लेनिन शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र मसालको नवौँ महाधिवेशन सँगसँगै

काठमाडौँ । नेकपा (मसाल) ले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशनसहितका तीनओटा अभियान सँगसँगै सञ्चालन गर्ने भएको छ । त्यसका लागि महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा पार्टी प्रवक्ता रामप्रकाश पुरीसहितको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ भदौ २१ गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो । सो विज्ञप्ति भदौ १४ देखि १८ गतेसम्म सम्पन्न केन्द्रीय समिति र पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको उल्लेख छ ।

प्रेसविज्ञप्तिमा देशमा अहिले पनि प्रतिगमनको खतरा गम्भीर रूपमा विद्यमान रहेकाले त्यसको सामना गर्नका लागि पाँचदलीय चुनावी तालमेल आवश्यक रहेको बताइएको छ ।

आगामी मङ्सिर ४ गतेको चुनावसित सम्बन्धित रहेको उक्त बैठक अन्य चार दलसित सम्मानजनक र न्यायपूर्ण तालमेल नभए राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्ने विज्ञप्तिमा उल्लेख छ । हालसम्म घोषणा गरिएका राजमोका दुईओटा उम्मेदवार र अब घोषणा हुने अन्य उम्मेदवारलाई विजयी गराउन पार्टीबाट सहयोग हुने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक २०७९ भदौ १४ देखि १८ सम्म बसेको थियो । त्यसको लगत्तै दुई दिनसम्म पार्टी पोलिटब्युरोको पनि बैठक बसेको थियो । ती निर्णयबारे जानकारी दिनका लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

१. बैठक मुख्य रूपले आगामी २०७९ मङ्सिर ४ गते घोषणा गरिएको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावसम्बन्धी नीति र कार्यक्रमबारे विचार गर्न नै बसेको थियो । उक्त विषयमा बैठकले कैयौँ महŒवपूर्ण निर्णयहरू गरेको छ ।

२. हाम्रो पार्टीको अहिले पनि यो स्पष्ट र दृढ विश्वास छ कि अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ । यदि त्यो खतरा रोक्न सकिएन भने जनताको महान् आन्दोलनद्वारा प्राप्त गणतन्त्र, धर्म निरपेक्षतासमेत महान् उपलब्धिहरू समाप्त हुने छन् र देश प्रतिगमन तथा अधिनायकवादतिर जाने खतरा हुने छ । त्यो खतरा रोक्न पाँचदलीय चुनावी तालमेल हुनु अहिलेको आवश्यकता हो । त्यस प्रकारको राजनीतिक तालमेल हुन नसकेमा देश निश्चित रूपले प्रतिगमन र अधिनायकवादतिर जाने छ ।

३. प्रतिगमनलाई रोक्नका लागि पाँचदलीय चुनावी तालमेल अहिलेको राष्ट्रिय आवश्यकता भए पनि सबै सम्बन्धित दलहरूले त्यो प्रश्नमा इमान्दार र दृढ भएको पाइँदैन । राष्ट्रिय जनमोर्चाले पाँच दलका बिचमा भएका सबै सहमति वा प्रतिबद्धतालाई इमानदारितापूर्वक पालना गर्ने गरेको छ । अन्य चारओटा दलहरूले भने त्यसबारे ढुलमूल र अवसरवादी नीति अपनाउने गरेका कैयौँ उदाहरण छन् । स्थानीय चुनावमा उनीहरूका त्यस खालका प्रवृत्तिहरू देखा पर्ने गरेका थिए र आगामी चुनावमा पनि त्यस प्रकारको प्रवृत्तिहरू पुनः प्रकट हुने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । यदि त्यसो भयो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ । त्यसैले हामीले सम्बन्धित सबै पक्षसित पाँचदलीय चुनावी तालमेललाई इमानदारिता र दृढतापूर्वक कार्यान्वयन गर्नका लागि अनुरोध गर्दछौँ ।

४. राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाका लागि कतिपय उम्मेदवारको नाम सार्वजनिक गरेको छ । त्यो निर्णयलाई हामीले स्वागत गर्दछौँ । हामीले ती उम्मेदवारलाई जिताउनका लागि पूरा सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछौँ । राजमोले सार्वजनिक गरेको विज्ञप्तिअनुसार बागलुङको क्षेत्र नं. १ बाट राजमो अध्यक्ष चित्रबहादुर केसी र प्युठानमा राजमोकी उपाध्यक्ष, प्रवक्ता तथा बहालवाला प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ । राजमोले अन्य उम्मेदवारहरू पनि क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ । हाम्रो पार्टीले उहाँहरू दुवैलाई पूरा समर्थन गर्दछ र राजमोका अन्य घोषित उम्मेदवारहरूलाई पनि समर्थन गर्ने हाम्रो नीति हुने छ ।

५. राजमोले अन्य चार दलसित तालमेल गरेर नै उम्मेदवार उठाउने निर्णय गरेको छ तर कतिपय दलहरूले सम्मानजनक र न्यायपूर्ण प्रकारले त्यसरी तालमेल गर्न तयार नभएमा हामीले एक्लै चुनाव लड्ने र अन्य राजनीतिक दलहरूसित मैत्रिपूर्ण प्रतिष्पर्धा गर्ने नीति पनि अपनाउन सक्ने छौँ ।

६. केन्द्रीय समितिले तीनओटा अभियानलाई साथसाथै सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसअनुसार लेनिनको शताब्दी स्मृतिदिवस, पार्टीस्थापनाको ७५ वर्षको उपलक्ष्यमा हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशन । यी तीनओटा अभियानलाई साथसाथै सञ्चालन गरिने छ । उक्त अभियानको विस्तृत कार्यक्रम तयार पार्न पार्टीका महामन्त्री क. मोहनविक्रम सिंह, पार्टीका प्रवक्ता क. रामप्रकाश पुरी, क. विश्वास, क. सुरज र क. विजयसमेत पाँच जनाको कार्यदल बनाएको छ ।

७. प्रतिनिधि सभा र प्रदेश सभाका आगामी चुनावको तयारीका लागि अहिलेदेखि नै ध्यान दिनका लागि पार्टीका सबै समिति, सदस्य, समर्थक, मोर्चा र जनवर्गीय सङ्गठन तथा आम जनतासित पनि अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार