राष्ट्रिय जनमोर्चाले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

English English Nepali Nepali
  • "प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा नेपाली "
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएको छ । राजमोले बुझाएको बन्दसूचीमा प्रतिनिधसभातर्फ कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको नाम पहिलो नम्बरमा छ ।

    राजमोले सोमबार आयोग पुगेर चौँथो नम्बरमा समानुपातिक सूची बुझाएको हो । सूची बुझाउन राजमो सचिव हिमलाल पुरी, कोषाध्यक्ष मधु क्षेत्री, लालबहादुर थापा, घनश्याम न्यौपाने र सुधा शर्मा तथा गोविन्द शर्मा आयोग पुग्नुभएको थियो ।

    राजमोले प्रतिनिधि सभातर्फ ११० जनाको बन्दसूचीमा नाम पठाएको छ। प्रदेशसभातर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी ३५, गण्डकी २४ बागमती २६, जनाको नाम बन्दसूचीमा पेश गरिएको केन्द्रीय सदस्य न्यौपानेले बताउनुभयो ।

    प्रदेश १ र मधेश प्रदेशमा भने राजमोले उम्मेदवारको बन्दसूची पेश गरेको छैन । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते बन्दसूची पेश गर्ने कार्यक्रम छ ।

    समानुपातिक सूचीमा रहेका नाम १६ गतेसम्म सच्याउन पाइने, तलमाथि गर्न नपाइने

    निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेका नामहरु असोज १६ गतेसम्म सच्याउन पाइने जनाएको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक बन्द सूची राजनीतिक दलहरुले आज पेश गर्दैछन्।

    आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचिमा रहेका नामहरु सच्याउनका लागि पत्राचार गर्ने र १६ गते भित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनु भयो ।

    उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावली अनुसार दलहरुले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरु निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘ऐन, कानुनमा भएको व्यवस्था अनुसार उहाँहरुले पेश गर्नु हुन्छ । त्यसपछि त्यसलाई हामीले हेर्छौ । हेरेर हाम्रो नियमावलीले के भन्छ भने नौ गतेसम्ममा त्यहाँ कुनै नामनै परिवर्तन गर्नुपर्ने भएको छ भने पनि सो समेत गर्न समय दिनुपर्छ भन्ने व्यवस्था भएकाले अव यतिनै आउँछ र यतिनै गर्न सकिन्छ भन्ने कुरा छैन । पहिला हामीले सबै डकुमेन्टहरु हेरेर तपाईहरुको आवश्यक संशोधन, परिमार्जन गरेर त्रुटी सच्याउन तथा संशोधन परिमार्जन गर्न समय दिइनेछ भनेर हामीले त्यही लेखेर समय दिन्छौं । अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ । त्यो विवरणमा चाँही कुनै पनि हालतमा परिवर्तन हुँदैन ।

    त्यसलाई आयोगले २२ गते सूचना जारी गरेर सार्वजनिक गर्छ । त्यो भन्दा अघि हामी हाम्रो गोपनियता कायम राख्छौं । २२ गते बेलुकासम्म सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । त्यो सार्वजनिक गरिसकेपछि त्यो नाम तदनुसारनै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना गरिसकेपछि त्यही नामबाट क्रमशः उम्मेदवारहरु चयन हुनेछन ।’

    निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धि सबै कामहरु अघि बढाउन प्रतिवद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह पनि गर्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार