सहरबाट गाउँमा सकारात्मक सन्देश पुर्याऔँ : केसी

काठमाडौं । राजमो अध्यक्ष चित्रबहादुर केसीले बागलुङ–काठमाडौँ सम्पर्क समितिको भेलाको उद्घाटन गर्दै सहरबाट गाउँमा सकारात्मक/नकारात्मक दुवै खालका सन्देश प्रवाह हुने बताउँदै हामी सकारात्मक सन्देश प्रवाहका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।

‘सहरबाट सकारात्मक र नकारात्मक दुवै खालका सन्देश प्रवाह हुन्छन्’ केसीले भन्नुभयो– ‘हामीले सकारात्मक सन्देश गाउँ गाउँमा पुर्याउनुपर्दछ ।’

उहाँले आफूहरूले निरङ्कुश पञ्चायती व्यवस्थाको समयदेखि नै काठमाडौँमा रहेका बागलुङेहरूसित सम्पर्क गर्ने गरेको स्मरण गर्दै अहिले केही समय त्यो सम्पर्क छुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अब त्यो टुटेको कडीलाई जोड्नुपर्दछ ।’

अध्यक्ष केसीले सम्बोधनको क्रममा सम्पर्क समितिहरूले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको राजनीतिलाई फैलाउन योगदान गर्नुपर्ने बताउनुभयो ।

भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो महासचिव मनोज भट्ट, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विक, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव प्रकाश थापामगर, प्युठान–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष समीर सिंह, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष छवि खनाल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, सुदूर पश्चिम–काठमाडौँ सम्पर्क समितिका संयोजक भीष्म जोशी र युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीले पनि शुकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा राजमो उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, राजमो केन्द्रीय सदस्यहरू लक्ष्मी केसी र सुधा शर्मा, युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त शर्मा र रक्तिम सांस्कृतिक अभियानकी माया पुनको पनि आतिथ्य रहेको थियो ।

निवर्तमान अध्यक्ष आनन्द शर्माको अध्यक्षता तथा सचिव घनश्याम न्यौपानेको सञ्चालनमा अघि बढेको स्वागत रमेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार