- कोटफुर्से
फुचुंग्री :- काका ! चुनाव कहिले हो र काका ?
काका :- यही मंसिर चार गते हो नानी।
फुचुंग्री :- के छ चुनावी हलचल काका?
काका :- प्रजातान्त्रिक बाम गठबन्धन र प्रतिगामी एमाले गठबन्धन बीच आमने सामनेको टक्कर देखिएको छ । कतिपय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार मैदानमा छन। तिनीहरूको स्थिति नाजुक छ । प्रजातान्त्रिक बाम गठबन्धनको सुनामी आको छ, राजनैतिक चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार र विद्रोही भीम रावलको स्थिति हेर्दा एमाले दशैभरिबाट पत्तासाफ हुने डरलाग्दो स्थिति देखिन्छ ।
फुचुंग्री :- गठबंधन गरेर राजमो ले ठीक गरेन भन्नेहरू पनि छन नि काका ?
काका :- पार्टीको नीति सिद्धान्त विचार कार्यक्रम राजनीतिलाई नबुझेका वा बुझेर पनि बुझ पचाउने विरोधी अराजक तत्वहरूको झूठा प्रचार मात्रै हो । जनतामा भ्रम छर्न अनेकन जाल जेल षडयन्त्र भइरहेको छ । राजमोलाई हराउन लागि परेका छन्, खास गरेर एमालेका प्रतिगामी समुह र मसालका कथित विद्रोही फुटपरस्त तत्वहरू सक्रिय भएका छन ।
फुचुंग्री :- राजमोले गठबन्धन गरेर ठीक गर्यो भन्न खोज्नु भएको हो कि काका ?
काका :– हो नि नानी, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर पार्टीले प्रतिगामी तत्वहरूलाई हराउन पाँच दलिय प्रजातान्त्रिक बाम गठबन्धनमा सामेल हुने पार्टीको निणर्य छ, यद्यपि उनीहरूको एम.सी.सी. पास गर्ने निणर्य, नागरिकता विधेयक ल्याउने राष्ट्रघाती कदमको राजमोले विरोध गरेको छ, संघीयता खारेज गर्ने आन्दोलन जारी छ । पार्टीलाई जनताले चिन्ने मौका पाएका छन्, राजमो मात्रै एक मात्र सच्चा देशभक्त क्रान्तिकारी पार्टी हो । जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको छ ।
फुचुंग्री :– फुटपरस्त तत्वहरूले त चुनाव बहिस्कार गर्ने रे नि काका ?
काका :- गत स्थानिय निकायको निर्वाचनमा उपयोग गरेर पराजित भए पछि त्यही पराजित मानसिकताको उपज हो अरु केही होइन, क्रान्तिकारी नीति त कहाँ देखियो र ? देशैभरीमा एउटा वडामा पनि बहिस्कार गरेर जिरो भोट हाल्ने दम छैन ।
फुचुंग्री :- उनीहरूले त विशेष महाधिवेशन गरेर मोटो मशाल भएछन्, वैधानिक मोर्चा राजमो खारेज गरेछन्, प्रवासमा मूल प्रवाह हटाएछन्, अब सेक्टर काण्ड पनि घटाउने होलान् त काका ?
काका :– यिनीहरू तत्काल मसाल र मसालको नेतृत्वलाई गाली गलौच आरोप लगाएर समय खर्च गर्दैछन्, अन्तमा वैध समुहसँग विलय हुने संकेत दिईसके, चुनावलाई रणनैतिक बहिस्कार गरेर वैधानिक मोर्चा खारेज गरिसके । यो चुनाबमा बहिस्कार गर्ने भने पनि प्रतिगामी एमालेलाई जिताउने रणनीति अपनाएका हुन् । यिनिहरुको व्यवहार सेक्टर काण्ड घटाउने त त्यस्तै हो, सेक्टरकाण्ड वालाहरुसँग मिसिने छ ।
फुचुंग्री : मोहन वैद्यले त (मशाल) बनाए पछि सेक्टर काण्ड घटाउने योजना बनाए, त्यतिवेला त धरोहरा पनि थियो । त्यो धरोहरा त भूकम्पले भत्काई दियो । अहिले त नयाँ धरोहरा बनेको छ । सेक्टर काण्ड अभियोग, २०४८ को चुनाव उपयोग, २०५१ सालको कथित जनयुद्धको पनि श्रेय आफैले लिन खोजेका हुन् त काका ?
काका : तात्कालिन (मशाल) ले मोहनविक्रम सिंह, चित्र बहादुर केसी, भैरव रेग्मी, गोविन्दसिंह थापालाई कारवाही गरेको थियो । अहिलेको (मशाल) ले भैरव रेग्मीलाई छोडे, गोविन्दसिंह थापा आफ्नै भइहाले त्यसैले दुइटा बुढाहरुलाई कारवाही गरिम भनेका छन् । त्यसरी उनीहरु ३८ वर्ष पछाडि फर्किएका छन् । अब ३८ वर्ष पहिलेको राजनीति र त्यो अवधिमा भएका सकारात्मक- नकारात्मक दुबै पक्षलाई स्वीकार गर्नुपर्ने उनीहरुको वाध्यता हुनेछ । त्यसै अन्तर्गत राजाको प्रत्यक्ष शासन पनि आउँछ । अब यो पुष्टि हुन्छ कि उनीहरु अहिले प्रतिगामी पक्षहरुलाई फाइदा पुग्ने काम गर्नेछन् भने पछि प्रत्यक्ष रुपमा राजतन्त्रको वकालत गर्नेछन् । राजतन्त्रको वकालतको प्रगतिशिल विकल्प पूर्व (मशाल) अर्थात मोहन वैद्य ‘किरण’सँग समाहित हुने नै हो तर सारमा दुबै पक्षको जोड प्रतिगामी तत्वलाई सेवा दिनु नै हो ।
डिलाराम र गिरधारीले पनि पुनर्गठित मसाल बनाएका थिए, उनीहरुले पनि पार्टीले सरकारलाई समर्थन गरेर संघीयता विरुद्धको आन्दोलन कम्जोर भयो भन्थ्ये, पछि गएर सबैभन्दा बढि संघीयताको वकालत गर्ने पार्टीमा विलिन भए । अहिलेका फूटपरस्तहरुले पार्टीलाई दक्षिणन्थीको विल्ला भिराएर आफूलाई जति क्रान्तिकारी बताउन खोजे पनि प्रतिगामी अन्ततः प्रतिगमनको चाकरीमा पुगेका छन् ।
फुचुंग्री :- भने पछि यिनीहरूको विशेष महाधिवेशन विलय महाधिवेशन हो त ?
काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !