महाकालीमा भारतीय गतिविधि रोक : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले भारतीय पक्षबाट दार्चुलामा भइरहेको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेको छ ।

प्रवक्ता रामप्रकाश पुरीले मंगलबार प्रेस वक्तव्य जारी गर्दै भारतले महाकालीमा बनाइरहेको तटबन्ध रोक्न माग गर्नुभएको छ । साथै, भारतीय पक्षद्वारा नेपालीमाथि भएको ढुंगा प्रहारको घटनाप्रति मसालले भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित बाङ्गाबगडमा नेपालको भूभाग र वस्ती जोखिममा पर्ने गरी भारतले एकतर्फी बनाएको तटबन्धको हामीले विरोध गर्दछौँ । त्यस क्रममा भारतको उक्त कार्यको विरोधमा उत्रिएका नेपालका स्थानीयमाथि भारतीय पक्षबाट भएको ढुङ्गा प्रहारबाट घाइते भएका नेपालीहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ । भारतीय पक्षबाट भएको त्यस प्रकारको कार्यको हामीले विरोध र भ्रत्र्सना गर्दै त्यहाँ उत्पन्न समस्यालाई समाधान गर्नका लागि सरकारले तुरुन्त कदम उठाउनुपर्नेमा हामीले जोड दिन्छौँ ।’

भारतले सीमानदी महाकालीको बहाव नेपालतिर धकेल्दै पक्की संरचना बनाइरहेको छ। त्यसक्रममा शनिबारदेखि दार्चुलास्थित नेपालीहरु प्रतिकारमा उत्रिएका छन्।

प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो। त्यसक्रममा बालबालिकासहित केही नेपाली घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार