
थम्मन बुढामगरप्रति मसालको श्रद्धाञ्जली
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य थम्मन बुढामगरको निधन भएको छ । लामो समयदेखि ढाडका बिरामी रहनुभएका बुढाको मंलबार बिहान ८ः१५ बजे आफ्नै निवास प्युठान स्वर्गद्वारी–४ गोठिबाङमा निधन भएको हो ।
बुढाको मंलबार नै गोठिबाङस्थित बैरेनीघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिक शरीरमाथि राष्ट्रिय जनमोर्चा राप्ती–लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।
सोही समयमा आयोजित श्रद्धाञ्जली सभामा राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, राजमो प्रदेश सदस्य तथा प्युठान जिल्ला उपाध्यक्ष इमानसिंह खड्का, राजमो जिल्ला सहसचिव लालबहादुर राउतलगायतका नेता–कार्यकर्ता तथा परिवार जनका सदस्यको उपस्थिति रहेको थियो ।
नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेका अनुसार उहाँ नेकपा (मसाल) प्युठानको जिल्ला सल्लाहकार हुनुहुन्थ्यो । साथै उहाँ राजमो प्युठानको पनि सल्लाहकार हुनुहुन्थ्यो ।
पार्टीभित्र टेकनाम क. झलनाथ रहेको बुढाले २०२५ सालमा नेकपाको सदस्यता प्राप्त गर्नुभएको प्रवक्ता न्यौपानेले बताउनुभयो । बुढाको परिवारमा श्रीमतीसहित चार छोरी र दुई छोरा रहेका छन् ।
प्युठानको पम्प्लेट काण्डमा १३ महिना जेल बस्नुभएका थम्मन बुढामगरको निधनप्रति नेकपा (मसाल) ले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसका साथै पार्टीले शोकसन्तप्त प्युठानका सम्पूर्ण पार्टीसदस्य, समर्थक, शुभचिन्तक र परिवार जनप्रति समवेदना प्रकट गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ मङ्सिर २० गते शोकवक्तव्य जारी गर्दै पार्टीले बुढाप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको हो ।
बुढामगरको निधनले प्युठानको साथै समग्र कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको धारणा व्यक्त गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
‘प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–४ निवासी का. थम्मन बुढामगर (का. झलनाथ) को ७८ वर्षको उमेरमा २०७९ मङ्सिर २० गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःखका साथ प्युठान जिल्लाका सबै पार्टीसदस्य, समर्थक, शुभचिन्तक र सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. थम्मन बुढामगरले २०२२ सालमा पार्टीमा प्रवेश गरी २०२५ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २०३४ सालको पम्प्लेट काण्डमा गिरफ्तार भई १३ महिनापछि सल्यान जेलबाट रिहा हुनुभएको थियो । उहाँले २०३५ सालदेखि लगातार प्युठान जिल्ला पार्टीको सदस्य भएर काम गर्नुभएको थियो । नेकपा (मसाल) का विभिन्न जनवर्गीय संगठनमा समेत रहेर उहाँले विभिन्न सांगठनिक जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ अहिले नेकपा (मसाल) प्यूठान जिल्लाको सल्लाहकार हुनुहुन्थ्यो । उहाँ अनुशासित, प्रतिबद्ध, लगनशील र जुझारु पार्टीसदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको समग्र आन्दोलनका साथै प्युठान जिल्लाको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले का. थम्मन बुढामगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’














