निर्वाचनमा प्रतिगमन विजयी भए देश फेरि संकटमा जान्छ: सिंह

गोपालप्रसाद भट्टराई

असौज-४,अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आसन्न निर्वाचनमा प्रतिगमन विजयी भएमा देश फेरि संकटमा जाने चेतावनी दिनुभएको छ । महामन्त्री सिंहले प्रतिगमनको पुनरागमनले मुलुक ५० बर्ष पछाडि धकेलिने आशङ्का व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्गघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एमालेले प्रतिगमनको नेतृत्व गर्नु दुःखद भएको महामन्त्री सिंहको भनाइ छ । “विश्वको इतिहास हेर्दा कम्युनिस्टले जहिलेपनि अग्रगमनलाई समर्थन गरेका छन्,“ महामन्त्री सिंहले भन्नुभयो,“नेपालमा प्रतिगमनको नेतृत्व कम्युनिष्टले गर्नु दुःखद हो ।” प्रतिगमन हार्ने या जित्ने आसन्न निर्वाचनले फैसला गर्ने भन्दै महामन्त्री सिंहले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ ।

कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले नेपालको राजनीतिक आन्दोलनमा असौज ३ ऐतिहासिक दिन भएको टिप्पणी गर्नुभएको छ । संविधानमा आफुहरुका भिन्न मत हुँदाहुँदै पनि अहिको अवस्थामा संविधान कार्यान्वयनको विकल्प नभएको उहाँको धारणा छ । राष्ट्रिय जनमोर्चाले सत्ताको स्वाद चाख्न कम्युनिष्टको सरकार ढालेर काङ्ग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै विपक्षीले लगाउने आरोपमा सत्यता नभएको महासचिव भट्टको दाबी छ । आवरणमा देखिने एमाले मात्रै हैन भारत र राजावादीको समेत ठुलो साँठगाँठ रहेकोले प्रतिगमनको विरुद्ध मोर्चा बनाउनु परेको उहाँको जिकिर छ ।

राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.को अध्यक्षता,सचिव बाबुराम पन्थीको स्वागत मन्तव्य र जिल्ला अध्यक्ष थम्मन के.सी.को संचालनमा सम्पन्न उद्घाटन समारोहमा राजमो केन्द्रिय सदस्यद्धोय झविलाल थापा, सागर के.सी. र नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले मन्तव्य राख्दै आसन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रदेशसभा क्षेत्र नम्बर १ आफुहरुको बटमलाईन भएको जानकारी दिंदै निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । जिल्लाका ६ वटै पालिकाबाट २ सय जना अगुवा कार्यकर्ता सहभागि भएको प्रशिक्षण कार्यक्रम आज समापन हुने राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार