प्रतिगमन, राष्ट्रियता र आगामी चुनावको सन्दर्भ

क. हर्ष ##

हामीले काङ्ग्रेससँग प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने क्रममा चुनावमा गरेको कार्यगत एकताको विषयलाई लिएर कतिपय मानिसले हाम्रो आलोचना गर्दै आएका छन् । उनीहरूले त्यसो गर्नुको कुनै ठोस आधार नभए पनि हाम्रो विरोध गर्नका लागि पनि त्यसरी आलोचना गर्नुपर्ने उनीहरूलाई बाध्यता छ । त्यसैले उनीहरूको आलोचना विरोधको लागि विरोध मात्र हो तर हामीले उनीहरूको त्यस प्रकारको सोचाइलाई निरपेक्षवादी सोचाइ ठान्छौँ ।

अहिलेको प्रतिगमन हामीले मित्रशक्ति मान्दै आएका ओलीबाट भएको थियो । उनले दुई दुईपटक संसद् विघटन गरेर प्रतिगमन ल्याउन खोजे । उनका कारण धर्म निरपेक्षता र गणतन्त्र पनि खतरामा पर्न गयो । त्यो अवस्थामा हामीले उनको प्रतिगमनलाई पराजित गर्नका लागि काङ्ग्रेसलगायतका सङ्गठनसँग कार्यगत एकता गर्नुपरेको थियो ।

मित्रशक्तिलाई निरपेक्ष रूपमा समर्थन गर्ने र दुस्मनशक्तिलाई निरपेक्ष रूपमा विरोध गर्ने कुरालाई हामीले गलत मान्दछौँ । मित्रशक्ति वा दुस्मन शक्तिप्रतिको हाम्रो नीति निरपेक्ष हुन सक्दैन । पहिले हामीले मित्रशक्ति मानेका केपी ओलीको सरकारलाई समर्थन गरेका थियौँ । उनी जबसम्म गणतन्त्र र धर्म निरपेक्षताका पक्षमा थिए, त्यतिबेला सम्म हामीले उनलाई समर्थन गरेका थियौँ । हामीले उनलाई त्यसरी समर्थन गरेको बेलामा एकथरि मानिसले राष्ट्रघाती, दलाल पुँजीपतिसँग मिलाप गरेको, ओलीसँग मसालका नेताको केमेस्ट्री मिलेको आदि भनेर हाम्रो खुब विरोध गर्दथे तर ओलीले प्रतिगमन गरेपछि हामीले काङ्ग्रेसलगायतका दलसँग मिलेर प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्दा वा चुनावी तालमेल गर्दा वर्गदुस्मनसँग मिलेको भनेर फेरि कराउन थाले । हाम्रा विरुद्ध कराइरहेको बेलामा उनीहरूले ओलीलाई समर्थन गरिरहेका थिए । त्यसरी उनीहरूको सङ्कीर्णवादी सोचाइका कारणले उनीहरूलाई ठोस स्थितिको ठोस विश्लेषण गर्न सम्भव भएन । उनीहरू एउटा वस्तुमा देखिएको एउटा कुनै गुणबारे निश्चित दृष्टिकोण अपनाउन असफल हुँदै आएका छन् । कुनै वस्तुको गुुण यथास्थितिमा रहिरहेको बेलामा फरक फरक देख्नु उनीहरूको दृष्टिकोणको गम्भीर समस्या हो । त्यसैले उनीहरूले दलाल पुँजीपति देखेका ओलीले प्रतिगमनको दिशा समात्दा उनलाई नै समर्थन गर्न पुगे । त्यो बेलामा उनीहरूको मुख्य कार्य हाम्रो विरोध गर्नु नै रह्यो । त्यो कार्य एमाले, अरू कतिपय वामपन्थी गुट, फुटपरस्तलगायतले गरेका थिए । उनीहरूले त्यसरी हाम्रो विरोध गरेको भए पनि हाम्रो ठोस नीतिमा कुनै फरक परेन । हामीले ओलीलाई समर्थन गर्ने अवस्था र विरोध गर्ने अवस्थाको जुन विश्लेषण गरेका थियौँ, त्यो हाम्रो आत्मपरक नभएर वस्तुपरक विश्लेषण थियो, जसका कारणले हामीमाथि विभिन्न खालका विरोध भए पनि आफ्नो नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न हामी सफल भयौँ ।

पञ्चायत फाल्न, गणतन्त्र ल्याउन, विगतमा राजाद्वारा उठाइएका प्रतिगामी कदमका विरुद्धलगायतका विभिन्न सन्दर्भमा सङ्घर्ष गर्ने बेलामा हामीले कैयौँपटक काङ्ग्रेससँग कार्यगत गरेको इतिहास छ । त्यसैले अहिले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि त्योसित गठबन्धन बनाउनु परेको हो । धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा काङ्ग्रेसमा इमानदारिता देखिएको कुरा स्पष्ट छ । त्यसैले प्रतिगमन हुन नदिन काङ्ग्रेससँग हाम्रा गम्भीर विमतिका बाबजुद पनि गठबन्धन गर्नुपरेको हो । त्यो गठबन्धन काङ्ग्रेससँग मात्र होइन, अन्य दलसँग पनि भएको थियो ।
प्रतिगमनको खतरा अझै पनि छ । संविधानमा व्यवस्था नभएको संसद् विघटनको बाटो रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन । उनीहरूले आफ्नो फाइदाका लागि आन्दोलनका उपलब्धिमाथि विश्वासघात गर्ने सम्भावना धेरै रहन्छ । त्यसरी आन्दोलनका उपलब्धिमाथिको विश्वासघात नै प्रतिगमन हो । प्रतिगमनको विजय भएमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता वा जनताका विभिन्न सङ्घर्ष र आन्दोलनका उपलब्धि समाप्त भएर जाने छन् र मुलुक अन्धकारतर्फ धकेलिने छ । देशलाई त्यस प्रकारको दुर्घटनाबाट बचाउनका लागि प्रतिगमन विरोधी शक्तिहरूले सम्भव भएसम्म सङ्घर्ष, आन्दोलन, चुनावी तालमेल आदि गरेर अगाडि बढ्नु नै देशका लागि हितकर हुन्छ ।

भारतीयलाई नागरिकता दिन संसद्बाट नागरिकता विधेयक पारित गरिएको छ । यसभन्दा अगाडि सरकार चलाएको अहिलेको ठुलो प्रतिपक्ष दल एमालेको समेत मिलोमतोमा त्यो नागरिकता विधेयक पारित भएको छ । राष्ट्रपतिले पुनर्विचारका लागि संसद्मा नै उक्त विधेयक फिर्ता पठाएको कार्यलाई हामीले स्वागत गरेका थियौँ तर त्यसरी राष्ट्रपतिद्वारा पुनर्विचारका लागि भनी संसद्मा फिर्ता पठाइएको उक्त नागरिकता विधेयकलाई जस्ताको तस्तै पुनः संसदमा पेस गरी पारित गर्ने काम भएको छ । त्यो गम्भीर प्रकारको राष्ट्रघातमा देशका सबै ठुला दलले सही लगाएका छन् । हामीले त्यसरी पारित भएको त्यो विधेयकको कडा शब्दमा विरोध गर्दै आउने दिनमा पनि राष्ट्रियताको विषयलाई केन्द्रमा राखेर उक्त राष्ट्रघाती नागरिकता विधेयकको खारेजीको लागि सङ्घर्ष गर्दै जानुपर्दछ ।

यसरी नेपालका ठुला दल र शीर्ष नेताहरू भारतीयको इसारामा चलेको देखिन्छ । नेपाललाई श्रीलङ्का र फिजी जस्तो बनाउनका लागि यो नागरिकता विधेयक ल्याइएको स्पष्ट छ । स्वयम् भारतको पनि नागरिकतासम्बन्धी आफ्नो नीति छ । भारतमा बिहे गरी गएका हाम्रा छोरीचेलीले त्यहाँ सात वर्षपछि नागरिकताको प्रक्रिया थाल्न पाउँछन् तर भारतबाट बिहे गरी आएकी बुहारीलाई सिन्दुरसँगै नागरिकता चाहिनुपर्ने ? नागरिकतासम्बन्धी भएको त्यस प्रकारको राष्ट्रघाती चलखेलबाट देशको राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर समस्या पैदा हुन गएको छ । भविष्यमा देशभित्र त्यसका दुष्परिणाम अझै भयानक बनेर जानेछन् ।

आज देशमा कुनै पक्ष जनताका आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने दिशामा अग्रसर छन् भने कुनै पक्षले राष्ट्रघाती कार्यलाई निरन्तर अगाडि बढाइरहेका छन् । एमाले नै त्यस्तो शक्ति बन्न गएको छ, जो प्रतिगमनका लागि जिम्मेवार छ भने राष्ट्रघाती विषयलाई पारित गराउनमा पनि सामेल छ । एमसिसी, नागरिकता विधेयक जस्ता राष्ट्रघाती विषयलाई पारित गर्दा त्यसले अपनाएको नीतिबाट त्यसको असली रूप बुझ्न कुनै गाह्रो पर्दैन । नेपालको संसद्, सरकार, प्रतिपक्ष आदिले लोकतन्त्र र राष्ट्रियताका विरुद्ध गरेका ती कर्मको भविष्यमा नै मूल्याङ्कन हुन सक्ला तर पनि गम्भीर प्रकारका राष्ट्रघातबाट देशलाई जोगाउन आज पनि देशमा ठुलो देशभक्ति जनशक्ति छ, त्यसलाई देशको हितमा उभ्याउन हामीले प्रयत्न गर्दै जानुपर्दछ ।

राष्ट्रिय जनमोर्चा नै एउटा त्यस्तो शक्ति बन्न पुग्यो, जसले प्रतिगमन र राष्ट्रियताका सन्दर्भमा ठोस विश्लेषण गर्दै सही नीति अपनाउन सफल भयो । एमसिसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले गठबन्धनमा फरक मत मात्र राखेन, आवश्यकताअनुसार कार्यगत एकता कायम भएका दलहरूसित सम्बन्ध विच्छेद गर्ने र आवश्यकतानुसार पुनः सम्बन्ध कायम गर्ने नीतिमा पनि सफल रह्यो । प्रतिगमन विरुद्धको सङ्घर्षमा सँगै रहेका दलहरूले एमसिसीलाई संसद्बाट पारित गर्दा उनीहरूसितको सम्बन्धलाई तोडेको थियो तर त्यो कुरा त्यही विषयसित नै सम्बन्धित रहेको कुरा पनि स्पष्ट गरिएको थियो । प्रतिगमनको समस्या देशमा गम्भीर भइरहेको बेलामा चुनावमा प्रतिगमन विरोधी पक्षसँग चुनावी तालमेल गर्ने हाम्रो नीति रह्यो । त्यसो गर्दा एमसिसी पारित गर्ने पक्षसँग पनि चुनावी तालमेल हुन पुग्यो । कतिपयले यसलाई पनि पचाउन सकेनन् । अहिले देशमा चुनावी तालमेलसम्बन्धी हाम्रो नीति प्रतिगमनका विरुद्धको सङ्घर्षसित नै सम्बन्धित छ भन्ने कुरालाई बुझ्न उनीहरू आफ्नो सङ्कीर्णवादी तथा निरपेक्षवादी सोचाइका कारण असमर्थ छन् । एमसिसी पारित गराउन एमालेले देखाएको रवैया जस्तै नागरिकता विधेयक पारित गराउन त्यसले देखाएको रवैया पनि देशको सामु छ । इतिहासमा एमाले र गत स्थानीय चुनावमा हामीले तालमेल गरेका अन्य पक्षले समेत कैयौँ गलत कार्य गरेका छन् ।

इतिहासका विभिन्न सन्धिसम्झौता, महाकाली सन्धि, बिप्पालगायतका विभिन्न व्यापारिक सन्धिसम्झौता आदिमा यी सबै पक्ष कतै न कतै मुछिएका छन् । यदि ती कुरालाई आधार मान्ने हो भने प्रतिगमन वा विभिन्न लोकतन्त्रका लागि भएका आन्दोलनमा हामीले आफूलाई एक्लै खडा गर्नुपर्ने हुन्छ । उनीहरू कसैसित पनि कार्यगत गर्नु हुँदैन तर त्यसो नभएर हामीले प्रतिगमन वा विभिन्न लोकतन्त्रका लागि भएका आन्दोलनमा उनीहरूसित बेग्लाबेग्लै प्रकारले कार्यगत एकता गर्दै आएका छौँ ।

२०५६ सालमा राष्ट्रियसभाको चुनावमा हाम्रो एमालेसित तालमेल भएको थियो तर त्यसले अन्तर्घात गरेर राप्रपाको उम्मेदवारलाई विजयी गराएको इतिहास पनि जिउँदै छ तर त्यसपछि पनि हामीले त्योसित कैयौँपटक विभिन्न विषयका लागि कार्यगत एकता गर्ने गरेको इतिहास पनि जिउँदै छ । इतिहासका ती पक्षमाथि विचार गर्ने हो भने आगामी चुनावमा पनि हाम्रो चुनावी तालमेल गर्ने पक्ष कुन हुन सक्दछ भन्ने कुरा पनि स्पष्टताका साथ बुझ्न सकिन्छ । प्रतिगमन र राष्ट्रघात दुवैको साझेदारी भएको एमाले र राजतन्त्र फर्काउने उद्देश्य राखेका राजावादीसित चुनावी तालमेल गर्ने स्थिति रहँदैन । प्रतिगमनका विरुद्ध रहेका पक्षसित नै हाम्रो चुनावी तालमेलको सम्भावना रहन्छ । प्रतिगमनलाई परास्त गर्नका लागि प्रतिगमन विरोधी शक्तिका बिचमा चुनावी तालमेल हुनुपर्छ भन्नेमा हाम्रो पनि जोड छ तर त्यसको अर्थ चुनावी तालमेल वा गठबन्धनका नाममा देश र जनता विरुद्धका एजेन्डालाई हामीले समर्थन गर्नु हुने छैन । देश र जनता विरुद्धको मोर्चामा हामीले आफ्नो पहिचान र सशक्तता दर्शाउँदै चुनावी तालमेल गर्ने हो । त्यसो नभएमा एक्लै भए पनि चुनावमा जाने आँट हामीसँग हुनुपर्छ र त्यस्तो आँट छ पनि ।

नेकपा (मसाल) को मुखपत्र मसाल अङ्क ७९ भदौ २०७९ बाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार