावनामाथि आधारित हुनुपर्छ । हामीले व्यक्तिगत फाइदाका लागि जे काम गर्छौँ त्यो भन्दा समाजको हितको लागि समाजका सेवाको लागि निस्वार्थ भावले काम गर्नुधेरै माथिल्लो गुण हो। त्यसरी नै एउटा सामाजिक वा राजनीतिक कार्यकर्ताहरूले समाज वा व्यवस्थामा सुधार, परिवर्तन वा क्रान्तिका लागि निस्वार्थ भावले समर्पित भएर काम गर्दछ वा त्यस प्रकारको उच्च कत्र्तव्यमाथि पतिपत्नी वा प्रेमी–प्रेमिकाका बिचको प्रेम आधारित हुन्छ भने त्यो आमाको सन्तानप्रतिको प्रेम जस्तै उच्च र महान् हो।

    प्रश्न- उहाँले के भन्नुभयो बुझ्नुभयो होइन । महत्त्वपूर्ण कुरा भनिराख्नुभएको छ म दोहोर्याउन चाहन्छु। कहिलेकाहीँ सत्य लक्षधार भाषामा आउँदैन प्रस्ट आवाजमा आउँदैन । उहाँले प्रस्ट भनिराख्नुभएको छ कि उहाँको आवाजले गर्दा मैले रिपिट मात्रै गर्न खोजेको हो । आमाको सन्तानप्रतिको प्रेम संसारको सबैभन्दा ठुलो प्रेम हो । प्रेमउहाँको विचारमा पनि दिने अथवा देशको लागि समाजको लागि केही चिज दिने उच्चस्तरको प्रेम भयो । म चाहिँ किन छक्क परेको भने अस्ति अस्ति मनिषाजीलाई पनि मैले यही प्रश्न सोधेको थिए कि प्रेम लिने कुरा हो कि दिने हो भनेर भन्दाखेरि उहाँले पनि त्यही भन्नुभयो कि दिने कुरा हो। जब दुईटा पक्षले एकअर्कालाई हिसाब नराखिकन दिइराख्छन् तब मात्र भन्न सकिन्छ कि ‘वा क्या प्रेम’ छ भनेर । क्यालकुलेसनमा समस्याहरू छन्। ‘डिफ स्टार्ट क्याल्कुलेसन’ यहाँ फेरि ‘हाइएस्ट अर्डर लभ’को कुरा भइरहेको छ। अनि म तपाईंंप्रति आभारी छु।

    तपाईंंले भनेको कुरा र मनिषाजी भिन्नभिन्न पृष्ठभूमिबाट आउनुहुन्छ । उहाँहरूको ब्याकग्राउन्ड फरक छ। पारिवारिक पृष्ठभूमि फरक छ। राजनीतिक सोचहरू फरक छन् ।म जीवनका विविधताहरू देखेर छक्क पर्छु। के सगरमाथाको टुप्पोमा पुगेपछि मलाई एउटा ठुलो माउन्टेनर, माउन्टेनरले भनेकोसगरमाथा, तपाईंं नेपालबाट पनि चढ्न सक्नुहुन्छ, चाइना साइडबाट पनि चढ्न सक्नुहुन्छ। नेपालबाट चढ्न पनि चार पाँचवटा रूट छन् । तिब्बतबाट पनि चार पाँचवटा रुटछन् । तर शिखरमा पुग्नुभयो भने दृश्य एउटै देखिन्छ । तर शिखरमा पुग्नुपर्छ ।

    बिचबाट हेर्दाखेरि एउटै देखिँदैन जताबाट कुरा गर्दाखेरि पनि हामी फर्की फर्की त्यही एउटा कुरामा आइपुग्छौँ । जस–जसले जीवनलाई साँच्चिकै बुझेँ, एउटा कुरालाई अलगअलग भाषामा भने । चाहे मनमोहन अधिकारीले भन्नुहोस्, चाहे बीपीले भनुन्, चाहे उहाँ जे भनिराख्नु भएको छ कि मान्छे असल हुनुपर्छ ।

    म हलबाट प्रश्नहरू लिन्छु । उहाँसित जति कुरा गरे पनि सकिँदैन । म एकदम आभारी छु। तपाईंँले यत्रो फ्लाइटहरू क्यान्सिल भएर पनि ९० वर्षको उमेरमा यहाँसम्म आइपुग्नुभयो । हामीलाई दर्शन दिनुभयो । मैले उहाँलाई पहिलोपल्ट देखेको । पहिला उहाँको फोटो मात्र देखेको । एकपटक पहिला धेरै पहिला म नेपाल म्याग्जिनको इडिटर हुँदा उहाँ भूमिगत हुनुहुन्थ्यो । पर्दा पछाडिबाट दिने भन्नु भयो मैले त्यो पनि चल्छ भनेको थिएँ । स्वर नै भए पनि ठिकै छ भनेँ ।

    हामी हल ओपेन गर्दछौंँ । पहिला मनिषाजी ।

    मनिषा कोइरालाको प्रश्न- ‘सो मेनी क्वेस्चन’ विजय । मोहन सरलाई ‘ग्रेट कन्भर्सेसन। थ्याङ्क्यु फर दिस’ । मेरो प्रश्न चाहिँ नि मेरो बुवाले भन्नुहुन्थ्यो पोलिटिक्स भनेको चाहिँ नि एउटा सपना हो । देशको लागि र जनताको लागि देखिने र कामगर्ने । तर अहिले सुनिन्छ पोलिटिक्स भनेको चाहिँ पर्सनल करियर हो भनेर । मैले मोहनजीलाई यसका बारेमा केही भन्न आग्रह गर्दछु ।

    उत्तर- मानवजातिको इतिहासलाई हामीले हे¥यौँ भने प्राचीनकालदेखि नै राजनीतिको समाजमा अत्यन्त ठूलो भूमिका रहेको छ । परिवर्तनहरू हुन्छन् समाजमा एउटा व्यवस्था हुन्छ अर्को व्यवस्था हुन्छ। एक प्रकारको तानाशाही व्यवस्था हुन्छ। प्रजातन्त्रका लागि सङ्घर्ष हुन्छ । सबै ठाउँमा चाहे धर्ममा भन्नुहोस्, प्राचीन ग्रन्थहरूमा भन्नुस् । सबैमा सबैभन्दा महत्त्वपूर्ण भूमिका राजनीतिको नै हुन्छ । दर्शन साहित्य अरू सबै विषयहरूले आध्यात्मिक रूपमा सैद्धान्तिक रूपमा वैचारिक रूपमा काम गर्दछन् ।

    तर व्यावहारिक रूपमा सबैभन्दा महत्तवपूर्ण भूमिका राजनीतिको नै हुन्छ । चाहे समाजलाई अगाडि लैजाने होस् वा पछाडि लैजाने होस्। चाहे निरङ्कुश शासनलाई खतम गरेर प्रजातन्त्र ल्याउनु होस् वा कुनै देशमा साम्राज्यवादलाई खतम गरेर स्वतन्त्रता ल्याउनुहोस् सबै ठाउँमा महत्त्वपूर्ण भूमिका राजनीतिको हुन्छ।इतिहास, दर्शन, कला, सौन्दर्य, चिन्तनका विषय हुन्, भावनाका विषय हुन्। तर व्यावहारिक रूपमा समाजमा सबैभन्दा महŒवपूर्ण भूमिका राजनीतिको नै हुन्छ। राजनीतिलाई दर्शन, साहित्य, संस्कृति, नीतिशास्त्रले गाइड गर्नुपर्दछ। जब राजनीति असल हुन्छ देश असल हुन्छ । राजनीति खराब हुन्छ देश खराब हुन्छ। त्यसकारण राजनीति जस्तो हुन्छ त्यसले देशलाई असर गर्छ।

    प्रश्न-अहिले राजनीति कस्तो छ एक लाइनमा भनिदिनुस् न ?

    उत्तर- नेपालको राजनीति अहिले अत्यन्त नराम्रो अवस्थामा छ। देश अत्यन्त गम्भीर अवस्थामा छ। सङ्कटको मुखमा उभिएको छ। देशको राजनीतिक स्थितिले गर्दाखेरि अर्कातिर देशमा अहिले पनि नेपाली जनताले १०० वर्ष सङ्घर्ष गरेर फालेको राजतन्त्र फेरि आउने कोसिस गरिरहेको छ। अर्कातिर साम्राज्यवादी देशहरूले नेपालको राष्ट्रियता खतम गर्ने प्रयत्न गरिराखेका छन्।त्यसका साथै जो सरकार छ जुन पार्टीहरू छन् उनीहरूले पनि सही किसिमले काम गरिरहेका छैनन्।सहीराजनीति, विकास, सुशासनका लागि काम गरिरहेका छैनन् । देशको राजनीति गम्भीर प्रकारको स्थितिमा छ । त्यसकारण दर्शनले सही राजनीतिलाई गाइड गर्नुपर्दछ।

    प्रश्न- उहाँले भनिरहनु भएको छ – राजनीति सबैभन्दा महत्वपूर्ण हो । किनभने त्यसले सबै नीतिहरुलाई गाइड गर्दछ । उहाँले थप्नुभएको कुरा के छ भने राजनीतिलाई निश्चित मूल्य, मान्यता, दर्शन र व्यवहारले निर्देशित गर्दैन भने त्यसपछि खोक्रोपन आउँछ भन्नु भयो । म आदरणीय मोहनविक्रम ज्यूप्रति आभारी छु म तपाईंंको विचारप्रति सहमत असहमत जे भएपनि तपाईंँको मनुष्यको रूपमा तपाईंको आफ्ना विचारहरूप्रति निष्ठा र त्यो निष्ठाको आजीविन पालन देखेर मचमत्कृत भएको छु। तपाईंं यत्रो कष्ट गरेर यहाँ पाल्नुभयो अनुग्रहित छु।

    २५ वर्षको उमेरसम्म हरेक मान्छे कम्युनिस्ट हुन्छ रे। ३५ वर्षको उमेरसम्म मान्छेले थुतुनुले मात्र कम्युनिस्ट भन्छ रे। ४५ वर्षपछि के हुन्छ त्यो नभनौँ ।तपाईंआजीवन निष्ठाको प्रतिक हुनुहुन्छ । उहाँसित सहमति असहमति आफ्नो ठाउँमा छ। आफ्नो विचारमा अडेर जहाज क्यान्सिल भएपछि रातभर गाडी चढेर यता आउने यो सामान्य कुरा होइन ।

    २३ वर्ष लगाएर उहाँले किताब लेख्नुभएको छ। किताबको गुण दोष आफ्नो ठाँमा होलान् । फेरि पनि भन्छु, बीपी कोइरालाको एउटा लाइनबाट यो सभालाई समापन गर्छु । यसलाई राजनीतिक अर्थमा नलिनु होला । लेखक बीपी कोइरालाको लाइनबाट – जीवनको सार्थकता वा व्यर्थता मनुष्यका उपलब्धिहरूमा होइन, मनुष्यका अविराम प्रयत्नहरुले निर्धारण गर्दछ कि उसले प्रयत्न गर्यो वा गरेन भनेर । धन्यवाद ।
    अहिले उहाँका चेलाहरू कहाँ छन् यो सबैलाई थाहा छ । नाम लिनु नपर्ला । सांसरिक दृष्टिकोणले हेर्ने हो भने उहाँ कतै पनि हुनुहुन्न भन्न सकिएला । मोहनविक्रम सिंह जहाँ हुनुहुन्छ त्यही हुनुहुन्छ। यसो भन्दा उहाँलाई जडसुत्रवादी भन्न पनि सकिएला । आफ्नो ठाउँमा अडिक पनि भन्न सकिएला । त्यो सबै तपाईंहरुको आ–आफ्नो स्वतन्त्रता हो ।

    हामी गौरवान्वित भएका छौँ उहाँलाई यहाँ पाएर । नेपालको राजनीतिक इतिहासको यो युग पुरुषको सामिप्यतामा बस्ने मौका पाएकोमा मैले आफूलाई गौरवान्वित ठान्दछु। सबैसित उहाँको सम्मानमा एउटा तालीको अपेक्षा गर्दछु ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार