पेरूको प्रदर्शनमा ४२ जनाको मृत्यु

लिमा । पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झड्पमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनको क्रममा भएका झड्पमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गर्नुभएको छ ।

गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएको थियो । वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसद्मा चर्को विरोधको सामना गर्नुपरेको थियो भने उहाँ विरुद्ध भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धान सुरु भएका छन् ।

राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौँदेखि जारी प्रदर्शन कम हुने कुनै सड्ढेत देखिएको छैन ।

सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिबार मध्यरातदेखि ३० दिनका लागि सड्ढटकालीन अवस्था थप गरेको छ । सड्ढटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।

पेरूका २५ क्षेत्रमध्ये ११ क्षेत्रमा आइतबार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् । बोलिभियासँग सीमा जोडिएको जुलियाका सहरमा आइतबार लिमाको केन्द्रीय गिर्जाघरमा प्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएका प्रदर्शनकारीका लागि आयोजित सामूहिक प्रार्थना सभामा दर्जनौँ मानिस सहभागी भएका थिए ।

शोक मनाइरहेकामध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टिसर्ट लगाएका थिए र मरेकाको फोटो बोकेका थिए । लिमाका धर्मगुरु कार्लोस क्यास्टिलोले स्पेनी र क्वेचुआ आदिवासी भाषामा सेवाको नेतृत्व गर्नुभएको छ । यो अशान्ति मुख्यतया दक्षिणी एन्डीजमा केन्द्रित छ, जहाँ क्वेचुआ र आइमारा समुदायको बसोबास छ ।

मानव अधिकारसम्बन्धी अन्तरअमेरिकी आयोगले सड्ढटको अन्त्यका लागि यी समूहलाई पेरूको समाजमा अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताउनुभएको छ । क्षेत्रीय प्रशासनका उपमन्त्री जोसे मुरोले आइतबार टिभी पेरूसँग कुरा गर्दै अनुत्तरित सामाजिक मागबारे छलफल गर्न सरकारले देशव्यापी रूपमा वार्ताका लागि ठाउँ सिर्जना गर्ने बताउनुभएको छ ।

शनिबार राति दर्जनौँ प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा सहरकब्जाको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । प्रसिद्ध माचुपिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थल दुई दिनअघि बन्द भएपछि शनिबार पुनः खोलिएको थियो ।

पेरू वर्षौंदेखि राजनीतिक रूपमा अस्थिर छ र ६० वर्षीय बोलुआर्टे पाँच वर्षमा छैटौँ राष्ट्रपति बन्नुभएको हो । क्यास्टिलोलाई विद्रोहलगायत अन्य अपराधको अभियोगमा १८ महिनाको हिरासतमा राखिएको छ ।

प्रदर्शनमा साइनिङ पाथ कम्युनिस्ट गुरिल्ला समूहका अवशेषसहित कट्टरपन्थी समूहको हात रहेको पेरुका अधिकारीले दाबी गरेका छन् । यसको प्रमाणको रूपमा तिनीहरूले त्यस स·ठनका पूर्व सदस्य कामरेड कुसी भनिने रोसियो लियान्ड्रोलाई यसै हप्ता पक्राउ गरेको थियो ।

प्रहरी प्रवक्ता जनरल ओस्कार एरिओलाका अनुसार लियान्ड्रोले अयाकुचो क्षेत्रमा एक दर्जनको ज्यान जाने गरी भएको हिंसामा आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले लियान्ड्रोलाई “माक्र्सवादी-लेनिनवादी, माओवादी” हत्यारा भएको दाबी गर्नुभयो ।
राष्ट्रपतिले राजीनामा नगर्ने

यसैबिच, राष्ट्रपति बोलुअर्टेले पदबाट राजीनामा नगर्ने बताउनुभएको छ । राज्य सञ्चालित टेलिभिजन प्रसारणमा शुक्रबार उहाँले देशका निम्ति आफ्नो दायित्व भएकाले राजीनामा नगर्ने दृढता व्यक्त गर्नुभयो ।

देशमा बढिरहेका हिंसात्मक गतिविधिप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । देशको पछिल्लो स्थिति तथा आन्दोलनकारीले एक जना प्रहरी अधिकारीलाई ज्युँदै जलाएर मारेका राष्ट्रपतिले पेरूका जनतासँग क्षमा याचना पनि गर्नुभएको छ ।

एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरूमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकले बताएका छन् । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबिच देशका विभिन्न भागमा भएका झड्पमा एक जना प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ । पाँच सय ३१ जना घाइते भएको तथा तीन सय २९ जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

गत मङ्सिर २१ गते वामपन्थी राष्ट्रपति कास्टिलोका महाभियोगसँगै गिरफ्तारीमा परेपछि उपराष्ट्रपति डिना बोलुअर्टेले राष्ट्रपतिका रूपमा शपथ लिनुभएको थियो । सोही दिनदेखि देशभर हिंसात्मक प्रदर्शन प्रारम्भ भएको हो ।

पूर्व राष्ट्रपति कास्टिलोका समर्थकले बोलुअर्टेलाई राजीनामा तथा आफ्ना नेताको रिहाइसँगै आम निर्वाचनको घोषणा हुनुपर्ने माग गरेका छन् । आफू राष्ट्रपति बनेको एक सातापछि देशमा भड्किएको हिंसा रोक्ने प्रयासस्वरूप एक महिनासम्म देशमा आपत्काल लागु गरिएको घोषणा गर्नुभयो तर आन्दोलन मत्थर भएन ।

आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र आयाकुचोमा राजनीतिक प्रभाव भएको अयाकुचो पिपल्स डिफेन्स फ्रन्टका अध्यक्ष रोसियो लिआन्ड्रो मेलगरलाई पक्राउ गरिएपछि हिंसात्मक गतिविधि बढेका छन् ।

हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने त्यसको अनुसन्धान पनि भइरहेको महान्यायाधीवक्ताको कार्यालयले बताएको छ । उक्त कार्यालयले मानव हताहतीका जिम्मेवारी निर्धारण गर्न आठओटा शिराबाट अनुसन्धान सुरु गरेको जनाएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार