“गठबन्धन” वा प्रतिगमन : यी दुईमध्ये कुन रोज्ने ?

English English Nepali Nepali

मोहनविक्रम सिंह

हामीले प्रारम्भमा नै ‘गठबन्धन’ बारे एउटा कुरा स्पष्ट गर्न चाहन्छौँ किनभने एमसिसीसम्बन्धी मतभेदका कारणले हामी पाँचदलीय गठबन्धनबाट अलग भएका थियौँ । त्यसपछि पाँचदलीय गठबन्धनमा नभए पनि पाँचदलीय चुनावी तालमेलको नीतिलाई हामीले समर्थन गरेका छौँ । त्यसअनुसार चुनावी तालमेलको लागि हामीले पाँच दलका बिचमा एकता कायम गरेर काम गरिरहेका छौँ । त्यसलाई प्रचलित बोलचालको भाषामा गठबन्धन नै भन्ने गरिन्छ । हामीले यहाँ त्यही प्रचलित अर्थमा नै गठबन्धन शब्दलाई लिएका छौँ र त्यो शब्दलाई त्यही सीमित अर्थमा वा पाँचदलीय चुनावी तालमेलको अर्थमा नै बुझ्नको लागि अनुरोध गर्दछौँ ।

आज देशमा जुन गम्भीर प्रकारको राजनीतिक अवस्था छ, त्यो अवस्थामा देशमा योबाहेक अन्य कुनै विकल्प छैन : या त पाँचदलीय गठबन्धन सफल हुन्छ या देश प्रतिगमनतिर जाने छ । देश प्रतिगमनतिर जानु भन्नुको अर्थ जनआन्दोलनद्वारा प्राप्त महान् उपलब्धिहरूको अन्त हुनु हुने छ । त्यसको अर्थ लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षतासमेतको अन्त हुने छ । हामीले निरङ्कुश राजतन्त्र र तानाशाही पञ्चायती व्यवस्थाको कालो काललाई भोगिसकेका छौ । देश प्रतिगमनतिर जानुको अर्थ त्यो कालो कालको पुनरागमन हुने छ । त्यस प्रकारको स्थिति आउन नदिनका लागि प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरूका बिचको चुनावी तालमेलबाहेक अन्य कुनै विकल्प छैन । त्यसरी त्यो कुरालाई सिधा र सरल अर्थमा यसरी भन्न सकिन्छ : या त गठबन्धन या प्रतिगमन ।

देश आज स्पष्ट रूपले दुई कित्ता† एकातिर गठबन्धन वा चुनावी तालमेल र अर्कातिर, प्रतिगमनका बिचमा बाँडिएको छ । यो स्पष्ट छ कि त्यसको एउटा पक्ष पाँचदलीय गठबन्धन नै हो । देशको अहिलेको राजनीतिमा प्रतिगमनको मुख्य नेतृत्व एमालेले नै गरिरहेको छ । प्रतिगमनको मुख्य धाराको प्रतिनिधित्व राजावादीहरूले नै गर्दछन्, जसको सञ्चालक छद्म रूपमा पूर्वराजाद्वारा नै गर्ने गरिएको छ । प्रतिगमनको अन्तिम गन्तव्य राजतन्त्र नै हो । आज देशमा देखा परेका प्रतिगमनका सबै धाराहरू राजतन्त्रमा नै गएर मिसिन्छन् । त्यो वास्तवमा इतिहासको अग्रगामी धारालाई प्रतिगामी दिशामा धकेल्ने प्रयत्न नै हो । अन्तमा त्यस प्रकारको प्रयत्न असफल हुनु अवश्यम्भावी छ । तैपनि तात्कालिक रूपमा त्यो खतरालाई कम आँकलन गर्नु गलत र अदूरदर्शितापूर्ण कार्य हुने छ । त्यसैले हाम्रो पार्टीले देशमा देखा परिरहेको प्रतिगमनको खतरालाई अत्यन्त गम्भीर रूपमा लिएको छ र त्यसका विरुद्ध आउने सबै राजनीतिक शक्तिसित गठबन्धन वा चुनावी तालमेल गर्ने नीति लिएको छ ।

हामीलाई यो कुरा राम्ररी थाहा छ कि अहिले हामीले जुन राजनीतिक शक्तिसित चुनावी तालमेल गर्ने नीति लिएका छौँ, तिनीहरूसित हाम्रा गम्भीर प्रकारका राजनीतिक मतभेद छन् तैपनि हामीले माक्र्सवादी–लेनिनवादी संयुक्तमोर्चाको यो सिद्धान्तमाथि विश्वास गर्दछौँ कि कार्यनीतिक रूपमा राजनीतिक रूपले आवश्यक हुँदा दुस्मन अवसरवादी शक्तिसित पनि कार्यगत एकता वा सहकार्य गर्न सकिन्छ र गर्नुपर्दछ । अन्तर्राष्ट्रिय र हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा पनि त्यस प्रकारको अभ्यास हुँदै आएको छ र अहिले देशमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर भएको अवस्थामा पनि त्यस प्रकारको आवश्यकता निर्णयात्मक महत्वको कुरा बन्न गएको छ ।

अहिले हामीले चुनावी तालमेलको लागि जोड दिइरहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकासमेत सित हाम्रा जुन प्रकारका मतभेद भए पनि उनीहरूको सकारात्मक पक्ष के हो भने गत कालमा उनीहरूको प्रतिगमनका विरुद्धको सङ्घर्षमा महत्वपूर्ण भूमिका रहेको छ । प्रतिगमनलाई पराजित गरेर राजतन्त्रको अन्त गर्न, गणतन्त्रको स्थापना गर्न वा धर्म निरपेक्षताको स्थापनाका लागि पनि उनीहरूको महत्वपूर्ण योगदान रहेको छ । वास्तवमा आज देशमा गणतन्त्र र धर्म निरपेक्षताका जुन उपलब्धि प्राप्त भएका छन्, त्यसका पछाडि ती शक्तिहरूको संयुक्त आन्दोलनले नै काम गरेको छ । त्यसैले आज प्रतिगमनको खतराबाट जनताका महान् उपलब्धिका अगाडि जुन खतरा उत्पन्न भएको छ, त्यो खतराबाट रक्षाका लागि प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिका बिचको एकता वा सहकार्य एकदम स्वाभाविक र आवश्यक हुन जान्छ ।

जस्तो कि माथि भनियो आज देशमा प्रतिगमनको धाराको मुख्य प्रतिनिधित्व राजावादीले नै गर्दछन् र त्यसको मुख्य गन्तव्य पनि राजतन्त्र नै हो तैपनि आज देशमा राजावादीको जनाधार धेरै नै कमजोर भएर गएको छ । त्यसैले उनीहरू आफ्नो शक्तिका बलमा राजतन्त्रको पुनस्र्थापना गर्न सक्ने अवस्थामा छैनन् । त्यो अवस्थामा अहिले प्रतिगामी धाराको मुख्य नेतृत्व एमालेले नै गरिरहेको छ । उनीहरूको पक्षमा देखा परेको त्यो नयाँ शक्तिका कारणले राजावादीले यो सपना देख्न थालेका छन् कि ओलीद्वारा नै लामो समयदेखि उनीहरूले उठाउँदै आएका दुईओटै उद्देश्य—हिन्दु राष्ट्रको स्थापना र राजतन्त्रको पुनस्र्थापना—पूरा हुने छन् । वास्तवमा अहिले देशमा प्रतिगमनको खतरा २०१७ सालमा वा २०५९ सालमा भन्दा बढी गम्भीर भएको छ किनभने अहिले त्यसलाई भारतका कट्टरपन्थी हिन्दु शासक वर्गको समर्थन प्राप्त भएको छ ।

पहिले हामीले ओलीको नेतृत्वको सरकारलाई समर्थन गरेका थियौँ । कुनै पनि शक्तिलाई हामीले समर्थन र विरोध गर्ने कार्य त्यसको कुनै बेलाको भूमिका वा नीतिमाथि नै निर्भर गर्दछ । उनीहरूको नीति वा भूमिकाले प्रतिगामी दिशामा परिवर्तन गर्नुका साथै हाम्रो उनीहरूप्रतिको नीतिमा पनि परिवर्तन हुने गर्दछ । भारतीय ‘रअ’ का प्रमुख गोयलसँगको गोप्य भेटघाटपछि ओलीको नीतिमा परिवर्तन आयो र त्यसपछि उनको राजनीतिले प्रतिगामी दिशा समात्यो । त्यसपछि उनीप्रतिको हाम्रो समर्थनको नीति विरोधको नीतिमा बदलिएको थियो ।

ओली आफ्नो केन्द्रीय कमिटी र संसद्समेतमा अल्पमतमा परेपछि उनको सत्ताका अगाडि सङ्कटको स्थिति उत्पन्न भएको थियो । त्यो अवस्थामा उनमा अलिकति पनि प्रजातान्त्रिक चेतना भएको भए उनले बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष वा प्रधानमन्त्री पदबाट हट्ने स्प्रिट देखाउँथे तर उनको स्वेच्छाचारी वा अधिनायकवादी चरित्रले उनलाई त्यसो गर्न दिएन । त्यो अवस्थामा उनले आफ्नो दलीय नेतृत्व र प्रधानमन्त्री पदसमेत बचाउन भारतीय साम्राज्यवादका अगाडि आत्मसमर्पण गर्ने निर्णय गरे । यसको परिणाम थियो गोयल प्रकरण ।

निश्चय नै एमालेको सम्पूर्ण सङ्गठनको चरित्र नै प्रतिगामी भयो भन्ने हाम्रो निष्कर्ष छैन । प्रतिगमन विरुद्धको सङ्घर्षमा एमालेको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । आफ्नो पदीय महत्वाकाङ्क्षा र अधिनायकवादी चरित्रको कारणले ओलीले प्रतिगामी दिशा लिने निर्णय गरेर त्यसका लागि भारतीय साम्राज्यवादका अगाडि आत्मसमर्पण गर्न पुगे । उनको त्यो प्रवृत्तिका विरुद्ध एमालेभित्रको एउटा पक्षले विद्रोहको बाटो समात्यो, जो अहिले एकीकृत समाजवादीको रूपमा सङ्गठित भएको छ तर एमालेभित्रको ठुलो पक्ष ओलीका अगाडि असहाय र लाचार बन्न पुग्यो । उनीहरूको चरित्र प्रतिगामी नभएको भए पनि उनीहरूले ओलीको नेतृत्व स्वीकार गरेर व्यवहारमा उनीहरू प्रतिगमनको पक्षमा नै उभिन पुगेका छन् । त्यसरी प्रकारान्तरले उनीहरूको एउटा पुरानो इतिहासको पुनरावृत्ति हुन गएको छ ।

पहिले उनीहरूले उग्र “वामपन्थी” दिशा समातेका थिए । त्यो बेला उनीहरूको कार्यशैली गलत भए पनि कमसेकम उनीहरूले आधारभूत माक्र्सवादी–लेनिनवादी सिद्धान्त तथा माओका विचारलाई पनि अपनाएका थिए तर पछि उनीहरूले एकपछि अर्को गर्दै माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई छाड्दै गए । त्यो क्रममा उनीहरूले नयाँ जनवादलाई पनि छाडेर बहुदलीय जनवादको कार्यक्रमलाई अपनाएका थिए । त्यो बेला पनि उनीहरूको सम्पूर्ण पङ्क्ति त्यसरी गैरमाक्र्सवादी–लेनिनवादी र दक्षिणपन्थी दिशा समात्ने पक्षमा थिएन । तैपनि उनीहरूले आफ्नो नेतृत्वको गलत लाइनका विरुद्ध अडान लिन वा विद्रोह गर्न सकेका थिएनन् र त्यो कारणले पूरै पार्टीले दक्षिणपन्थी दिशा समातेको थियो । अहिले नयाँ प्रसङ्गमा एमालेको त्यही पुरानो इतिहास दोहोरिएको छ । उनीहरूको पुरानो इतिहासमा अवश्य पनि एउटा नयाँ तत्त्व थपिएको छ, त्यो के हो भने माधव र झलनाथको एउटा पङ्क्तिले विद्रोहको कदम उठाएको छ । भीम रावल र घनश्यामहरूले पनि नेतृत्वका विरुद्ध विरोधका स्वर उठाइरहेका छन् तर विरोधको त्यो स्वरले कुनै स्पष्ट दिशा समात्न सकेको देखिन्न ।

एमालेभित्र त्यस प्रकारका अरू पनि कैयौ“ विरोधका स्वर पाइन्छन् तर तिनीहरू भित्रभित्रै दबेर बसेका छन् र प्रकट रूपमा बाहिर आउन सकेका छैनन् । जस्तो कि पहिले मालेले उग्र“वामपन्थी” बाटो छाडेर दक्षिणपन्थी बाटो समातेको बेलामा भएको थियो ।

अहिले हामीले जुन पक्षहरूसित सहकार्य वा चुनावी तालमेलको नीति अपनाएका छौँ, उनीहरूसित हाम्रा कैयौँ गम्भीर प्रकारका मतभेद भए पनि प्रतिगमन विरुद्धको सङ्घर्षमा वा देशमा गणतन्त्र र धर्म निरपेक्षता ल्याउने कार्यमा उनीहरूको सकारात्मक योगदान रहेको कुरा हामीले पहिले नै उल्लेख गरिसकेका छौँ । वास्तवमा हाम्रो उनीहरूसितको सहकार्य वा चुनावी तालमेल त्यो सकारात्मक पक्षसित नै हो तर उनीहरूसित भएका हाम्रा मतभेद वा उनीहरूका गलत नीतिसित होइन ।

द्वन्द्ववादले यो बताउँछ कि कुनै एउटै चिजमा सकारात्मक र नकारात्मक दुवै पक्ष एकैसाथ हुन सक्दछन् । त्यो अवस्थामा हामीले कुनै चिजमा भएका सकारात्मक पक्षको समर्थन गर्ने र नकारात्मक पक्षको विरोध गर्ने नीति एकैसाथ चलाउनुपर्दछ । त्यही द्वन्द्ववाद हो ।

हामीले पाँचदलीय गठबन्धन वा चुनावी तालमेलका सन्दर्भमा पनि त्यही द्वन्द्ववादी नीति अपनाएका छौँ । यसो गर्ने बेलामा उनीहरूका गलत नीतिका विरुद्ध हाम्रो सङ्घर्ष साथसाथै चलिरहेको हुन्छ । सङ्घीयताको प्रश्नमा उनीहरूसित हाम्रो पहिलेदेखि नै सङ्घर्ष चल्दै आएको छ । अहिले एमसिसी र नागरिकता विधेयकसमेतको हामीले गरेको विरोध वा सङ्घर्षको नीतिबाट हामीले सकारात्मक पक्षसित एकता र नकारात्मक पक्षको विरोध गर्ने हाम्रो नीति माक्र्सवादी–लेनिनवादी द्वन्द्वात्मक नीतिअनुरूप भएको कुरामा कुनै शङ्का रहन्न ।

जुन पक्षसित हामीले गठबन्धन वा चुनावी तालमेल गरिरहेका छौँ, उनीहरूले परस्परमा सहमति भएका विषयमा पनि इमानदारितापूर्वक काम नगरेका कैयौँ उदाहरण हाम्राअगाडि छन् । प्युठानको झिमरुकको उदाहरण त्यसको एउटा ज्वलन्त उदाहरण हो । स्थानीय चुनावका बेलामा पा“च दलका बिचमा एमालेसित चुनावी तालमेल नगर्ने सहमति भएको थियो तर झिमरुकमा राष्ट्रिय जनमोर्चालाई हराउन माओवादीले एमालेसित तालमेल गरेको थियो । अन्य कतिपय पक्षले पनि त्यसरी सहमतिको उल्लङ्घन गरेका कैयौँ उदाहरण पाइन्छ । स्थानीय चुनावका बेलामा खालि राष्ट्रिय जनमोर्चाले मात्र पाँचदलीय सहमतिलाई इमानदारिता र दृढतापूर्वक पालना गरेको थियो । त्यसले पनि देशको राजनीतिमा राजमो उच्च धरातलमा स्थापित भएको कुरा प्रस्ट हुन्छ ।

एकातिर, एमसिसी र नागरिकता विधेयक जस्ता विषयमा पाँच दलभित्रका अन्य पक्षका गलत नीति र अर्कातिर, परस्परमा भएका सहमति वा समझदारीप्रतिको उनीहरूको अविश्वसनीय कार्यशैलीका बावजुद हामीले उनीहरूसित सहकार्य वा चुनावी तालमेलको नीति अपनाउने र त्यो नीतिलाई सकेसम्म सफल पार्ने कुरामा जोड दिँदै आएका छौँ । हाम्रा कतिपय मित्रशक्तिले पनि त्यस प्रकारको अवस्थामा उनीहरूसितको गठबन्धन वा चुनावी तालमेललाई तोड्नुपर्ने कुरामा जोड दिने गरेका छन् तर होइन, हामीले उपर्युक्त प्रकारको अवस्थामा पनि उनीहरूसितको तालमेललाई कायम राख्नुपर्ने कुरामा जोड दिँदै आएका छौँ किनभने हामीले उनीहरूसितका हाम्रा विभिन्न मतभेद वा उनीहरूको कार्यशैलीमा भएका कतिपय गलत पक्षहरू जस्तै कि आपसमा भएका सहमति वा समझदारीलाई इमानदारितापूर्वक पालना नगर्नेभन्दा प्रतिगमनको खतरा र जनताको आन्दोलनबाट प्राप्त महान् उपलब्धिको रक्षा गर्ने कार्यलाई बढी गम्भीर र प्रधान रूपमा लिएका छौँ, जसले अन्य पक्षसितका हाम्रा मतभेद, उनीहरूका गलत नीति वा उनीहरूको कार्यशैलीमा भएका विभिन्न कमजोरीका कारणले हामीले उनीहरूसित सम्बन्ध तोड्नुपर्ने कुरामा जोड दिन्छन्, त्यसका पछाडिको उनीहरूको यो मनसायले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन : देशमा गणतन्त्र समाप्त भएर देश प्रतिगमनतिर गए पनि जाओस् वा देशमा अधिनायकवादी शासन कायम भए पनि कायम होस् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको सोचाइलाई हामीले दृढतापूर्वक अस्वीकार गर्दछौँ ।

अहिले देशका अगाडि दुईओटा मुख्य राजनीतिक आवश्यकता छन : प्रथम, प्रतिगमनका विरुद्ध सङ्घर्ष, द्वितीय, गणतन्त्रको रक्षा । उक्त दुवै पक्षमा देशमा गम्भीर प्रकारका राजनीतिक मतभेद पनि छन् । प्रतिगामी शक्तिहरूले ती दुवै प्रश्नमा भिन्न मत राख्दछन् । प्रतिगमनको खतरा स्वयम् प्रतिगामी शक्तिबाट नै छ । त्यसैले उनीहरूले देशलाई प्रतिगमनबाट खतरा छ भनेर स्वीकार गर्ने वा त्यसका विरुद्धको सङ्घर्षमा जोड दिने कुरा नै भएन । उनीहरूले प्रतिगमन देशका लागि खतरा होइन, राष्ट्रिय आवश्यकता भएको कुरा ठान्दछन् । यद्यपि बेग्लै कोणबाट कतिपय वामपन्थी शक्तिहरूले पनि उक्त दुवै प्रश्नहरू प्रतिगमनका विरुद्ध सङ्घर्ष र गणतन्त्रको रक्षाका प्रश्नबारे प्रतिगामी शक्तिले जस्तै दृष्टिकोण राख्दछन् । उनीहरूले देशमा प्रतिगमनको खतरा छ भन्ने कुरालाई स्वीकार गर्दैनन् । त्यसका साथै उनीहरूले विद्यमान गणतन्त्रको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतालाई पनि अस्वीकार गर्दछन् । उनीहरूको दृष्टिमा विद्यमान गणतन्त्र पुँजीवादी हो र त्यसकारण त्यसको रक्षाका लागि सङ्घर्ष गर्नु आवश्यक ठान्दैनन् । त्यसको सट्टा उनीहरूले त्यसलाई खतम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन् । सायद त्यो कार्यलाई उनीहरूले क्रान्तिकारी कार्य पनि ठान्दछन् । त्यसरी उनीहरूको सोचाइले प्रतिगामीसित मेल खान्छ । त्यसको स्वाभाविक परिणाम यो हुन्छ कि प्रतिगमन विरुद्ध सङ्घर्ष वा गणतन्त्रको रक्षाको प्रश्नमा उनीहरूका सोचाइ प्रतिगामी शक्तिसित नै मिल्न जान्छन् ।

यद्यपि उनीहरूको नियत प्रतिगामी नै छ भन्ने हाम्रो निष्कर्ष छैन तर निर्णायात्मक कुरा—जस्तो कि लेनिनले भनेका छन्—नियत हैन, परिणाम हो । त्यसैले उनीहरूको नियत प्रतिगामी नभए पनि व्यवहारमा उनीहरू प्रतिगमनको नै सेवा गर्न पुग्दछन् । प्रतिगामी शक्तिहरू अब धेरै नै बदनाम भएर गएका छन् । त्यसैले उनीहरूले जनतामा धेरै भ्रम पार्ने क्षमता राख्दैनन् तर वामपन्थी दिशाबाट आएको त्यस प्रकारको सोचाइले जनतामा बढी भ्रम पार्न सक्दछ । त्यसैले त्यस प्रकारका सोचाइ विरुद्धको वैचारिक सङ्घर्षमा बढी जोड दिनुपर्ने आवश्यकता हुन्छ ।

यो स्वाभाविक हो कि जसले प्रतिगमन र गणतन्त्रबारे सही र स्पष्ट विचार राख्दैनन्, उनीहरूले आजको देशको राजनीतिक स्थितिमा पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको आवश्यकता र महत्वलाई बुझ्न सक्दैनन् । त्यति मात्र होइन, उनीहरूले त्यसका विरुद्ध आवाज पनि उठाउँछन् । त्यसका पछाडि उनीहरूको गणतन्त्रप्रतिको पूर्वाग्रहयुक्त सोचाइले काम गरेको कुरा सजिलैसित बुझ्न सकिन्छ । प्रतिगामी शक्तिहरूको सबैभन्दा ठुलो निशाना गणतन्त्र नै हो । त्यसलाई समाप्त गर्नको लागि उनीहरूले हिन्दु धर्मलाई आफ्नो मुख्य हतियार बताएका छन् । देशमा बहुसङ्ख्यक जनता हिन्दु धर्मावलम्बी नै छन् । उनीहरूले आफ्नो आस्था र विश्वास अनुसार धर्मकर्म वा आचरण गर्ने कुराको हामीले विरोध गर्दैनौँ तर समस्या के हो भने प्रतिगामी शक्तिहरूले हिन्दु धर्मलाई आफ्नो प्रतिगामी उद्देश्य अर्थात् राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । त्यो कुरालाई अर्थात् धर्मलाई प्रतिगामी उद्देश्यको पूर्तिका लागि प्रयोग गर्ने कुराको हामीले विरोध गर्दछौँ ।

यहा“ गणतन्त्रको विरोधमा देखा परेका विभिन्न पक्षका बिचको एउटा महफ्वपूर्ण अन्तरप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । राजावादीले धर्म निरपेक्षतालाई समाप्त गरेर हिन्दु राष्ट्रलाई कायम राख्ने कुरामा जोड दिन्छन् तर जसले वामपन्थी कोणबाट गणतन्त्रको विरोध गर्दछन्, उनीहरूले धर्म निरपेक्षताको विरोध गर्दैनन् र उनीहरू हिन्दु राष्ट्रको स्थापना गर्ने पक्षमा पनि देखिन्नन् । निश्चय नै नेपालमा एकाध यस्ता वामपन्थी सङ्गठन पनि छन्, जस्तै कि नेकपा (माले), जसले घोषित रूपले नै धर्म निरपेक्षताको विरोध गर्दछ र हिन्दु राष्ट्रको स्थापनामा जोड दिन्छ । धर्म निरपेक्षताको प्रश्नमा वामपन्थीका बिचमा त्यस प्रकारको केही अन्तर भए पनि समग्र रूपमा गणतन्त्रप्रतिको विरोधले उनीहरूलाई राजावादीको नजिक नै लैजान्छ । त्यसैले अहिलेको देशको राजनीतिमा प्रतिगामी धाराको प्रतिनिधित्व गर्ने राजावादी तत्त्व र एमालेसमेतसित निकट सम्बन्ध कायम हुँदै गएको देखिन्छ ।

कतिपय वामपन्थी शक्तिले नियतवश नै प्रतिगमनको सेवा गरिरहेका छन् भन्ने निस्कर्ष निकाल्नु सही हुने छैन यद्यपि वामपन्थीका बिचमा त्यस प्रकारको घुसपैठ भएको सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । गत कालमा हाम्रो पार्टीमा डा. रायमाझीको घुसपैठ भएको उदाहरण हाम्राअगाडि छ । त्यो सिलसिला त्यही नै समाप्त भयो भनेर ढुक्क भएर बस्नु अवश्य पनि सही हुने छैन । जे होस्, अहिले गणतन्त्रको विरोधमा उभिएका विभिन्न वामपन्थी शक्तिमध्ये सबैको नियत त्यस्तो नभए पनि एकातिर रणनीति र अर्कातिर कार्यनीतिका बिचको सम्बन्धलाई सही माक्र्सवादी–लेनिनवादी दृष्टिकोणले बुझ्न नसक्दा नै उनीहरूले त्यस प्रकारको कमजोरी गरेको हुन सक्दछ ।

संसारभरिका सबै “वामपन्थी” सङ्कीर्णवादीमा यो प्रवृत्ति रहने गरेको छ कि उनीहरूको मुख्य जोड रणनीतिक कार्यक्रम र नारामा बढी जोड दिनेतिर नै रहने गरेको हुन्छ । तात्कालिक स्थितिको ठोस विश्लेषण गरेर—जसलाई लेनिनले माक्र्सवादको आत्मा नै बताएका छन्—तिर उनीहरूको कम ध्यान जाने गरेको छ । नेपालका कतिपय “वामपन्थी” मा पनि त्यही प्रकारको “वामपन्थी” सोचाइ देखा पर्ने गरेको छ ।

त्यसको परिणामस्वरूप नै उनीहरूको मुख्य जोड समाजवाद, नयाँ जनवाद वा जनवादी गणतन्त्रलाई तात्कालिक कार्यदिशाको रूपमा प्रस्तुत गर्नेतिर नै हुन्छ । त्यही कारणले अहिलेको देशको राजनीतिक स्थितिमा प्रगतिशील भूमिका भएको पुँजीवादी गणतन्त्रको सकारात्मक महत्वलाई उनीहरूले बुझ्न सक्दैनन् र त्यसमाथि हमला गर्न पुग्दछन् । त्यसरी उनीहरू व्यवहारमा प्रतिगमनको सेवा गर्न पुग्दछन् ।

ओली बाह्य रूपमा कम्युनिस्ट देखिए पनि उनले वास्तवमा हिन्दु धर्मको नै तरफदारी गर्दै आएको देखिन्छ । त्यस सिलसिलामा उनले पशुपतिनाथमा ३० करोड मूल्यको सुनको जलहरी चढाएको र चितवनमा राममन्दिर निर्माणका लागि गरिएको प्रयत्नका उदाहरणको उल्लेख गर्नु पर्याप्त हुने छ । त्यही कारणले उनी नेपालका कट्टर हिन्दुवादी र राजावादीका पनि प्रिय पात्र बन्न पुगेका छन् । उनीहरूको प्रतिगामी उद्देश्य ओलीद्वारा नै पूरा हुने छ भन्ने सपना देख्न थालेका छन् । हिन्दु धर्मको त्यो बाटो अन्तमा राजतन्त्रमा गएर नै टुङ्गिन्छ । त्यसैले हामीले यो कुरामा जोड दिइरहेका छौँ कि अहिले देशका प्रतिगामी धाराको मुख्य नेतृत्व ओलीले नै गरिरहेका छन् ।

उनले आगामी चुनावमा बहुमत वा दुईतिहाइ बहुमत प्राप्त गर्ने दाबी गरिरहेका छन् । संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरेपछि उनका लागि संविधानमा संशोधन गर्नु सम्भव हुने छ । यदि उनलाई त्यस प्रकारको सफलता प्राप्त भयो भने उनको पहिलो प्रहार गणतन्त्र र धर्म निरपेक्षतामाथि नै हुने छ । त्यसैले आगामी चुनावमा उनलाई निर्णयात्मक रूपले पराजित गर्नु राष्ट्रिय आवश्यकता भएको छ । या त हामी उनलाई पराजित गर्न सफल हुने छौँ या देश प्रतिगमन र अधिनायकवादतिर जाने छ । त्यसमाझको अर्को कुनै विकल्प छैन । अब यो कुरा नेपाली जनताले फैसला गर्नुपर्ने छ:  उक्त दुईटा विकल्पमध्ये कुनचाहिलाई रोज्ने ?

अन्य राजनीतिक दलका लागि आगामी चुनाव खालि सत्तामा पुग्ने र कसरी पुग्ने भन्ने प्रश्नसम्म नै सीमित रहेको देखिन्छ तर हाम्रो सोचाइ त्योभन्दा मौलिक रूपले नै बेग्लै छ । आगामी चुनावको महत्त्व हाम्रो लागि यो कुरामा छ : हामी प्रतिगमनलाई पराजित गर्न सफल हुने छौ वा हुने छैनौ ।

अन्तमा, ओलीको नेतृत्वमा देखा परेको प्रतिगमन र अधिनायकवादको खतरालाई रोक्नका लागि अहिले देशका अगाडि पाँचदलीय गठबन्धन वा चुनावी तालमेलबाहेक अन्य कुनै उपाय छैन । त्यसैले हामीले अन्य पक्षसितका हाम्रा गम्भीर प्रकारका मतभेद, उनीहरूको अविश्वसनीय चरित्र वा उनीहरूको कार्यशैलीमा भएका कमजोरीका बाबजुद उनीहरूसित चुनावी तालमेल गर्ने कुरामा जोड दिइरहेका छौँ । त्यो अहिलेको समयको माग हो । त्यसैले हामीले त्यसको विरोध गर्यौँ वा आफूभित्रका कमजोरीका कारणले पाँचदलीय चुनावी तालमेल सफल हुन सकेन भने त्यसका गम्भीर र दीर्घकालीन दुष्परिणाम हुने छन् । त्यसपछि तिनीहरूलाई सच्याउनका लागि नेपाली जनताले लामो सङ्घर्ष तथा त्याग र बलिदानको बाटो समात्नु पर्ने छ : सायद ३० बर्से पञ्चायती कालको भन्दा पनि लामो र कठिन बाटो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार