दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुलबहादुर थापाले मूल प्रवाहले अनुशासनको कारबाही गरेका व्यक्तिहरुले नै मूल प्रवाहको नामबाट जनतालाई भ्रममा पार्न खोजेको बताउनुभएको छ ।
मूल प्रवाहको १० औं क्षेत्रीय समितिको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव थापाले अनुशासन विहीन व्यक्तिहरुको भ्रममा नपर्न समेत आग्रह गर्नुभएको थियो ।
थापाले भन्नुभयो, ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नीति, सिद्धान्त र विधिमा चल्ने संगठन हो । त्यसैले यो संगठनलाई कसैले कमजोर बनाउन खोज्छ भने त्यो स्वतः सकिएर जाने उदहारण हाम्रा अगाडि छ । भविष्यमा पनि त्यही अवस्था दोहोरिने छ ।’
‘कसैले सुब्बा नाम राख्दैमा सुब्बा हुँदैन । सुब्बा हुनलाई सुब्बा कै जिम्मेवारी र काम कर्तव्य निर्वाह गरेको हुनुको साथसाथै कसैले उसलाई सुब्बा भएको प्रमाणित गर्नु पर्दछ ।’ थापाले भन्नु भयो- ‘नाम पर्यो सुब्बेनी के खाएर उब्भिने, भने जस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नीति, सिद्धान्त र विधिमा चल्न नपर्ने अनि आफूलाई मूल प्रवाह बताउँदै हिड्ने ?’ अब यस्ता तत्वहरुलाई नछोडिने थापाले बताउनु भयो ।
फूटपरस्तहरुले मूल प्रवाह कै नाममा छुट्टै कार्यक्रम गरेर दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनलाई विथोल्ने कोशिस गरेता पनि उनीहरुको त्यो कोशिस केवल भलपानीमा परिणत भैसकेको थापाले बताउनु भयो । कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, हरीप्रसाद शर्मा, दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, क्षेत्रीय समितिबाट काशीराम शर्मा, कोटीप्रसाद पोख्रेल, नेत्रलाल शर्मा, तेजेन्द्र थापा, सूर्यप्रसाद भुसाल, चिन्तामणि शर्मा, महिला विभागबाट नबिना बस्नेत, रेशम थापा, शशी थापा, जीवन शर्मा, तेजेन्द्र पुन, खगराज शर्माले पनि मन्तव्य दिनुभएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर, दक्षिण, पूर्व र पश्चिम नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता दक्षिण नगर समितिका अध्यक्ष लोकेन्द्र पौडेलले गर्नुभएको थियो । पूर्व नगर समितिका सचिव टीका थापाको सञ्चालनबाट अघि बढेको कार्यक्रममा एकता समाज उतर नगर समितिका सचिव रमेश बिसीले स्वागत गर्नुभएको थियो ।