मसाल र राजमोद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

२०७९ माघ १ गते आइतबार मसालका महामन्त्री मोहनविक्रम सिंह र राजमो अध्यक्ष चित्रबहादुुर केसीले छुट्टाछुट्टै प्रेसवक्तव्य जारी गर्दै पोखरा दुर्घटनाप्रति दुःख व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेको हो ।

नेकपा (मसाल) का महामन्त्री सिंहको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा भनिएको छ :
“काठमाडौँबाट पोखरातर्फ उडान भएको यति एयरलाइन्सको जहाज दुर्घटना भएको घटनाप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्दछौँ ।

नेपालमा प्रयोगमा रहेका धेरैजसो जहाजहरू पुरानो अवस्थामा रहेका छन् । त्यसरी पुराना भएका जहाजहरू प्रयोगमा ल्याउन मिल्थ्यो वा मिल्दैनथ्यो भन्ने विषयमा सरकारले आवश्यक जा“चबुझ गर्न कुनै कदम उठाएको देखिँदैन । त्यसरी लापरवाही गरिँदा विभिन्न दुर्घटनाको जोखिम भइरहने अवस्था रहेको छ । त्यसबारे आवश्यक कदम उठाउनका लागि हामीले नेपाल सरकारको ध्यान पनि आकर्षित गर्दछौँ ।

अन्त्यमा हामीले उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।”

त्यसैगरी, राजमो अध्यक्ष केसीद्वारा जारी प्रेस वक्तव्यमा पनि मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्दै हवाई दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार