काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मिर्गौला फेर्न भनेर लाखौँ रकम उठाएपछि अहिलेसम्म पनि मिर्गौला नफेरिए पछि सो रकम कहाँ गयो भन्दै फुटपरस्त तत्त्वहरूसित हिसाब सार्वजनिक गर्न माग गरेको छ ।
मूल प्रवाहबाट निष्काशित तत्त्वहरूले मूल प्रवाहमा छँदै मिर्गाैला फेर्न रकम उठाएको तर हालसम्म मिर्गौला नफेरेको, तीन लाख ३२ हजार ९७८ भारु रकम पीडितलाई सार्वजनिक रूपमा नै हस्तान्तरण गरिएकोमा एक लाख ३० हजार मात्र रकम उठेको बताएको उल्लेख गर्दै मूल प्रवाहले भनेको छ– “जनताले जुन उद्देश्यका लागि सहयोग गरेका थिए, त्यो रकम त्यही उद्देश्यका लागि सदुपयोग भयो कि भएन ? त्यसको हिसाब माग्ने र सोध्ने अधिकार हुन्छ ।” अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा २०७९ साउन २० गते जारी प्रेसवक्तव्यमा सो माग गरिएको हो ।
वक्तव्यमा मूल प्रवाहमाथि रकम हिनामिनाको आरोप लगाइएकोमा त्यसको खण्डन गरिएको छ ।
“नेतृत्वले लाखौँ रुपियाँ कब्जा गरेको भन्ने जुन आरोप लगाएका छन्, त्यसमा कुनै सत्यता छैन । उनीहरूले त्यसका “प्रमाण” दिन सक्ने कुरा लेखेका छन् । हाम्रो सङ्गठनबाट कहिल्यै पनि हिसाब हिनामिना भएको छैन” वक्तव्यमा अगाडि भनिएको छ : “सत्य कुरा यो हो कि त्यस प्रकारका वक्तव्य दिने व्यक्तिहरूले नै दक्षिण भारतमा सङ्गठनको लाखौँ रुपियाँ कब्जा गरेका थिए र त्यो रकम आफूसँग सुरक्षित गर्नका लागि नै उनीहरू फुटेर गएका थिए र त्यसका लागि उनीहरूलाई निष्काशितसमेत गरिएको थियो ।”
वक्तव्यमा त्यसबारे कैयौँ तथ्यहरू समावेश गरिएको छ । यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
“फुटपरस्त तत्त्वहरूले हाम्रो सङ्गठनका विरुद्ध कतिपय अराजनीतिक र झुटा प्रचार गरेकोप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ध्यान आकर्षित भएको छ र तिनीहरूबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. हैदरावादको एक जना साथीकी पत्नीको मृगौलाको उपचारका लागि केन्द्रीय कार्यालयको सहमतिमा मध्यदक्षिण क्षेत्रीय समितिको निर्णयानुसार सहयोगको अपिल गरेर केही रकम जम्मा गरिएको थियो । हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट २८ अप्रै्रल २०२१ का दिन उपाध्यक्ष प्रेम पौडेल (तत्कालीन केन्द्रीय सचिव) ले नै तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय सचिव खिमबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य फूलबिना पौडेल, मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, मध्यदक्षिण क्षेत्रीय सहसचिव भीमबहादुर थापा, मध्यदक्षिण क्षेत्रीय कोषाध्यक्ष तिलक राना, क्षेत्रीय सदस्य रतन सिंह र क्षेत्रीय महिला विभाग कोषाध्यक्ष गुमा रानाको उपस्थितमा भा.रु. ३ लाख ३२ हजार ९७८ (ने.रु. ५ लाख ३२ हजार ७६४) रुपियाँ बिरामी महिला र उनका पतिलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसको समाचार तस्बिरसहित मिडियामा सार्वजनिकसमेत भएको थियो तर अहिले उनीहरूको तर्फबाट जारी गरिएको वक्तव्यमा भा.रू. १,३०,००० मात्र प्राप्त भएको भनी लेखिएको छ । यो सिधा र प्रष्ट बुझिने हिसाबमध्ये चानचुन भा.रु. २ लाख रुपियाँ कता गयो ? उनीहरूकै वक्तव्यबाट त्यो प्रश्न उठाउने ठाउँ छ । त्यसरी प्रेम पौडेलसमेतले सङ्गठनको तर्फबाट सार्वजनिक रूपले नै बुझाएको रकमबाहेक अन्यत्रतिरबाट पनि धेरै रकम उठेको थियो । जनताले जुन उद्देश्यका लागि सहयोग गरेका थिए, त्यो रकम त्यही उद्देश्यका लागि सदुपयोग भयो कि भएन ? त्यसको हिसाब माग्ने र सोध्ने अधिकार हुन्छ । प्रेम पौडेलले एउटा सभामा त्यही कुरा उठाउनुभएको थियो । बिरामीको उपचारका लागि उठेको पैसा त्यो उपचारमा खर्च भएको कुराप्रति हाम्रो कुनै आपत्ति वा विरोध छैन तर त्यो रकम त्यही कामका लागि खर्च भयो वा दुरूपयोग ? त्यो प्रश्न नै प्रेम पौडेलले उठाउनुभएको थियो र जनतालाई पनि त्यो कुराको माग गर्ने अधिकार छ ।
२. त्यो बेला उक्त रकम बिरामीको मृगौला प्रत्यारोपणको लागि भनेर उठाइएको थियो र हामीले पनि त्यसैका लागि सहयोग गरेका थियौँ तर सम्बन्धित महिलाको अहिलेसम्म पनि किड्नी फेर्ने काम गरिएको छैन । उनीहरूले आफ्नो वक्तव्यमा यो लेखेका छन् ः प्रथम “उपचारमा प्राप्त भएको रकमको विवरण प्रस्तुत गर्न सहयोगी जनताले माग गरेमा हामी प्रस्तुत गर्न तयार रहेको जानकारी पनि गराउन चाहान्छौँ ।” द्वितीय, उनीहरूले एक ठाउँमा “बिरामीको उपचार भइरहेको” बताएका छन् भने अर्काे ठाउँमा “सहयोग दिइएको रकम उपचारमा खर्च भएको” लेखेका छन् । त्यसरी एकैसाथ उनीहरूले अहिले पनि बिरामीको उपचार भइरहेको भन्ने र अर्काे ठाउँमा खर्च भएको भन्ने दुईओटा बेग्लाबेग्लै कुरा लेखेका छन् । त्यसरी उनीहरूले एकैसाथ दुईओटा बेग्लाबेग्लै कुरा गरेकोबाट सहयोगका लागि उठेको रकम हिनामिना भएको शङ्का गर्नका लागि ठाउँ छ । अहिलेसम्म उहाँको मृगौला प्रत्यारोपण गर्ने काम भएको छैन र उहाँलाई लामो समयदेखि नेपालमा लगेर राखिएको छ ।
३. जुन कार्यको लागि सहयोग जुटाइएको थियो, त्यसबाट सुरुमा उहाँको केही उपचार गरिएको कुरा हुन सक्दछ तर उहाँको मृगौला प्रत्यारोपण भनेर जुन रकम उठाइएको थियो, त्यो कार्य नभएको र अहिले पनि उहाँलाई नेपालमा लगेर राखिएको हुनाले उहाँको उपचारका लागि उठेको रकममध्ये उपचारमा के कति खर्च भयो र बचेको पैसा अहिले कहाँ छ ? स्वयम् उनीहरूले पनि जनताले हिसाब मागेमा त्यो हिसाब बताउने भनेका छन् । हामीले उठेको रकम र खर्चको समेत विवरण प्रस्तुत गर्न सम्बन्धित व्यक्तिसित अहिले पनि जोड दिन्छाँै ।
४. स्वयम् उनीहरूले पनि जनताले मागेपछि हिसाब दिने कुरा गरिसकेको अवस्थामा हिसाब माग्दा वा हिसाब हिनामिना त गरिएको छैन ? भन्ने प्रश्न गर्दा उनीहरूले गालीगलौज गर्ने वा चरित्रहत्या गर्ने काम गरेका छन् । उक्त हिसाब मागेको कुरालाई उनीहरूले “झुटा भ्रम र सिआइए शैली” भएकोसमेत आरोप लगाएका छन् । त्यसका साथै उनीहरूले त्यो हिसाब माग्ने हाम्रो सङ्गठनका नेता र कार्यकर्तालाई “भ्रष्ट, अनुशासनविहीन र अराजक” समेत बताएका छन् । त्यति मात्र होइन, त्यो हिसाबबारे प्रश्न उठाएका साथीहरूलाई माफी माग्दै, भनाइ फिर्ता लिँदै उचित साङ्गठनिक कार्बाही गर्नसमेत माग गरेका छन् । उनीहरूले हिसाब सार्वजनिक रूपमा नै प्रस्तुत गरेमा कुरा प्रष्ट हुने थियो तर त्यसको सट्टा उनीहरूले अपनाएको त्यस प्रकारको गालीगलौज र चरित्रहत्याबाट उनीहरूको कार्यशैली अत्यन्त निम्नस्तरको भएको कुरा स्वतः प्रष्ट छ ।
५. फुटपरस्त तत्त्वहरूले यो पनि लेखेका छन् : सङ्गठनको लाखौँ रुपियाँ नेतृत्वले अवैधानिक तरिकाले कब्जा गरेको हामीसँग प्रमाण छन् । आवश्यक परे हामी प्रकाशन गर्न पनि सक्थ्यौँ तर त्यो हाम्रो नैतिकताले दिँदैन । त्यसरी नेतृत्वले लाखौँ रुपियाँ कब्जा गरेको भन्ने जुन आरोप लगाएका छन्, त्यसमा कुनै सत्यता छैन । उनीहरूले त्यसका “प्रमाण” दिन सक्ने कुरा लेखेका छन् । हाम्रो सङ्गठनबाट कहिल्यै पनि हिसाब हिनामिना भएको छैन । सत्य कुरा यो हो कि त्यस प्रकारका वक्तव्य दिने व्यक्तिहरूले नै दक्षिण भारतमा सङ्गठनको लाखौँ रुपियाँ कब्जा गरेका थिए र त्यो रकम आफूसँग सुरक्षित गर्नका लागि नै उनीहरू फुटेर गएका थिए र त्यसका लागि उनीहरूलाई निष्काशितसमेत गरिएको थियो । यो सबैलाई थाहा भएको कुरा हो । आश्चर्यको कुरा यो हो कि ती व्यक्तिहरूले नै अहिले नेतृत्वले लाखौँ रुपियाँ कब्जा गरेका तथा नैतिकतासमेतको कुरा गर्दै छन् ।
६. उनीहरूद्वारा वक्तव्य जारी गरिएको दुई दिनपछि २८ जुलाई २०२२ का दिन (केन्द्रीय कार्यालय ८७६/२ सन्तोष नगर, सेक्टर ३३, नियर एनएचपिसी, कालिजी मन्दिर बाइपास रोड, फरिदावाद १२१००३ हरियाणा) प्रिन्टेड लेटरप्याड प्रयोग गरी पत्रचार गरेका छन् । उक्त लेटरप्याडमा हाम्रो सङ्गठनको नाम, झन्डा र रजिस्ट्रेशन नम्बरसमेत अनैतिक एवम् गैरकानुनी रूपमा दुरूपयोग गरिएको छ । उक्त पत्रमा हिसाबबारे प्रश्न उठाएका साथीलाई आफ्नो भनाइ फिर्ता लिंदै, उचित साङ्गठनिक कार्बाही गर्नसमेत माग गरेका छन् । वक्तव्यद्वारा विषयलाई सार्वजनिक गरिसकेपछि पठाइएको पत्रको कुनै औचित्य रहँदैन ।
७. फुटपरस्तहरूले हाम्रो सङ्गठनको नाम, झन्डा, रजिस्ट्रेशन नम्बर गैरकानुनी रूपबाट प्रयोग गर्दै आएका छन् । उनीहरूको त्यस प्रकारको कार्यका विरुद्ध कारबाही गर्न आवश्यक कदम उठाउने कुराको चेतावनी दिन चाहान्छौँ ।”