
केही वर्षअघिसम्म राउटे बस्तीका मुखिया एउटै हुन्थ्यो । उनैले राउटे समुदायका लागि आवश्यक खाद्यान्न र लत्ताकपडा जोहो गर्थे । तर, एकले अर्कालाई नस्वीकारेपछि अहिले तीन जना मुखियाले राउटे समुदायको सामूहिक नेतृत्व गरिरहेका छन् ।
मुखिया छन्, सूर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही । तैपनि, पुसको कठ्याङ्ग्रिने जाडोमा न्यानो कपडासमेत नपाउँदा राउटेहरू दुःखी छन् । घुमन्ते राउटे समुदाय अहिले दैलेखको नारायण नगरपालिका-८, सालखर्कमा बस्दै आएका छन् । जाडो बढ्दै गएपछि बस्तीका झुपडीमा आगो तापेरै सुत्ने गरेका छन् ।
अगेनामा कम्बल परेर दुई दिनअघि नारायण शाही जलेर घाइते भए । उनको सुर्खेत अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं ट्र्मा सेन्टरमा लगेर उपचार भइरहेको छ । नारायणकी आमा दुनी शाहीले फोनबाट अस्पतालमा पुगेका छोरालाई सम्पर्क गरिन् । छोरा जलेर सिकिस्त भएपछि उनी चिन्तित छिन् । ‘यस्तो जाडो छ । लत्ताकपडा छैन । खानलाई पुग्दैन । राउटेलाई हेर्ने राज्य छैन’, उनले भनिन् ।


राउटे समुदायका ९२ वर्षीय जेष्ठ सदस्य कर्णबहादुर शाही बस्तीबाहिर घाम तापिरहेका थिए । उनी हिँड्डुल गर्न सक्दैनन् । न्यानो कपडा र खानपिनको पनि समस्या छ । शाहीले आफू १०९ वर्ष पुगेको बताउँदै आएका छन् । तर, गुराँस नगरपालिकाले दिएको परिचयपत्रले त्यो पुष्टि नगरे पनि उनी समुदायकै ज्येष्ठ नागरिक हुन् ।

राउटे समुदायले अहिलेसम्म नागरिकता लिएका छैनन् । गुराँस गाउँपालिकाले उनीहरूलाई परिचयपत्र बाँडेको छ । त्यसैका आधारमा उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउँछन् । अहिले बस्तीमा १ सय ४३ राउटे छन् ।














