प्रतिगमनका विरुद्धको गठबन्धन अझै आवश्यक : सिंह

जुमानसिंह केसी

खलङ्गा । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनको खतरा अझै विद्यमान रहेकाले त्यसका विरुद्धको गठबन्धन सशक्त बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

प्रगतिशील पत्रकार सङ्घ प्युठानले २०७९ भदौ २६ गते आइतबार बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको भन्दै सबै देशभक्त पार्टीहरू आफ्नो पार्टीस्वार्थभन्दा माथि उठ्न सबैलाई आग्रह गर्नुभयो ।

वर्तमान राष्ट्रिय राजनीतिमा नेकपा ९एमाले० ले प्रतिगमनको नेतृत्व गरिरहेकाले प्रतिगमनबाट मुलुकलाई जोगाउन पाँचदलीय गठबन्धन भएको र अहिले पनि त्यसका विरुद्ध बलियो मोर्चा आवश्यक भएको बताउनुभयो ।

‘कम्युनिस्ट नामधारी केही शक्तिहरूको चलखेल प्रतिगमनका पक्षमा देखिएको छ । उनीहरू राजावादीसँग साँठगाँठ गर्न सक्छनु’ उहाँले भन्नुभयो– ‘उनीहरू गत जनआन्दोलनको बलमा स्थापित गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा लागिरहेका छन् र त्यसको नेतृत्व एमालेले गर्दै छ ।’

उहाँले यस्तो प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक भएको पनि दाबी गर्नुभयो ।

महामन्त्री सिंहले नेकपा (एमाले) का अध्यक्ष केपी ओली चुनावबाट बहुमतमा आए देशमा प्रतिगमन हुने र हालका उपलब्धि गुम्न सक्ने खतरा रहेकाले एमालेलाई पराजित गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

पत्रकारको जिज्ञासाबारे जवाफ दिँदै उहाँले पाँचदलीय गठबन्धमा राजमोलाई सिट बाँडफाँडमा सम्मानजनक व्यव्हार तथा अपमान गरिएमा आफ्नो पार्टी एक्लै चुनावमा जाने पनि उल्लेख गर्नुभयो । त्यस क्रममा उहाँले एमालेसग आगामी चुनावमा कुनै पनि स्तरमा तालमेल नहुने बताउनुभयो ।

‘हामी कुनै पनि हालतमा तालमेल नगर्ने बरु एक्लै चुनावमा जान्छौँ तर प्रतिगमनको नेतृत्व गरिरहेको, प्राप्त उपलब्धिलाई ध्वस्त पार्नमा उद्यत एमालेसँग साँठगाठ गर्दैनौँ’ महामन्त्री सिंहको भनाइ थियो ।

‘नेपालको वामपन्थी आन्दोलनको अगुवाइ आफ्नो पार्टीले गरिरहेको भन्दै उहाँले पार्टीभित्र इमानदार र पार्टी क्रान्तिमा टिक्न नसक्नेहरूले भ्रम फैलाउँदै हिड्ने गरेको पनि बताउनुभयो ।

साथै उहाँले पत्रकारहरूको प्रश्नमा अवसरवादी, भ्रष्ट र अधिनायकवादी सोच भएका व्यक्तिहरू सही नीति र बिचारमा अट्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको स्वीकार गर्नुभयो ।

आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशको चुनावमा सङ्घमा प्युठान र बागलुङमा एक एक सिट राजमोलाई हुनुपर्ने आफ्नो माग यथावत रहेको उल्लेख गर्नभयो । दलहरू बिचमा छलफल भइरहेको भन्दै उहाँले छिटै निस्कर्ष आउने आशासमेत व्यक्त गर्नुभयो ।

पार्टीकामको सिलसिलामा गृहजिल्ला प्युठान आउनु भएका महामन्त्री सिंहले एक फरक प्रसङ्गमा आफ्नो पत्नी दुर्गा पौडेल भए पनि नेता तथा उम्मेदवार बनाउनमा आफ्नो कुनै भूमिका नरहेको र दुर्गाको पौडेलको पार्टीप्रतिको इमानदारिता, लगनशीलता र जिम्मेवारिपनको आधारमा विधिप्रक्रियाअनुसार पार्टीले निर्णय गरेको भन्दै परिवारवाद भएको आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार